२०८२ भाद्र ७ गते शनिवार
‘आँसुको शक्ति’ नामक पुस्तकको बाहिरी आवरणले नै मेरो ध्यान लाई पुस्तकप्रति आकर्षित गर्यो । एकदिन आफन्तको घरमा जाँदा उक्त पुस्तक देखें पुस्तकको बाहिरी आवरणमा लेखिएको शीर्षकले मेरो मस्तिष्कलाई एकछिन सोचमग्न बनायो । म पुस्तक मागेर भन्दा पनि किनेर पढ्ने व्यक्ति भएकोले उक्त पुस्तक मैले आफन्तसंग मागिन । किनभने पुस्तक मागेर होइन किनेर पढौँ भन्ने वाक्य धेरै ठाउँमा पढेको छु भने अर्कोकुरा साहित्यकारको सम्मान भनेको नै पुस्तक किनेर पढ्नु हो भन्ने मेरो मान्यता छ ।
२०७७ सालको बिजयादशमी पछि म गोरखाको मान्छे चितवन जाँदा नारायणघाटको बालकुमारी क्याम्पस गेट अगाडि रहेको साहित्यक पुस्तकहरूले मात्र भरिभराउ भएको सुनगाभा पुस्तक पसल छिरेर दुईवटा पुस्तक किनें । त्यतिखेरको पहिलो रोजाइ ‘आँसुको शक्ति’ र दोस्रो रोजाई घनचक्कर रहेको थियो ।
पढ्न पनि पहिले मैले आँसुको शक्ति पुस्तक नै पढें किनभने त्यो मेरो रोजाइको पहिलो थियो वा भनौँ आँसुको मूल्य थाहा पाउनु थियो । पुस्तक पढ्दै जाँदा पटकपटक आँखाबाट आँसु बग्यो । धेरै ठाउँमा आँसु झरेको थाहै पाएनछु, आफूलाई सम्हाल्न धेरै गाह्रो भयो । तैपनि पुस्तक पढ्दै जाँदा म भावनामा धेरैनै डुवेछु उक्त घटना ममाथि नै परेको हो कि भन्नेसम्म मलाई भएछ र त मेरा आँखाबाट आँसु बगिरहे, धेरै समयपछि म सम्हालिएँ म त सुनिता दनुवारको आत्मवृत्तान्त पुस्तक पो पढ्दै छु त भन्ने लाग्यो । उक्त पुस्तक पढिसकेको केही दिनसम्म मलाई छटपटी भयो । नेपाली दाजुभाइले नै नेपाली चेलीहरूलाई बम्बईको कोठीमा लगेर बेचेको पैसाल ऐस, आराम गर्नेगरेको वास्तविकता कम दर्दनाक छैन ।
सबैलाई थाहा छ, मानिसको आँखाबाट आँसु त्यत्तिकै निस्कँदैन । आँखाबाट आँसु निस्कन कि त आफुले सोचे अनुसारको सुख वा खुशी हुनुपर्यो कि त मानिस दुःख वा पीडामा डुब्नु पर्यो तब मात्रै मानिसको आँखामा आँसु देखा पर्दछ नत्र समान्य कुरा वा अवस्थामा मानिसको आँखाबाट आँसु निस्कन सक्दैन । आँसुले मानिसलाई दुःखको समय शक्ति प्रदान गरेर धैर्य धारणा गर्न सहयोग गर्दछ । सुखको समयको वा खुशी भएको बेला आँसुले मानिसलाई धेरै हौसला प्रदान गर्दछ । यसरी आँखाबाट निस्केको दुःख वा पीडाको आँसु र सुख वा खुशीका आँसुमा धेरै फरक रहेको छ ।
सुनिता दनुवारको जीवनको पूर्वाद्धमा दुःख पीडाका आँसु बग्यो भने जीवनको उत्तरार्धमा वा कोठीबाट बाहिर वा नेपाल लाएपछि र ओरेकमा आइपुगेपछि सुख वा खुशीको आँसु बग्यो ।
पुस्तक पढ्दै जाँदा धेरैजसो शीर्षक भित्रका विषयवस्तुहरूले आँखाबाट बलिन्द्रधारा आँसुहरू बगाइरहे । कति ठाउँमा आँसुलाई रोक्न खोज्दा खोज्दै पनि रोक्न सकिन । सुनिता आफूले भोगेका यथार्थ घटनाहरूलाई बढाईचढाई नगरिकन जस्ताकोतस्तै उतार्न सफल भएकाले नै यस्तो अवस्था सिर्जना भएको हो ।
प्रत्येक शीर्षकका विषयवस्तुमा यस समयका मानिसको चरित्रलाई उनीहरूले जेजे गरेर जेजे भने त्यही कुरालाई यहाँ सुनिताले देखाइदिएकी छन् ।
सरकारी कार्यालयका कर्मचारीहरूले गर्न सक्ने र गर्न हुने कामलाई पनि गर्न सकिँदैन र गर्न हुँदैन भनेर भुलाउने र त्यतिकै फर्काइदिने गरेको र भनसुन गरेपछि वा ठूलो मानिसको फोर्स लगाएपछि काम सम्पन्न हुने कुरा सुनिता उदयपुरमा नागरिकता बनाउन जाँदाको ‘नागरिकताको संघर्ष’ शीर्षकको आत्मवृत्तान्तले प्रस्ट्याएको छ भने आफ्नो क्यामरा र हाते माइक समेत मुड्खु भञ्ज्याङ्गका शाही सेनाले नदिँदा उनले सेनाको उपल्लो तहको व्यक्तिलाई गुनासो गरेपछि सुनितालाई नै मुड्खु भञ्ज्याङका शाही सेनाले फोन गरेर आफ्नो सामान लिन आउन आग्रह गर्नु र सम्मानजनक रूपमा चिया खुवाएर पठाउनुले नेपालको प्रशासनिक क्षेत्रमा ब्याप्त बेथितिहरुलाई प्रस्ट पार्दछ भने त्यसरी नै द्वन्द्वकालमा नेपाल प्रहरी र शाही सेनाले सामान्य नागरिकहरूलाई समेत कति दुःख दिए, अनाहकमा कतिको ज्यान लिए, कतिलाई बेपत्ता बनाए भन्ने यथार्थ घटना पेज नं १८३ र १९० भित्र रहेको ‘प्रभावकारी अभियान’ शीर्षक भित्रको विषयवस्तुले राम्रोसँग छर्लङ्ग देखाइदिएको छ ।
समाजमा विभिन्न प्रवृतिका मानिसहरू हुन्छन् । कोही खराब चरित्रका त कोही असल चरित्रका । कोही मानिस आँखाका कसिङ्गर जस्ता हुन्छन् भने कोही मानिसलाई आफ्नो मन मुटुमा राखिरहन पाए हुन्थ्यो जस्तो लाग्छ ।
यस पुस्तकभित्रका विषयवस्तुहरूले नेपाल र नेपालबाहिरका मानिसहरूको यथार्थ चरित्रलाई उजागर गरिदिएको छ । आजको युगमा समाजमा रहेका कस्ता व्यक्तिलाई विश्वास गर्ने कस्ता व्यक्तिलाई विश्वास नगर्ने भन्ने छुट्याउन नै मुस्किल परेको यथार्थ विषयवस्तु ‘आँसुको शक्ति’ पुस्तकभित्र रहेको छ ।
‘आँसुको शक्ति’ पुस्तक नेपालका हरेक १२, १३ वर्षदेखि माथिका किशोर किशोरीहरूले अवश्य नै पढ्नु पर्ने पुस्तक हो । जसले गर्दा किशोरकिशोरीहरूमा के चेतना जाग्दछ भने कसैको मायाजालमा छिट्टै विश्वास गर्नु हुँदैन । जागिर लगाइदिन्छु, शहरमा पढ्न लगिदिन्छु, आफन्त भेट्टाउन मद्दत गरिदिन्छु, विदेशमा लगेर जागिर लगाईदिन्छु भन्नेहरूको कुरा विश्वास गर्नु हुँदो रहेनछ भन्ने कुरा उनीहरूमा बोध हन्छ । नेपाली चेलीहरू विभिन्न वहानामा देश विदेशमा बेचबिखन हुनबाट केही हदसम्म जोगिन सक्छन् र नेपाली चेलीवेटीहरू कसरी बेचबिखन हुँदा रहेछन् भन्ने कुराको ज्ञान पनि उनीहरूमा हुन्छ । त्यसैले उक्त आँसुको शक्ति पुस्तक हरेक व्यक्तिले एक पटक पढ्नै पर्ने पुस्तक हो ।
‘आँसुको शक्ति’ पुस्तक नेपालका हरेक १२, १३ वर्षदेखि माथिका किशोर किशोरीहरूले अवश्य नै पढ्नु पर्ने पुस्तक हो । जसले गर्दा किशोरकिशोरीहरूमा के चेतना जाग्दछ भने कसैको मायाजालमा छिट्टै विश्वास गर्नु हुँदैन । जागिर लगाइदिन्छु, शहरमा पढ्न लगिदिन्छु, आफन्त भेट्टाउन मद्दत गरिदिन्छु, विदेशमा लगेर जागिर लगाईदिन्छु भन्नेहरूको कुरा विश्वास गर्नु हुँदो रहेनछ भन्ने कुरा उनीहरूमा बोध हन्छ
प्रस्तुत पुस्तकमा वर्तमान नेपाली समाजको सामाजिक, राजनीतिक, प्रशासनिक परिवेशको मात्रै नभईकन देशबिदेशको प्रशासनिक सामाजिक सांस्कृतिक परिवेश समेत यसमा उजागर गरिएको छ । आँसुको शक्ति पुस्तक सुनिता दनुवारले कल्पनामा आधारित भएर उक्त पुस्तक लेखेकी होइनन् । आफ्नै जीवन भोगाइका यथार्थ घटनाहरूलाई शब्दहरुमा माला झैं उनेर उनले पुस्तकाकार दिएकी हुन् त्यसैले सुनिताको यो कृति नेपाली साहित्यको क्षेत्रमा एउटा कोषेढुंगा हो भन्न कन्जुस्याईं गर्नु पर्दैन ।
खगेश्वर सापकोटा
सिरानचोक गाउँपालिका– ३
हर्मी गोरखा
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij