२०८२ भाद्र २० गते शुक्रवार
काठमाडौं । सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरुप दिने अनुदानबापतको करिब ७५ करोड रकम निकासा गरेको छ । देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा उपलब्ध गराएको करिब दुई करोड १६ लाख क्विन्टल उखु बराबरको सो रकम किसानलाई पठाइएको हो ।
किसानलाई चिनी उद्योगले प्रतिक्विन्टल ५८५ र सरकारले ३० अनुदान दिने व्यवस्थाअनुसार सो रकम उपलब्ध गराइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।
उनका अनुसार रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने व्यवस्था गरिएको छ । मन्त्रालयबाट पठाइएको रकम कतिपय किसानले प्राप्त गरिसकेका उनले जानकारी दिए ।
सरकारले अघिल्लो वर्ष प्रतिक्विन्टल ७० का दरले किसानलाई अनुदान रकम दिँदै आएको भए पनि बजेट अभावका कारण अनुदान रकम आधाले घटाएर प्रतिक्विन्टल रु ३५ कटौती गरेको थियो ।
सरकारले मन्त्रिपरिषद् बैठकबाट यसपटक उखु किसानलाई प्रतिक्विन्टल ३५ अनुदान उपलब्ध गराउने निर्णय गरेपछि प्राविधिक कारणले निकासामा ढिलाइ भएको थियो ।
किसानले रकम समयमै प्राप्त गर्न र उक्त प्रोत्साहन रकम कटौती नगर्न माग गर्दै आएका थिए ।सुनसरी सिराहा, सर्लाही, महोत्तरी, रौतहट, बारा, नवलपरासीलगायत जिल्लामा व्यावसायिक उखुखेती हुने गर्दछ । सरकारले किसानहरूलाई प्रोत्साहित गरी उखु उत्पादन वृद्धि गर्न अनुदान रकमको व्यवस्था गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij