२०८२ भाद्र १ गते आइतवार
विराटनगर । विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै विराटनगर महानगरपालिका र सुनसरीको इनरुवा नगरपालिकाले शैक्षिक संस्था बन्द गराएका छन् ।
विराटनगर महानगरपालिका क्षेत्रका सबै निजी तथा सामुदायिक विद्यालय सोमबारबाट एक साताका लागि बन्द गरिएको छ । महानगरको शैक्षिक महाशाखाको पहलमा भएको छलफलपछि विद्यालय साताभरका लागि बन्द गर्ने निर्णय भएको मेयर भीम पराजुलीले जानकारी दिए ।
विराटनगरमा कतिपय निजी विद्यालयले परीक्षा पूरा गरेर विद्यालय विदा गरेका छन् भने कतिले तयारी गरिरहेका थिए । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि मेयर पराजुलीले भने, “विद्यालय बन्द गर्नुपर्ने निर्णय लिइएको हो ।” विद्यार्थीमा कोरोनाको सन्त्रास नहोस् र घरमा नै बसेर परीक्षाको तयारी गर्न सहज होस् भनेर एक साता शैक्षिक बिदाको रुपमा विद्यालय बन्द गरिएको पराजुलीले दाबी गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोरङ जिल्लालाई कोरोना महामारीको अति प्रभावित जिल्लाको सूचीमा राखेको छ । विराटनगरमा वैशाख १३ गतेसम्म विद्यालय बन्द रहने छन् ।
उता, सुनसरीको इनरुवा नगरपालिका क्षेत्रको विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोनाको नयाँ भेरियन्ट संक्रमण पुष्टि भएसँगै विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । नगर प्रमुख राजन मेहताले समुदायस्तरमै कोरोना संक्रमण फैलिएको हुँदा संक्रमण रोक्न नगरभित्रका विद्यालय बन्द गर्ने निर्णय भएको बताएका छन् । उनले भने, “सभा सम्मेलन, मेला, जात्राजस्ता मानिसको भीडभाड हुने कार्यहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।” इनरुवाका दुई विद्यालयका दुई विद्यार्थीमा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि भएपछि गनरपालिकाले सर्वपक्षीय छलफल गरेको मेहताले सुनाए । सरकारले संक्रमणको अवस्था हेरेर विद्यालय तथा अन्य क्षेत्र बन्द गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाई नै दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij