२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सरकारले मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए। विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ बमोजिम राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाका लागि मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको ती मन्त्रीको भनाइ छ ।
वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टिगत गर्दै संकटग्रस्त क्षेत्र घोषणा गर्नुपरेको सरकारको भनाइ छ । यसैगरी आवश्यक मात्रामा वर्षा नहुँदा प्रदेशको विभिन्न जिल्लामा खानेपानीको समेत सङ्कट उत्पन्न भएको छ ।
यसअघि मधेस प्रदेश सरकारले पनि प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij