२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् ।
शुक्रबारबाट पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्नका लागि डडेलधुरा पुगेका प्रचण्डले देउवालाई फोन गरेका हुन् । प्रेस सेन्टर डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले डडेलधुरा आइपुगेको जानकारी फोनमार्फत् देउवालाई दिएको बताए
‘म यहाँ बस्दै गर्दा, यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ। देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो, डडेलधुरामा स्वागत भन्नुभएको छ ।’
उनले डडेलधुरामा भव्य स्वागत भएको अनुभूति गरेको र राजनीतिक दलका नेताहरूसँग भेटघाट र कुराकानी भएको बताए । प्रचण्डले तराई मधेसमा सञ्चालित हुलाकी मार्ग केन्द्रित जागरण अभियान असाधारण रूपले सफल भएको निष्कर्ष पार्टीले निकालेको सुनाए ।
उनले अहिले सरकार ढलाउनेतिर माओवादीले ध्यान नदिएको बताए । ‘हाम्रो दलको हिसाबले भन्दा अहिले सरकार बनाउने र ढलाउनेतिर हाम्रो ध्यान छैन,’ उनले भने, ‘यद्यपि हामीलाई चिन्ता छ( सरकार गलत बाटोतिर हिंडिरहेको छ ।’
प्रचण्डले देशको घटनाक्रम भने राम्रोसँग अगाडि नबढेको बताए । ‘सरकारले सुशासनका हामीले सुरु गरेका कामहरूलाई भत्काउनतिर लागेको छ राम्रो काम गर्नेलाई दण्डित गर्दैछ नराम्रो काम गर्नेलाई पुरस्कृत गर्दैछ,’ उनले भने, ‘उल्टो बाटो हिंडेकोमा हामी चिन्तित छौं र सरकारलाई खबरदारी पनि सुरुदेखि गरेका छौं ।’
आलोचकलाई जति इमान्दार भए पनि फसाउने र नजिककालाई जसरी पनि बचाउनेगरी सरकार र प्रधानमन्त्री कार्यालय लागेको आरोप लगाउँदै उनले त्यसको विरोध गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij