२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । बुद्धवीर लामा चौंधौं गितिमय सांगितिक साँझको तयारी सहित छैठौं शुभकामना भेट्रान्स दौड प्रतियोगिता सम्पन्न भएको छ । शनिवार त्रिपुरेश्वर स्थित दशरथ रंगशालाबाट शुरु भएको दौड सुन्धारा, रत्नपार्क, जमल, केशरमहल, दरबारमार्ग, सहिदगेट हुँदै पुन रंगशालामा आएर समाप्त भएको हो ।
बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालको संयुक्त आयोजनामा सम्पन्न दौडमा ५० वर्ष माथि पुरुष तर्फ जापानका धावक मिजुकी मात्सुजुकी प्रथम, नेपालका राजेश महर्जन दोस्रो तथा रामकुमार रायमाझी तेस्रो हुन सफल भएका थिए । यस्तै ३५ वर्ष माथि पुरुष तर्फ दिेनेश महर्जन पहिलो, सुनिल महर्जन दोस्रो र नवराज कार्कीले तेस्रो स्थान हासिल गरेका छन् । खुल्ला पुरुष तर्फ आयुष चाम्लिङ, सुनज विक र अभिनारायण अधिकारी क्रमश पहिलो, दोश्रो र तेस्रो भएका छन् ।
यसैगरी ३५ वर्ष माथि उमेर समुहकै महिला तर्फ कल्पना महर्जन पहिलो, चारु अर्याल दोस्रो र उर्मिला शाक्यले तेस्रो स्थान हासिल गरेका छन् । ६५ वर्ष माथि पुरुष तर्फ जापानी खेलाडि नोरी हिकोवातान्ने पहिलो र नेपालका पुष्पलाल श्रेष्ठ दोस्रो हुन सफल भएका छन् । यस्तै ७० वर्ष माथि उमेर समुहको पुरुष तर्फकै प्रतिष्पर्धामा मंगलदास तण्डुकार र गजेन्द्र लाल प्रधानले क्रमश पहिलो र दोस्रो स्थान हासिल गर्न सफल भएका थिए ।
विजयी खेलाडिहरुलाई प्रमुख अतिथि किर्तिमानी धावक बैकुण्ठ मानन्धर र विशेष अतिथि बुद्धवीर लामाले पुरस्कार प्रदान गरेका छन् । प्रतियोगितामा १३० खेलाडिहरुले सहभागीता जनाएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij