२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्न फर्म तथा संस्थाहरूमाथि अनुगमन गरी कारबाही गरेको छ ।
आइतबार दुई शैक्षिक संस्थालाई ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । विभागका अनुसार विद्यार्थीले मागेको अग्रिम शुल्क फिर्ता नगरेपछि काठमाडौं महानगरपालिका-१८ मा रहेको युनिग्लोभ हाइअर सेकेन्डरी स्कुललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को ‘ङ’ बमोजिम २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
यस्तै, एक दर्जनभन्दा बढीलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ भने विभागका एक अधिकारीका अनुसार एक विद्यार्थीले उक्त विद्यालयमा सिट सुरक्षित गर्न अग्रिम शुल्कबापत २० हजार रुपैयाँ दिएका थिए ।
उक्त विद्यालयमा अध्ययन नगर्ने भन्दै रकम फिर्ता माग गरेका थिए । तर विद्यालयले रकम फिर्ता नदिएपछि विभागमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा सो जरिवाना गरिएको छ।
त्यसैगरी, अनुमति नलिई सञ्चालन गरेको कन्सल्टेन्सी काठमाडौं-१६ स्थित प्रेसिडेन्सियल अब्रोड एकेडेमी प्रालिलाई १ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।
साथै, एकेडेमीलाई थप कारबाहीका लागि सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन पनि निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा विभागले अन्य ८ फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन र ४ वटा फर्मलाई सामान्य निर्देशन दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij