Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

ओलीलाई भारतले निम्ता दियो, भ्रमण मिति अझै तोकेन

ओलीलाई भारतले निम्ता दियो, भ्रमण मिति अझै तोकेन


  • 848
    Shares

    ओलीलाई भारतले निम्ता दियो, भ्रमण मिति अझै तोकेन

    काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकट भविष्यमा भारत भ्रमण गर्न निम्ता दिएर गएका थिए । २ भदौमा दिइएको उक्त निम्तोमा मिति तोकिएको थिएन । नेपाल र भारत दुवै देशका अधिकारीहरू भदौ ३१ र असोज १ मा उक्त भ्रमण हुनेमा विश्वस्त थिए ।

    त्यसको दुई दिनपछि लिपुलेक नाका हुँदै व्यापार गर्न भारत र चीनका विदेशमन्त्री स्तरमा सम्झौता भएपछि नेपालले तत्कालै कुटनीतिक नोट पठायो । प्रधानमन्त्री ओली आफैंले केही दिनअघि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्दै उक्त सम्झौताको आधिकारिकताबारे प्रश्न उठाए । उनले उक्त भूभागलाई तथ्य र उपलब्ध प्रमाणहरूले नेपालतर्फ देखाउने प्रसंग पनि राखे ।

    ओलीको यो कदमबारे भारतीय प्रेस तथा विचार निर्माताहरूबीच विभिन्न कोणबाट चर्चा भयो । लिपुलेक, कालापानी लिम्पियाधुरा नाका समेट्दै नक्सा जारी गर्ने, अनि त्यस अनुसार संविधान संशोधन गर्ने ओली नै यसपल्ट प्रधानमन्त्री भएका बेला फेरि संयोगवश चिनियाँ र भारतीय समकक्षी वाङ यी तथा जयशंकरले लिपुलेक बारे सम्झौता गरिदिए । यसैका कारण ओलीको भारत भ्रमणको तिथि धकेलिने हो कि भन्ने संशय बढेको छ ।

    काठमाडौंस्थित भारतीय दुतावासका एक अधिकारीले भ्रमण मिति नै नआएकाले धकेलियो भन्नु नहुने अर्थपूर्ण टिप्पणी गरे । अनलाइनखबरसँग अनौपचारिक संवादमा ती अधिकारीले भने, ‘हाम्रो विदेशसचिवले निम्ता दिनुभएको हो, जहाँ मिति उल्लेख छैन । मिति त आपसी सहमतिमा आउन पनि सक्छ ।’

    भारतीय डिजिटल पत्रिका द प्रिन्टले यो महिना, अर्थात सेप्टेम्बरमा ओलीको भारत भ्रमण नहुन सक्ने समाचार लेखेको छ । आज बिहीबार प्रकाशित समाचार अनुसार उसले अधिकारीहरूलाई उद्धृत गर्दै भ्रमणको तिथिबारे संशय राखेको छ । अनि लिपुलेक सम्झौता र त्यसमा नेपालको आपत्तिलाई भारतले नोट गरेको विश्लेषण गरेको छ ।

    अरु केही अखबार तथा डिजिटल पोर्टलले पनि यस्तै प्रकृतिका समाचार प्रकाशित गरिरहेका छन् ।

    चीनको तियानजिनमा संघाइ कोअपरेशन अर्गनाइजेनमा भाग लिन गएका बेला ओलीले राष्ट्रपति सी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विभिन्न देशका शीर्ष नेतासँग वार्ता गर्दा छिमेककै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट कुनै शिष्टाचार भेट वा साइडलाइन तय भएन, केवल जम्काभेट मात्रै हुन सक्यो । यसलाई भ्रमण टोलीकै सदस्यले कुटनीतिक चिसोपना अझै बाँकी रहेकाले आगामी भारत भ्रमणको तिथि के होला भनी आशंका पनि गरेका थिए ।

    यद्यपि भारतीय प्रधानमन्त्री मोदीले एक्समा नेपालका प्रधानमन्त्री ओलीसँगको भेटबारे लेख्दै पुरानो दुईदेशीय मैत्रीबारे उल्लेख गरेका थिए ।

    भारतीय उच्च अधिकारीहरूले अनलाइनखबरसँग कुरा गर्दै प्रधानमनत्रीको भारत भ्रमण अत्यन्तै संवेदनशील विषय भएकाले यसपल्ट अन्तिम घडीमा मात्रै मिति घोषणा हुन सक्ने बताए । बोधगयामा हुने भनिएको उक्त भ्रमणको तयारी भने अझै पनि चलिरहेको ती अधिकारीहरूले बताए । ‘सेप्टेम्बर १६ (भदौ ३१)भनेर अनौपचारिक रुपमा तय भएको हो, तर अझै हेरौं न केही समय,’ ती अधिकारीले बताए ।

    नेपाली पक्षले भने तोकिएकै समयमा भ्रमण हुन सक्ने भन्दै तीव्र गतिमा तयारी अघि बढाएको बताएको छ । अधिकारीहरूले प्रधानमन्त्रीको भ्रमण सेप्टेम्बरमै हुने, र त्यसमा लिपुलेकको विषय प्राथमिकतापूर्वक उठ्ने बताएका छन् । यसअघि भनिएको भ्रमण मिति आउन भने अब १२ दिनमात्रै बाँकी रहँदा पनि मिति उल्लेख नहुनुले संशय भने थपेको छ ।

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १४:३१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij