२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । आयात र निर्यातमा भएको वृद्धिले पछिल्लो समय नेपालको अर्थतन्त्र चलायमान भइरहेको देखाएको छ। चालू आर्थिक वर्षको सात महिनामा १० प्रतिशतले आयात र साढे ४६ प्रतिशतले निर्यात बढेको हो।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा (साउन-माघ) नेपालका विभिन्न भन्सार नाकाबाट कुल ९८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । सोही अवधिमा १२७ अर्ब २० करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
सबैभन्दा बढी आयात हुने भन्सार नाका वीरगञ्ज रहेको छ। वीरगञ्ज भन्सार कार्यालयबाट मात्र ३३४ अर्ब ६२ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन कुल आयातको ३३.८५ प्रतिशत हो। त्यस्तै, सोही नाकाबाट ४० अर्ब ३४ करोड ५९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जसले कुल निर्यातको ३१.७२ प्रतिशत हिस्सा ओगट्छ।
त्यसैगरी, दोस्रो ठूलो आयात हुने भन्सार नाका भैरहवा रहेको छ, जहाँबाट १४४ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ। त्यहाँबाट ९ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
बिराटनगर भन्सार तेस्रो स्थानमा छ, जहाँबाट ११२ अर्ब १७ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात तथा ३० अर्ब ८३ करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
चोभार, जनकपुर, महेशपुर, राजविराज, सुनसरी, सुथौली, तातोपानी लगायतका भन्सार नाकाबाट भने निर्यात शून्य रहेको छ। यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ८२ अर्ब २४ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु आयात तथा २० अर्ब ३४ करोड ७२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीबाट ४७ अर्ब ९० करोड ९ लाख रुपैयाँ बराबरको वस्तु आयात र १ अर्ब ६६ करोड ५८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij