२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । करिव दुई वर्षपछि दशरथ रंगशालामा सिनियर राष्ट्रिय पुरुषको अन्तर्राष्ट्रिय फुटबल फर्किदा नेपाली टोली उत्साहित छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
खेल आगामी सेप्टेम्बर ६ र ९ तारिखमा हुनेछन् । २०८० साल मंसिर १ पछि नेपालको सिनियर पुरुष टोलीले यो मैदानमा पहिलोपल्ट अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो ।
रंगशाला असुरक्षित भएको भन्दै यस मैदानमा फिफाका अधिकारिक प्रतियोगिताहरू हुन सकेको छैन । एएफसीले खेल्न अनुमति नदिँदा नेपाली समर्थकले घरेलु मैदानमा सिनियर राष्ट्रिय पुरुष टोली हेर्न नपाएको झन्डै दुई वर्ष बितिसकेको छ । तर, लामो समयपछि यो मैदानमा फेरि समर्थकहरू उत्साहित हुन पाउँदैछन् ।
नेपाली टोलीका खेलाडीहरू पनि दशरथ रंगशालामा घरेलु समर्थकका माझ खेल्न पाउँदा झन् उत्साहित छन् । नेपाली टोलीका स्टार अञ्जन बिष्टले फिट नहुँदा आफूले पनि खेल्ने नपाएको र त्यसमा पनि दशरथ रंगशालामा लामो समयपछि खेल्न पाउँदा धेरै उत्साहित रहेको बताए । आफ्नो उत्कृष्ट दिने लक्ष्यसहित प्रशिक्षण गरिरहेको पनि उल्लेख गर्दै अञ्जनले गोल नगरेको धेरै समय भएको र अबको मैत्रीपूर्ण नै सही समय रहेको बताए ।
नेपालमा नियमित फुटबल नहुँदा फुटबलरलाई समस्या भैरहेको र राष्ट्रिय टोलीमा पनि समस्या भएको उनले गुनासो गरे । यसले गर्दा नै फुटबलरहरू पलायन भइरहेको उनी बताउँछन् ।
राष्ट्रिय टोलीमा आएका नयाँ खेलाडीले पनि आफ्नो उत्कृष्ट दिएको र त्यसमा प्रशिक्षक म्याट रसले पनि धेरै मेहनत गरेको उल्लेख गरेका छन् । विराज महर्जनको बिदाइ गर्दा नेपाली टोलीले सुखद नतिजा ल्याएको स्मरण गर्दै अञ्जनले अर्का फुटबलर भरत खवासको अन्तिम अन्तर्राष्ट्रिय फुटबललाई पनि यादगार बनाउने बताएका छन् ।
बंगलादेशको टोलीबाट इङ्लिस फुटबलका स्टार हेम्जा चौधरी पनि आउने चर्चा भइरहेको छ । नेपाली समर्थक पनि उनको प्रतिक्षामा छन् । नेपाली टोलीमा पहिलोपल्ट स्थान बनाएका आदित्य शाक्यले पनि दशरथ रंगशालामा फुटबल खेल्न पाउँदा धेरै उत्साहित रहेको बताएका छन् ।
यो मैत्रीपूर्ण खेलका लागि एन्फाले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा पनि गरिसकेको छ । नेपाली टोलीमा समीर तामाङले पुनरागमन गरेका छन् । गत मार्चमा फिफा विश्वकप छनोटमा बहराइनविरुद्ध खेलबाट डेब्यू गरेका थिए ।
त्यसयता उनी टोलीबाट बाहिर थिए । नेपाली टोलीको अन्य सदस्यमा रोहित चन्द, अनन्त तामाङ, अभिषेक लिम्बू, अञ्जन विष्ट, जलेस्पीजंग कार्की, आदित्य शाक्य, अमित लामा, एरिक विष्ट, दीप कार्की, दिनेश हेन्जन, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रणदीप पौडेल, रोहन कार्की, श्रीजनराज गौतम, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा र योगेश गुरुङ छन् ।
दुई मैत्रीपूर्ण फ्लड लाइटमा साँझ ५ः३० बजे सञ्चालन हुनेछन् । दुवै खेलको टिकटिङ अधिकार एन्फाकै स्वामित्वमा रहनेछ । यद्यपि अनलाइन विक्रीका लागि टेन्डर खुलाइने एन्फाले उल्लेख गरेको छ । भिआइपीमा एक हजार र सामान्य पारापिटमा पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरिएको एन्फाले उल्लेख गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij