२०८२ आश्विन २८ गते मंगलवार
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नै शीर्ष नेताको पद संकटमा पर्ने गरी निर्णय गरेको छ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’मा जोडिएका नेताहरूलाई इंगित गर्दै नेताहरूलाई पार्टीको नीति स्मरण गराएको हो।
राप्रपाले यसरी विचार मिल्ने दल, अभियान तथा समूहको कार्यक्रममा सहभागी नहुन भनेर भनेको यसअघिको निर्णय स्मरण गराउँदै बिहीबार पुन: निर्णय गरेको छ।
बैठकको निर्णयसँगै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणाको पद संकटमा परेको हो। उनीहरू दुवै अहिले काठमाडौँ प्रहरी परिसरको हिरासतमा छन्।
'यहाँ पार्टीको जिम्मेवारीमा बस्ने अनि राजनीतिकै लागि खुलेका संगठन, अभियानमा गएर सहभागी भएपछि बसिरहन मिल्छ त?,' बैठकमा सहभागी एक पदाधिकारीले भने। मिश्र र राणा आफैँ सहभागी भएको कार्यसम्पादन समितिको बैठकले गरेकै निर्णयले अहिले उनीहरू संकटमा परेका हुन्।
गत पुस ५ र ६ गते बसेको कार्यसम्पादन समितिको बैठकले समान विचारधारा भए पनि पार्टीभन्दा बाहिरका समूह वा अभियानको कार्यसमितिमा रहेर नेताहरूले कार्य गरेको पाइए स्वतः पदमा नरहने निर्णय गरेको थियो।
उक्त निर्णयलाई गत माघमा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरिसकेको थियो। बिहीबारको बैठकले भने स्मरण गराएपछि उनीहरूको पद थप धरापमा परेको हो।
कसकसको जोगिन्छ?
निर्णयअनुसार, राप्रपाको जिम्मेवारीमा पनि रहेको र फरक संगठनमा पनि जिम्मेवारी लिनेहरूको पद धरापमा परेको हो।
तर, फरक समूह तथा संगठनमा जिम्मेवारी लिएर सहभागी भए पनि पशुपतिशमशेर जबरा र डा प्रकाशशरण लोहनीको पद भने नजाने गरी राप्रपाले निर्णय गरेको छ।
'पशुपति शमशेर र डाक्टर लोहनीको पद जाँदैन। उहाँहरूको पद हटाएर हट्ने पद होइन। उहाँहरू त पदेन हो नि पार्टीमा,' ती पदाधिकारीले भने, 'पशुपतिशमशेर त बैठकमा आउनै छोडिसक्नुभयो, लोहनीचाहिँ आउनुहुन्छ। राणा र मिश्रको पद धरापमा परेको हो। केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय भनेपछि बुझ्नुस् न, के भन्नुपर्यो अरु?'
राप्रपाकै अर्का पदाधिकारी पनि पार्टीको जिम्मेवारीमा बसेको व्यक्ति उक्त जिम्मेवारीमा रहेकै अवस्थामा अर्को फरक संगठनको जिम्मा बोक्न जान्छ भने पद छोड्नुपर्ने बताउँछन्।
'यहाँ पार्टीमा बस्ने अनि अर्को संगठनमा पनि बस्ने भएपछि स्वत: पद जान्छ नि। पार्टीले निर्णय नै पास गरेको छ,' उनले भने, 'पदीय जिम्मेवारीमा बसेको मान्छे अन्त विचार, सिद्धान्त र मुद्दा मिल्ने संगठनको कार्यक्रमलाई मद्दत गर्न जान पाइयो तर त्यो संगठनको पदीय जिम्मेवारी नै लिन पाइँदैन। मर्यादामा बस्नुपर्यो।'
पद जाने अवस्था कसरी आयो?
नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति मातहतको आन्दोलन परिचालन समितिको संयोजक धवलशमशेर थिए भने मिश्र भने सदस्य सचिव बने।
तर, सुवेदीले पछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा 'संयुक्त जनआन्दोलन समिति' ले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्ने निर्णय गर्यो। त्यसपछि संयोजक सुवेदीले प्रसाईं समूहले चैत १५ गते प्रदर्शनलाई समितिले समर्थन गर्दै प्रसाईंलाई जनकमान्डर घोषणा गरेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij