२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौँ । सामाजिक सञ्जालको मातृसंस्था मेटा सरकारको सम्पर्कमा आएको छ। नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयसँगै मेटाका प्रतिनिधिले सञ्चार प्रविधि तथा सूचना प्रविधिमन्त्रीको सचिवालयमा सम्पर्क गरेका हुन् ।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताएअनुसार मेटाका प्रतिनिधिले सूचीकरणका लागि आवश्यक प्रक्रिया र डकुमेन्टबारे जिज्ञासा राखेका छन् । ‘मेटाका प्रतिनिधिले सूचीकरणमा जानका लागि आवश्यक प्रक्रिया र कागजपत्रबारे जिज्ञासा राख्दै सम्पर्कमा आएका छन्’, ठाकुले भने, ‘तर उनीहरू औपचारिक रुपमा निवेदनसहित आएका छैनन् । उनीहरूले चासो राखेपछि हामीले आवश्यक प्रक्रिया बताइदिएका छौँ ।’
ठाकुरका अनुसार सूचीकरणका लागि आवश्यक कागजपत्र र कानुनी प्रक्रियाको विवरण मेटालाई बिहीबार नै पठाइएको छ ।
नेपालसहित विश्वभर सबैभन्दा धेरै चलाइने सामाजिक सञ्जालमध्ये एक फेसबुक रहेको छ। तर फेसबुकको मातृसंस्थालाई पटक पटक आग्रह गर्दा पनि सूचीकरण हुन अस्वीकार गर्दै आएको थियो ।
यसैबीच अर्को अनलाइन प्लेटफर्म हाम्रो पात्रोले बिहीबार नै सूचीकरणका लागि निवेदन दिएको प्रवक्ता ठाकुरले बताए । ‘बन्द गराउने निर्णयसँगै सूचीकरणका लागि हाम्रो पात्रोको निवेदन आइपुगेको छ’, उनले भने, ‘हामी कागजपत्र जाँचपछि सूचीकरण अघि बढाउँछौँ । मेटाले पनि सूचीकरणका लागि निवेदन दिने विश्वास हामीले लिएका छौँ ।’
उनले मेटालाई सूचीकरणका लागि आवश्यक कागजपत्रको विवरणसहितको ईमेल बिहीबार पठाइसकिएको जानकारी पनि दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij