२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले सरकारले लगानी मैत्री वातावरणको सृजना गर्नुपर्ने जनाएको छ । निजी विद्यालयको लगानी सुनिश्चितताको सवालमा हाल संसदमा छलफलमा रहेको शिक्षा विधेयकमा निजी विद्यालयहरूलाई कम्पनीमै रहने व्यवस्था कायम राख्नुपर्ने प्याब्सनको भनाई छ ।
प्याब्सनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नयाँ कार्य समितिले आगामी नीति तथा कार्यक्रमहरू सार्वजनिक गर्दै निजी विद्यालयहरूको लागनी संरक्षण गर्नुपर्नेमा जोड् दिएको छ । यसैगरी निजी विद्यालयहरूले प्रदान गर्दै आएको शैक्षिक गुणस्तरलाई अझै समय सापेक्ष बनाउदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउन निरन्तर क्रियाशील रहने जसका लागि आवश्यकता अनुसार तिनै तहको सरकारसँग सहकार्य गर्ने जनाएको छ ।
प्याब्सनका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार डिके ढुङ्गानाले उच्च शिक्षाको लागि विदेश पलायन हुने वर्तमान रफ्तारलाई कम गर्न सम्बन्धित सरकारी तथा निजी निकायहरूसँग आवश्यक सहकार्य गरी अगाडी बढ्ने बताए । उनले शिक्षकहरू लामो समय विद्यालयमा नटिक्ने अवस्था रहेको उल्लेख गर्दै शिक्षकहरूको स्थायित्वका लागि सामाजिक सुरक्षा कोषमा लगिने जानकारी दिए । अहिलेसम्म २ हजार ३ सय ७० विद्यालय सामाजिक सुरक्षा कोषमा आबद्ध रहेको र यसमा प्याब्सन प्रतिबद्ध रहेको बताए ।
राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद अधिकारीले विश्वमा भएको परिवर्तनबाट नेपाल पनि अछुतो नरहने बताउँदै शैक्षिक गुणस्तरलाई अझै समय सापेक्ष बनाउदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउन निरन्तर क्रियाशील रहने बताए ।
सहअध्यक्ष गोपाल आचार्यले निजी विद्यालयले गुणस्तरीय शिक्षामा महत्वपूर्ण योदान दिएको उल्लेख गर्दै राज्यले कक्षा १२ सम्म अनिवार्य शिक्षा कायम गर्नुपर्नेमा जोड् दिए । वरिष्ठ उपाध्यक्ष दीपिका रिमाल थापाले सङ्गठनप्रतिको आम विश्वास र सद्भावलाई कायम राख्दै साङ्गठनिक ऐक्यबद्धता र आवश्यकतालाई अझै मजबुत गर्दै लगिने बताइन । महासचिव आरबी कटुवालले ४५ प्रतिशत आरक्षित छात्रवृत्तिको विषयमा २०८० चैत्र १४ गतेको सम्मानित सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरिने जानकारी दिए ।
यस्तो छ तीन वर्षको नीति तथा कार्यक्रम
१. गुणस्तरीय एवम् प्रतिस्पर्धी शिक्षा स् निजी विद्यालयहरूले प्रदान गर्दै आएको शैक्षिक गुणस्तरलाई अझै समय सापेक्ष बनाउदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउन निरन्तर क्रियाशील रहने जसका लागि आवश्यकता अनुसार तिनै तहको सरकारसँग सहकार्य गर्ने ।
२. विद्यालय शिक्षालाई सबै नेपालीहरूको पहुँचभित्र रहन आवश्यक प्रवर्धनात्मक क्रियाकलापहरू गर्दै यसको स्तर अभिवृद्धिका लागि नवप्रवर्तनलाई जोड दिने ।
३. निजी विद्यालयको लगानी सुनिश्चितताको सवालमा हाल संसदमा छलफलमा रहेको शिक्षा विधेयकमा निजी विद्यालयहरूलाई कम्पनीमै रहने व्यवस्था कायम राख्न आवश्यक सम्पूर्ण प्रयास गर्दै थप लगानी मैत्री वातावरणको सृजना गर्ने ।
४. निजी विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका तथा कर्मचारीहरूको सेवा सुविधाका सवालमा जिम्मेवार बन्दै सरकारद्वारा सञ्चालित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउदै लैजाने ।
५. पछिल्लो समयमा देखिदै गएको पठन–पाठन संस्कृति प्रतिको ह्रास प्रति संवेदनशील बन्दै पढ्ने संस्कृतितर्फ उन्मुख गराउनका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्ने ।
६. बाल शिक्षामैत्री विद्यालय निर्माणको लागि आवश्यक वातावरण बनाउने ।
७. सम्पूर्ण शिक्षक कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा गोष्ठीको व्यवस्था गर्ने ।
८. प्याब्सनले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई परिमार्जित गर्दै निरन्तरता दिइनेछ ।
९. उच्च शिक्षाको लागि विदेश पलायन हुने वर्तमान रफ्तारलाई कम गर्न सम्बन्धित सरकारी तथा निजी निकायहरूसँग आवश्यक सहकार्य गरी कमाउदै पढ्दै गर्ने नीतिलाई सहयोग पुर्याउने ।
१०. यस सङ्गठनप्रतिको आम विश्वास र सद्भावलाई कायम राख्दै साङ्गठनिक ऐक्यबद्धता र आवश्यकतालाई अझै मजबुत गर्दै लगिने ।
११. विभिन्न छात्रवृत्ति कार्यक्रमहरूमा देखा परेका समस्याहरूप्रति गम्भीर हुदै उक्त छात्रवृत्ति कार्यक्रमलाई लक्षित वर्ग र व्यक्तिसम्म पुर्याउनका लागि पहल गर्ने ।
१२. ४५५ आरक्षित छात्रवृत्तिको विषयमा मिति २०८० चैत्र १४ गतेको सम्मानित सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्ने ।
१३. प्याब्सन विद्यालयहरूको गुणस्तर सुनिश्चितको मापदण्ड बनाई गुणस्तर प्रत्ययन प्रदान गर्ने कार्यक्रमलाई अवलम्बन गर्ने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij