Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

स्ववियु निर्वाचन

पश्चिमाञ्चल क्याम्पस बाहिर अनसन र नाराबाजी, भित्र मतदान

पश्चिमाञ्चल क्याम्पस बाहिर अनसन र नाराबाजी, भित्र मतदान


  • 1.4K
    Shares

    पश्चिमाञ्चल क्याम्पस बाहिर अनसन र नाराबाजी, भित्र मतदान
    images

    काठमाडौं । नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवादले इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा अनसन, नाराबाजी र विरोध प्रदर्शनका बीच स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जारी छ ।

    नेविसंघको एउटा समूहले सोमबारदेखि नै क्याम्पसमा रिले अनसन गरिरहेको छ भने अहिले नाराबाजीसहित प्रदर्शन भइरहेको छ । कडा सुरक्षाका बीच भित्र मतदान भने जारी छ ।

    नेविसंघबाट स्ववियु सचिव पदमा मनोनयन नै नभएपछि आन्तरिक विवादले क्याम्पसमा विरोध प्रदर्शन भइरहेको हो ।

    केन्द्रको आधिकारिक परिपत्रविपरीत नेपाली कांग्रेस कास्की जिल्ला नेतृत्वले सचिव पदमा मनोनयन नै गराउन नदिएको भन्दै एउटा समूहले विरोध गर्दै फेरि मनोनयन गर्न माग गरिरहेको छ । तर, जिल्ला नेतृत्वले सचिव उम्मेदवारविनै चुनावमा जान निर्वाचन समितिलाई सहमति दिएपछि अहिले विरोध र नाराबाजीका बीच मतदान भइरहेको हो ।

    नेविसंघले सौगात पण्डितको अध्यक्षतामा निर्वाचनमा जान मनोनयन दर्ता गराएका थिए । तर, सचिव पदमा आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै मनोनयन पत्र नै च्यातिएको नेविसंघकै एउटा समूहले आरोप लगाइरहेको छ ।

    नेविसंघ केन्द्रीय कमिटीले सचिवको उम्मेदवार प्रशान्त उपाध्यायलाई बनाउन भन्दै परिपत्र नै गरेको छ ।

    नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नामबाट परिपत्र भए पनि कांग्रेस कास्की सभापति किशोरदत्त बराललगायतले सचिवबिनै निर्वाचनमा जाने वातावरण बनाएको भन्दै नेतृत्वप्रति नेविसंघका नेताहरु रुष्ट छन् । त्यसैको विरोधमा एउटा समूहले सोमबार टायर बालेर विरोध प्रदर्शन गरेको थियो भने अहिलेसम्म पनि रिले अनसन जारी राखेको छ ।

    क्याम्पस गेटमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । बाहिर विद्यार्थीहरुलाई मतदान गर्न जानबाटसमेत रोक्ने प्रयास भइरहेको छ ।

    निर्वाचन समिति संयोजक दीपक थापाले सर्वदलीय सहमतिकै आधारमा निर्वाचन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

    ‘भित्र मतदान चलिरहेको छ । अहिलेसम्म करिब ३ सय जनालेमात्र मतदान गरेका छन् । बाहिर गेटमा क्याम्पसका मात्रै होइन, बाहिरबाट पनि विद्यार्थीहरु आएर नाराबाजी गरिरहेको जानकारी प्राप्त भएको छ,’ निर्वाचन अधिकृत थापाले भने, ‘सुरक्षाकर्मीलाई विद्यार्थी परिचय पत्र हेरेर मतदानका लागि पठाउन आग्रह गरिएको छ तर हुलका कारण समस्या भइरहेको गेटबाट जानकारी आएको छ ।’

    क्याम्पसभित्र होस्टेलमा बस्ने विद्यार्थीहरुबाट सुरुमा स्ववियुको मतदान सुरु भएको थियो ।

    केन्द्रको परिपत्र हुँदाहुँदै सचिवबिनै निर्वाचन अगाडि बढ्ने देखेपछि तालाबन्दी गरिएको र कास्की सभापतिलगायत केही नेताले खेल्ने प्रयास गरेको उनीहरुको आरोप छ । नेविसंघका विद्यार्थीले आफूले भनेको मान्छे सचिव नपाएपछि रेजिना खड्काले मनोनयन पत्र नै च्यातेकोसमेत आरोप लगाइरहेका छन् ।

    २०७९ को चुनावमा नेपाल विद्यार्थी संघकै आन्तरिक विवादका कारण क्याम्पसको चुनाव बिथोलिएको थियो । यसपटक चुनाव गराउने सर्वदलीय सहमति भएको थियो तर सबैलाई मत खसाल्ने वातावरण भने बन्न नसकेको विद्यार्थीहरुले गुनासो गरिरहेका छन् ।

    इन्जिनियरिङ अध्ययन संस्थानमा २ हजार ४१ मतदाता छन् ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १३:४८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij