२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बिच एकता घोषणा हुने निश्चित भएको छ । एकताको सबै तयारी पुरा भएको र वैशाख १७ गते दुई पार्टीबिच एकता घोषणा हुने जनमत पार्टीका अध्यक्ष सिके राउतले बताएका छन् ।
उनले नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता दुवै पार्टीको बिचमा हुन लागेको बताए । ती दुवै पार्टीका बिचमा एकताका लागि करिब डेढ दुई वर्षदेखि प्रयास भइरहेको थियो ।
यसअघि दुई पार्टीका बिचमा कार्यगत एकताका लागि मोर्चा समेत बनेको थियो । अन्ततः दुवै पार्टीको बिचमा एकता हुने निश्चित भएको छ । नयाँ बन्ने पार्टीको कार्यकारी अध्यक्षमा डा.सिके राउत रहनेछन् भने संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको स्रोतले जनाएको छ । केन्द्रीय सदस्यहरू आधा–आधा राख्ने सहमति भएको स्रोतले जनाएको छ । पार्टीको नाम ‘जनमत पार्टी’ रहनेछ भने चुनाव चिन्ह ढकिया हुनेछ ।
तर आफूहरू नआत्तिएको बताउँदै उनले जनताको भावना र आकाङ्क्षा अनुसार पार्टी एकता हुन गइरहेको बताएका छन् । पार्टी एकता भएपछि सङ्घीय संसदमा जनमत पार्टीको १० सिट हुनेछ । हाल जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ ।
दुवै पार्टीका बिचमा एकता भइसकेपछि पूर्वको कमान्ड सिके राउतले गर्नेछन् भने पश्चिमको कमान्ड रेशम चौधरीले गर्ने सहमति भएको बताइएको छ । पूर्वी मधेसमा सिके राउतको पार्टी बलियो छ भने पश्चिम मधेसमा रेशम चौधरीको पार्टी बलियो छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij