२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट लोपोन्मुख हायु समुदायका एकै परिवारका १६ जना बेपत्ता हुँदा सनसनी मच्चिएको छ।
सम्भवतस् गत बिहीबार राति या शुक्रबार बिहानदेखि घरबाट गायब स्थानीय उर्मिला हायुको परिवारका १६ जनाको खोजी तीव्र पारिए पनि अहिलेसम्म कुनै सुइँको मिलेको छैन । हायु परिवारबारे सोमबार बिहान साढे ९ बजे खबर पाएपछि साढे १० बजे घरमा पुगेका गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठ घटना रहस्यमय रहेको बताउँछन्।
‘गोलान्जोर गाउँपालिका वडा नम्बर ६ को छेत्पानजिक भण्डास बिप्पर कटेरीमा बसोबास गर्ने उर्मिला हायुको सम्पूर्ण १६ जना परिवार सम्पर्कविहीन भएको छ’, श्रेष्ठले भने, ‘घरसँगैको भान्सामा आगो लागेर हल्का क्षति भएको छ। बाख्रा, कुखुरा, भैँसी अलपत्र अवस्थामा छन् । सम्पूर्ण परिवार हराएकाले खोजीकार्य जारी छ ।’
प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ तर हायु परिवारका कोही सदस्य नभेटिएको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए । उनका अनुसार हायु परिवारले पालेका कुखुरा, बाख्रा र भैंसीजस्ता गोठमै अलपत्र छन् । हायु परिवारको घरभित्र कोही पनि सदस्य भेटिएनन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij