२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर राजश्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका छन्। छैटौँ अधिवेशनको दोस्रो बैठकमा मन्त्री कार्कीले विधेयक पेश गरेका हुन् ।
प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा सम्बोधन गर्दै नीति तथा कार्यक्रम, बजेटको तालमेल, चालू वर्षको बजेट कार्यान्वयनको अवस्थाका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले बजेटको समीक्षा गर्ने अधिकार संसद्मा हुनुपर्ने बताए । नदीजन्य पदार्थको उत्खनन् र व्यवस्थापनमा कमजोरी देखिएको, राजश्व चुहावट भइरहेको, राजश्व आउने ठाउँमा प्रदेशले ध्यान दिनुपर्ने र राजश्वका क्षेत्रहरूको पहिचान गर्नुपर्ने र सङ्घको मुख ताक्नु नहुने धारणा राखे ।
प्रदेशसभा सदस्य गिरिधारीलाल न्यौपानेले स्रोतको आधारमा बजेट निर्माण गरिनुपर्ने, लागू गर्न सकिने योजनाहरू मात्रै थालिनुपर्ने, सबै क्षेत्रमा तत्काल गर्नुपर्ने कामहरूको रेखाङ्कन गरेर अघि बढ्नुपर्ने सुझाएका छन्।
प्रदेशसभा सदस्य हेमा बेल्वासेले बजेट कम छ भनेर त्रास फैलाउने काम हुन थालेको गुनासो गर्दै क्षेत्र विकास कोषको रकम खर्च हुन नसकेको, नीति तथा कार्यक्रम जनतामुखी हुनुपर्ने, रोजगारी सृजना, जनमुखी संवादजस्ता कामलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । प्रदेशसभा सदस्य डिल्लीराज भुसालले चालू वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको, योजना किन कार्यान्वयन भएन भनेर समीक्षा गरिनुपर्ने बताए । रातो किताबमा बजेटमा परे पनि कार्यान्वयन हुन नसक्दा जटिलता परेको उल्लेख गरे ।
प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुनले जनतासँग सरोकार राख्ने कानुन निर्माण गर्न तत्पर हुनुपर्ने बताए । कानुन निर्माण गरेर त्यसलाई लागू गर्न सक्नुपर्ने, सम्बन्धित मन्त्रालयले विजनेश उत्पादन गर्नुपर्ने धारणा राखे । टिमुर खेतीलाई प्रवर्द्धन गरी त्यसबाट राजश्व सङ्कलनको आधार निर्माण गरिनुपर्ने बताए । प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले प्रतिगमनकारीहरूले शिर उठाउन खोजेको भन्दै उपलब्धिहरूको रक्षा नै प्रमुख सवाल भएको बताए । प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठले नीति तथा कार्यक्रम बजेटको गाइडलाइन भएको बताइन् ।
नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने बताएकी हुन् । प्रदेशसभा सदस्य तारा थापाले कृषि र पशुपक्षी क्षेत्रमा कुल बजेटको ३० प्रतिशत सुनिश्चित गर्न माग गरिन् । सिँचाइ, जग्गाको सुरक्षा, हरियो मल उत्पादनलाई प्राथमिकता दिनुपर्ने, १५ शय्याका आधारभूत अस्पताल सञ्चालनको जिम्मेवारी लिनुपर्ने बताइन् । प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले लुम्बिनी भ्रमण गर्न आउने पर्यटकलाई नाका क्षेत्रमा सहजता हुनुपर्ने, नाकामा बिचौलियाहरूको चलखेल रहेको दाबी गरे । लुम्बिनी पर्यटनको प्रदेश भएको तर पर्यटनमैत्री व्यवहार नभएको र अनावश्यक रूपमा हुने ट्राफिक जाँचले पर्यटकलाई सम्मान नभएको उनले बताए । प्रदेशसभा सदस्य शान्ति लोधले भाषण गरेर मात्र लुम्बिनीको समृद्धि हासिल नहुने भन्दै काम गर्न सुझाव दिइन् ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट बनाउन आग्रह गरिन् । प्रदेशसभा सदस्य मिनाकुमारी बोहराले जनताले चलाउन सक्ने गरी बजेट बनाउनुपर्ने बताइन् । स्वास्थ्यमा लुम्बिनी पछाडि परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । आमा मृत्युदर, बाल मृत्युदरको समस्या उच्च रहेको, पाठेघरको सङ्क्रमणले अवस्था झन् विकराल बनाएको बताइन् । प्रदेशसभा सदस्य भगवती अधिकारीले लुम्बिनी प्रदेशको बुटवल आसपासमा खानेपानीको गम्भीर समस्या देखिएको बताइन् । शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सबै विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिनुपर्ने बताइन् ।
महिला परिषद् गठनको काम कता पुगेको हो भनी प्रश्न गरिन् । प्रदेशसभा सदस्य मिनाकुमारी श्रेष्ठले आगामी नीति तथा कार्यक्रम र बजेटको समीक्षा गरी नयाँ नीति तथा कार्यक्रम बनाउन सुझाव दिइन् । प्रदेशसभा सदस्य लोककुमारी विश्वकर्माले जातजाति र भूगोलका समस्याहरू पहिचान गरेर नीति तथा कार्यक्रम तथा बजेट बनाउनुपर्ने बताइन् । कार्यान्वयनयोग्य बजेट निर्माण गर्नुपर्ने, प्रदेशसभा सांसदसँग समन्वय तथा अनुगमनको व्यवस्था गरिनुपर्ने बताइन् । प्रदेशसभा सदस्य धर्मबहादुर चौधरीले दिगो विकासको आधार शिक्षा भए पनि यसमा प्राथमिकता दिन नसकिएको बताए । आगामी बजेटमा प्रदेश गौरवका आयोजनाको रूपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राथमिकतामा राखिनुपर्ने धारणा राखे ।
प्रदेशसभा सदस्य बसन्ती न्यौपानेले जलन उपचारलाई प्राथमिकतामा राख्दै प्रदेशमा जलन उपचार केन्द्र स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराइन् । कुलत तथा दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेगरी योजना बनाउनुपर्ने सुझाव दिइन् । प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने सबैको साझा लक्ष्य भएको बताए । कानुन निर्माण, नीति तथा कार्यक्रम तथा बजेट निर्माणमा ध्यान दिनुपर्ने, प्राथमिकता र सिद्धान्तको विषयमा सुरुबाटै छलफल गर्नुपर्ने बताए । छैटौँ अधिवेशनको तेस्रो बैठक जेठ २ गते शुक्रवार दिउँसो १ बजे बस्ने जानकारी सभामुख तुलाराम घर्तीमगरले दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij