Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

व्यक्तिगत श्रम स्वीकृतिमा कडाइ गर्दै सरकार, म्यानपावर मार्फत जाँदा पीडितलाई न्याय दिलाउन सजिलो हुने दाबी

व्यक्तिगत श्रम स्वीकृतिमा कडाइ गर्दै सरकार, म्यानपावर मार्फत जाँदा पीडितलाई न्याय दिलाउन सजिलो हुने दाबी


  • 477
    Shares

    व्यक्तिगत श्रम स्वीकृतिमा कडाइ गर्दै सरकार, म्यानपावर मार्फत जाँदा पीडितलाई न्याय दिलाउन सजिलो हुने दाबी
    images

    काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने प्रणालीमा सरकारले कडाइ गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरूका अनुसार पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति मार्फत जाने श्रमिकहरू ठगीमा पर्ने, एक देशको भिसा देखाएर अर्को देशमा लैजाने जस्ता समस्या बढेपछि कडाइ गर्ने पहल थालिएको हो ।

    मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रालयमा व्यक्तिगत श्रम स्वीकृति कडाइ गर्नुभन्दा पूर्व गर्नुपर्ने काममा गृहकार्य चलिरहेको हो । ‘प्रोफेसनलहरू जान खोजेको खण्डमा कसरी छुट्याउने लगायत विषयमा गृहकार्य भइरहेको छ । उदाहरणका लागि प्रोफेसनल रूपमा दुई महिनाका लागि कन्सल्टिङका लागि अमेरिका जाने भयो भने रोजगारी स्वीकृति पाउने कि नपाउने भन्ने भयो,’ ती अधिकारीले भने, ‘प्रोफेसनल रूपमा जान लाग्दा स्वीकृति चाहियो । तर, अहिलेको प्रावधानले दिँदैन । त्यसका लागि के गर्ने भन्ने विषयमा आन्तरिक गृहकार्य आवश्यक छ ।’

    अहिले आजको आजै कडाइ गर्ने नभई आवश्यक गृहकार्य गरेर त्यसमा कडाइ गरिने ती अधिकारीको भनाइ छ । तत्कालै व्यक्तिगत श्रम स्वीकृति बन्द नगरिने उनले बताए । ‘अहिले नै रोक्ने होइन, तर प्रोफेसनल श्रमिकलाई छुट दिने र सामान्य श्रमिकलाई संस्थागत बाटो रोज्न प्रेरित गर्ने गृहकार्य भइरहेको छ,’ उनले भने । एक देशको भिसा लिएर अर्को देश गएर समेत ठगीमा पर्ने गरेको र  त्यसलाई निरुत्साहित गर्न समेत कडाइ गर्नुपर्ने देखिएको  उनको भनाइ छ ।

    ‘सामान्यतया महिलाहरू व्यक्तिगत ठगीमा बढी परिरहेका छन् । अजरबैजान जाने भनेर कुवेत जाने गरेका छन् । यस्ता ठगीलाई निरुत्साही गर्नुपर्ने देखिन्छ,’ उनले भने । वैदेशिक रोजगार विभागका सूचना अधिकारी टीकाराम ढकालले संस्थागत रूपमा म्यानपावर मार्फत पठाइएका श्रमिकलाई समस्या आए उद्धार गर्न सजिलो हुने बताए । तर, व्यक्तिगत स्वीकृतिमा त्यस्तो संयन्त्र नहुँदा ठगीका पीडितलाई न्याय दिलाउन कठिन भइरहेको ढकालको भनाइ छ ।

    हालै अजरबैजानको भिसा देखाएर महिलालाई कुवेत पठाउने गरेको पाइएको थियो । उक्त घटनापछि समेत सरकार सतर्क देखिएको हो । ‘व्यक्तिगत स्वीकृतिमा कागजात सबै ठिक देखिन्छ, तर बीचमा अर्को देश लैजाने चलन बढेको छ,’ उनले भने, ‘यसरी श्रमिक अलपत्र पर्न थालेपछि अब कडाइ गर्ने छलफल भइरहेको छ ।’

    मन्त्रालयका अनुसार कडाइका लागि विभिन्न विकल्पबारे छलफल भइरहेको छ । जसमा व्यक्तिगत श्रम स्वीकृतिका कागजात दूतावास मार्फत भेरिफिकेसन ९प्रमाणीकरण० गर्ने, श्रमिकसँग अन्तर्वार्ता गरेर गन्तव्य र कामबारे पुष्टि गर्ने र महिलामुखी श्रमिकलाई विशेष निगरानीमा राख्ने उपाय समावेश छन् ।

    विद्यमान वैदेशिक रोजगार ऐनले व्यक्तिगत श्रम स्वीकृति रोक्ने व्यवस्था नगरेकाले तत्काल प्रतिबन्ध लगाउन नसकिने मन्त्रालयको भनाइ छ । त्यसैले निकट भविष्यमा व्यक्तिगत स्वीकृतिमा ‘प्रतिबन्ध’ होइन, ‘कडाइ’ गर्ने नीतिगत तयारी भइरहेको अधिकारीहरूले जनाएका छन् ।

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - ०८:११:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij