२०८२ भाद्र ४ गते बुधवार
मलर सदा र सुर्जबहादुरहरू भोकले ढलेकै सेरोफेरोमा प्रधानमन्त्री ओली सत्ताको अतिशय भोक शमन गर्नका निम्ति छँदाखाँदाको झण्डै दुई तिहाइ समर्थनको गला सेर्न सर्वोच्च अदालत पुगेका थिए । तत्क्षण पनि उनी बर्बराइ रहे - 'कोहीभोको, नाङ्गो र उपचाविहीन भएर मर्नुपर्दैन ।' राजनीति र अनपेक्षित जनसमर्थनलाई सत्ताको सोपान सम्झने परिहासका पात्र ओलीलाई सुदूर बझाङको साइपालका सयौं भोका मान्छेहरूको भोक सत्ताको भोक अगाडि फिक्का लाग्यो । समृद्धिका बाँसुरी अविराम बज्दै गर्दा साइपालको सुस्केराले सिंहदरबारको सुरताल रतीभर बिथोलेन ; जङ्गे बन्ने सपनामा कुनै तगारो तेर्स्याएन किनकि साइपाल सिंहदरबारको प्रवेशद्वारभन्दा धेरै पर दारूण जिन्दगी बाँचिरहेको छ , बेखबर छ । सत्ताको चाबीलाई जनैको साँचोसरि स्वार्थको आफ्नै सन्दुसमा राखिराख्ने एक सूत्रीय अभियानमा उनी लाग्दै गर्दाको सिकसिक कस्तो हुन्छ आज धेरैले नजिकबाट छामेका छन् ।
खोष्टोसरि बनाउन खोजिँदै संविधान
संविधानमा बाकाइदा लेखन गरियो - समाजवाद-उन्मुख । तर सत्ताले न त अक्षरलाई पढ्ने चेष्टा गर्यो, न त मर्म र भावना पर्गेल्ने । समाजवादको बाटो हिँड्न संस्थागत र संरचनागत आमूल परिवर्तनको दरकार थियो, तर उल्टो बाटो हिँड्ने सरकार बन्यो । विफलताबारे चर्चा चुलिँदै गर्दा महामारीले आक्रान्त बनाइसकेको थियो देशलाई र उनी चौतर्फी आक्रोशबाट बालबाल बँचे । आक्रोशको लप्का ओकल्ने पीडित वर्ग एकमुठी श्वास धान्नका निम्ति थातथलो सोझियो , आक्रोशको भुङ्ग्रोलाई निषेधाज्ञाको पानी खन्याइयो । यता दबाईको गोली नपाएर नागरिकको इहलीला समाप्त हुँदै थियो भने राज्य चोरबाटो ढुकेर दल भत्काउने कानुन निर्माणमा लागि परेको थियो, विधायक अपहरण गर्न व्यस्त थियो ।
यसैबाट राज्यको आपराधिक चरित्र छर्लङ्गिन्थ्यो । करिब दुई तिहाइको सरकार आफूलाई बहुमत चाहियो,कामै गर्न पाइएन भनी रोइलो गर्दै विधान बनाउने थलोलाई बन्धक बनाउने कुचेष्टामा लिप्त थियो । संविधानमात्र नभई पार्टी विधानलाई समेत धोती लगाउन उद्यत थियो ऊ, र छ पनि । जनप्रतिनिधिमूलक सर्वोच्च थलोलाई अनादर गर्दा आफ्नो आदर चुलिएको देख्ने अहम्वादी रतन्धोले राज्य सारथिलाई झ्याप्प छोयो । जनताका पीरमर्का शासकलाई सुनाउने वैधानिक थलोले पुनर्जीवन त पायो तर घिटीघिटी अवस्थामा छाडिदिए सरकार प्रमुखले । सायद आफूले हत्या गरेको थलोमा उनलाई उपस्थित हुन मन लागेन । यसरी संविधानका धारा, उपधाराको अपव्याख्या र हुर्मत लिने काम भयो , शृङ्खलाबद्ध ढङ्गबाट भइ नै रह्यो ।
उल्लूहरूको बिगबिगी, हाँसको बिचल्ली
उल्लूहरू बिगबिगी भएको जङ्गलमा एकपटक हाँसको जोडी बास बसेछ । रातभर कराई जोडी हाँसको निद्रा बिथोलीरहेको एउटा उल्लूले 'यो ठाउँ यति उजाड हुनुको कारक उल्लू नै हो ' भन्ने पोथी हाँसको आरोपित कथन सुनेपछि अर्को बिहान शालीनतापूर्वक निद्रा खल्बल्याएका कारण माफी मागेछ । उल्लूको शालीनता देखेर जब जोडी हाँस आफ्नो बाटो लाग्दै थिए, तब उल्लूले पोथी हाँस आफ्नी श्रीमती भएको दावी गर्दै भाले हाँसलाई सँगै नलैजान भन्यो । उल्लूका कुरा सुनेर भाले हाँस अक्क न बक्क भयो । विवाद मिलाउन त्यहाँका अन्य चरा र जनावरको पञ्च भलाद्मी बस्यो । 'हाँस त यहाँबाट गइहाल्छ एक छिनमै । आखिर हामीसँग मिलेर बस्ने त यही उल्लू हो । यदि उल्लूको विपक्षमा फैसला दिने हो भने उसले हामीलाई पटकपटक दु:ख दिन सक्छ । तसर्थ उल्लूको पक्षमै निर्णय गर्नुपर्छ ।' यति भन्दै पञ्च भलाद्मीले पोथी हाँस उल्लूकै श्रीमती भएको फैसला दिए । किंकर्तव्यविमूढ भाले हाँस त्यहाँबाट रोइकराइ गरी निस्कनै लाग्दा उल्लूले एकछिन पर्खिन आग्रह गर्दै भन्यो - ' देख्नुभयो नि हाँस भाइ, कसका कारण यो जङ्गलको परिपाटी बिग्रेको रहेछ ? तसर्थ विनाबित्था कसैलाई आरोपित गर्नु गम्भीर कसुर र अक्षम्य भुल हो । यो कुरा तिमीजस्ता सबैलाई ज्ञात होस् भन्ने मेरो जिकिरमात्र हो । पोथी हाँस तिम्रै श्रीमती हुन् । तिमी उनलाई लैजान सक्छौ । त्यसपछि खुसी हुँदै हाँसको जोडी आफ्नो बाटो लाग्यो । यतिखेर यस्तै बिचल्ली छ एमालेका हाँसजस्ता कार्यकर्ताको । हवाई सपनाको बेहिसाब वितरण - अत्यन्त पातलो वायुमण्डल भएको मङ्गल ग्रहमा नासाले इन्जेन्युइटी नामक ड्रोन हेलिकोप्टर उडाइरहँदा यता हाम्रोमा पच्चीस जना भन्दा बेसी भेला हुन नपाउने आफैँले लादेको नियमको खिल्ली उडाउँदै राम, सीता,लक्ष्मण र हनुमानको मूर्ति सजाएर पाँच सयवटा सवारी साधनसहित् शोभायात्रा अयोध्यापुरीको गन्तव्य पुगेको छ जहाँका जनप्रतिनिधिलाई यो कुराको सुइँकोसम्म छैन ।
राज्यले त्यही सेरोफेरोमा आगो झोसेर बिल्लीबाठ पारेका चेपाङ बस्तीको झुप्रा अझै ठडिएका छैनन् तर पाषाण मूर्तिहरू सोचे अगावै प्रतिष्ठापन हुँदै छन् र खुसी पारिँदै छ तिनलाई धूप बालेर । यसर्थ वामपन्थी हुन् यी राज्य सारथि कि रामपन्थी अलमलमा छन् पीडित जनहरू । धरहरा, देवल र मनोरञ्जनस्थललाई विकासे मानक बनाएको राज्यले मानव जीवनलाई वस्तुकरणमा सीमित पारेको छ । छुकछुक रेल, पानीजहाज, चुलामा ग्याँस पाइप, तुइन मुक्त राष्ट्र जस्ता सस्ता नारा अब शुद्ध हवाई सपनामात्र बन्दैछन् । शिलान्यास गरिएका स्वास्थ्य चौकी र विस्तृत परियोजना प्रतिवेदन समेत नबनाई उद्घाटित सडकबारे बोल्नु त बेकारै भै'गो ।
वार्ताको झिँगेदाउ, अल्मल्याउने खेल
विधानले नचिन्ने काममै मखलेल हुने तिकडम शिरोमणि ओलीले यतिखेर कहिले वरिष्ठ नेता नेपालसँग वार्ता त कहिले उपाध्यक्ष गौतमसँग डिनर पार्टीको नौटङ्की गरिरहेका छन् । विपक्षीको घेराबन्दीबाट त्राण पाउन उनले गरेका नाटक कुर्सी जोगाउने चालबाजीमात्र हुन् । पार्टीको विशाल पङ्क्तिलाई बाहिर राखेर उनी अहिले पनि आफ्नो तुजुक देखाइदिन चाहन्छन् जुन सैद्धान्तिक भ्रष्टीकरणको एउटा नमुना हो । विधायकलाई थर्काएर, धम्क्याएर वा पद धरापमा पारिदिने ध्वाँस देखाएर जसरी आफ्नो कब्जामा राख्ने हर्कत गरेका छन् । यो कर्म नैतिक र राजनीतिक मूल्यको तीव्र स्खलन र मुखिया प्रथाको पुनर्जीवनबाहेक केही होइन । नेकपाका महासचिव विप्लवले माधव र प्रचण्डले तपाईँका मान्छेलाई रिहा गर्न अवरोध गरे भन्ने ओलीको कथन सुनेपछि 'उनी त हामीलाई केटाकेटीलाईझैँ झुलाउन उद्यत पो रहेछन्' भनी गरेको सटीक टिप्पणी नै ओलीको जीवनदर्शन बुझाउन काफी छ । जसपा फुटाउने चलखेल होस् वा देउवाको कान फुकी तटस्थ राख्ने काम वा अझ अन्य पार्टीका लोभीपापीलाई पद दिएर आफूतिर तान्ने कुत्सित तरिका - यी सबैसबैले अन्ततोगत्वा राजनीतिक स्खलन,आपराधीकरण र भ्रष्टीकरणलाई मलजल गर्दै सर्वसाधारणलाई राजनीतिप्रति थप वितृष्णा पैदा गर्छन् ।
र अन्त्यमा
ओलीको पार्टी भर्सेला परोस् वा जेसुकै होस् तर सामाजिक, राजनीतिक र सांस्कृतिक मूल्यको अनपेक्षित स्खलन यतिखेरको ज्यादै चिन्ताजनक विषय हो । यसले राजनीतिलाई थप नग्न र उदाङ्गो पारेको छ भने हरेक नेता चोर हुन् भन्ने द्वेषीहरूका निम्ति बल मिलेको छ । संसदीय व्यवस्थाको त यसले धज्जी उडेकै छ, त्यसमाथि पात्र कि स्वयं व्यवस्था भन्ने विषयमा समेत पेचिलो बहस तीव्र बन्नेवाला छ । यसले आगामी दिनमा कस्तो राजनीतिक प्रणाली त ? भन्ने विषयले पनि कथित लोकतान्त्रिक राजनीतिक क्षेत्रमा प्रवेश पाएको छ । सर्वसाधारणका निम्ति भने यो उपयुक्त अवसर हो झैं लाग्छ । आस्थेआस्थे अब प्रणालीगत विकल्पको द्वार पनि ढक्ढक्याउने छ, संसदवादीहरूको यो चरम सङ्कटले !
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij