२०८२ भाद्र १८ गते बुधवार
वासिङ्टन डीसी । अमेरिकाको वासिङ्टनमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरिएको छ । हत्या एफबीआई फिल्ड अफिसबाट केही कदम टाढा रहेको क्यापिटल यहूदी सङ्ग्रहालय नजिकै भएको हो ।
यसबारे अमेरिकी गृह सुरक्षा मन्त्रीले जानकारी दिएका छन् । बुधबार साँझ वासिङगटनस्थित इजरायली दूतावासका दुई कर्मचारीलाई यहूदी सङ्ग्रहालय नजिकै गोली हानी हत्या गरिएको गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बताइन् ।
गोलीबारी हुँदा उनी पूर्व न्यायाधीश जीनिन पिरोसँगै घटनास्थलमा उपस्थित रहेको महान्यायाधिवक्ता पाम बोन्डीले बताए । यसैबिच, बुधबार राति भएको यो गोलीबारीबारे प्रहरीले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।
संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूत ड्यानी ड्यानोनले यो गोलीबारीलाई यहूदी विरोधी आतङ्कवादको जघन्य कार्य भनेका छन् ।
‘हामी विश्वस्त छौँ कि अमेरिकी अधिकारीहरूले यस आपराधिक कार्यका लागि जिम्मेवार व्यक्तिहरू विरुद्ध कडा कारबाही गर्नेछन्,’ डेनोनले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एक पोस्टमा भनेका छन् । इजरायलले विश्वभरका आफ्ना नागरिक र प्रतिनिधिहरूको सुरक्षा गर्न दृढतापूर्वक काम गरिरहने पनि उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij