२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली सेनामा वर्षौं दुःख गरेर सैनिकहरू घर फर्कंन्छन् । तर अवस्था कस्तो छ भने हातमा सीप नहुँदा अवकाश भएकामध्ये अधिकांश बेरोजगार नै बस्नुपर्ने बाध्यता छ । यही अवस्थाका कारण अवकाश भएकामध्येको एउटा ठूलो हिस्साचाहिँ रोजगारीका निम्ति देश नै छाडेर परदेशतर्फ जाने गरेको छ ।
नेपाली सेनाले यही विद्यमान अवस्थालाई मध्यनजर गर्दै सैनिकहरूको सीप विकास गराउने भएको छ । यसका निम्ति उसले नेपाली सेनाले कृषि विषयमा स्नातक स्तरको (ब्याचलर इन एग्रिकल्चर साइन्स) तालिम दिने भएको छ ।
सेवारत तथा अवकाशप्राप्त सैनिकलाई कृषिमा जोडेर आत्मनिर्भर बनाउन सेनाले यस्तो तालिमको योजना अघि सारेको हो । आगामी दिनमा आफ्नै कृषि फार्म सञ्चालन गर्ने योजना पनि सेनाको छ । सेनाले अहिले पनि कल्याणकारी कोषमार्फत विभिन्न क्षेत्रमा लगानी गरिरहेको छ ।
नेपाली सेनाले सैनिकहरूको सीप विकासका लागि कृषिमा स्नातक तहको तालिम सञ्चालन तथा तालिमपछि उद्यम गर्न चाहनेका निम्ति ऋणसमेत उपलब्ध गराउने भएको छ।
सेनाले व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत स्नातक तहको तालिम दिने योजना बनाएको छ ।
केन्द्र नेपाली सेना मातहतको एउटा निकाय हो । लमजुङको सुन्दरबजार नगरपालिका, सिउँडीबारमा २०० रोपनी क्षेत्रफलमा फैलिएको केन्द्र २०७६ भदौदेखि सञ्चालमा छ । यसले सेनाका अवकाश नजिक पुगेका र भूतपूर्व भइसकेका सैनिकलाई कृषि तालिम दिँदै आएको छ । नेपाली सेनाका अनुसार केन्द्रबाट अहिले बाली विज्ञान र भेटेरिनरी तालिम सञ्चालन भइरहेको छ । जसमा ८० जना सहभागी छन् । तालिम लिनेमध्ये ७६ बहालवाला र चार भूतपूर्व छन् ।
सेनाले केन्द्रबाट यसका अतिरिक्त स्नातक तहको कृषि तालिम सञ्चालन गर्ने भएको छ । यसका लागि त्रिभुवन विश्वविद्यालयसँग अनुमति लिन प्रक्रिया थालिएको छ । त्रिविलाई कृषि स्नातक तहको कार्यक्रम सञ्चालनका लागि सेनाले पत्राचार गरे पनि निर्णय हुन भने बाँकी छ ।
तालिमपछि सहुलियत ऋण
नेपाली सेनाले तालिमपछि सीपको सदुपयोग गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउने भएको छ । त्यसका सेनाले नेपाल इन्भेस्टमेन्ट बैंकसँग सम्झौता गरिसकेको छ ।
नेपाली सेनाका अनुसार, तालिमबाट दीक्षित सैनिक (बहालवाला तथा अवकाशप्राप्त) ले तीन लाखदेखि १५ लाख रूपैयाँसम्म सहुलियत दरमा ऋण लिन सक्नेछन् । सामूहिक खेती गर्न चाहनेलाई अझै धेरै ऋण उपलब्ध गराउने योजना सेनाको छ
यसैबीच, कृषि मन्त्रालयले इजरायली प्रविधिमा दुईवटा सिकाइको उत्कृष्ट थलो स्थापनाको तयारी गरेको छ । जसमा एउटा नेपाली सेनालाई एउटा दिने मन्त्रालयको योजना छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij