२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सबै बैंकहरुको आधारदर (बेस रेट) घटेको छ । चालु आर्थिक वर्षको (२०७७र०७८) तेस्रो त्रैमास (साउनदेखि चैत) सम्म आइपुग्दा सबै बाणिज्य बैंकको आधारदर घटेको छ । बैंकहरुको आधारदर घट्दा विशेष गरी ऋणीको लागि ब्याजदर सस्तो पर्न जान्छ । बैंकहरुबाट ऋण लिँदा कुन बैंकको आधारदर कति छ भन्नेबाटै ब्याजदरमा कुन बैंक सस्तो छ भन्ने अनुमान गर्न कठिन छैन ।
अहिले सबैभन्दा कम आधारदर स्ट्यान्डर्ड चार्टड बैंकको छ । यस बैंकको आधारदर ५.३३ प्रतिशत रहेको छ । गत वर्षको यसै अवधिमा बैंकको आधारदर ७.२७ प्रतिशत थियो । गत वर्षको तुलनामा अहिलेको ब्याजदर १.९४ प्रतिशतले कम हो ।
यता सबै भन्दा बढी आधारदर सिभिल बैंकको छ । यसको आधारदर ७.८२ प्रतिशत छ । यो गत वर्षको यसै अवधिको तुलनामा भने ३.१ प्रतिशतले कम हो । बैंकहरुमा भने यसको सबैभन्दा बढी आधारदर छ ।
ऋणको ब्याजदर निर्धारण हुने मुख्य आधार भनेको बेस रेट (आधार दर) हो । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको न्युनतम ब्याजदर कति हुनुपर्छ भन्ने संकेत आधारदर हो ।
राष्ट्र बैंकको नियम अनुसार राख्नुपर्ने तरलता, निक्षेपकर्तालाई दिने ब्याज, बैंकका कर्मचारीको तलब भत्ता, बैंक सञ्चालनका लागि लाग्ने घरभाडा लगायतका खर्च धान्ने गरी बैंकहरुले ब्याजदर निर्धारण गर्छन् । सो ब्याज कतिसम्म भयो भने बैंकलाई घाटा हुँदैन भनेर निकालिने हिसाब आधारदरको गणना विधि हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij