२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि आकांक्षीहरूले उम्मेदवारी घोषणा गरेका छन् । संघको निर्वाचनमा मुख्य तीन दल निकट व्यवसायीहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा भने दुई खेमा प्यानल बनाएर मैदानमा उत्रिएको छ । संघको २७ औँ साधारणसभा फागुन २ गते हुँदैछ । साधारण सभाको मिति नजिकदै जाँदा नेतृत्वका आकांक्षीहरू मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।
संघमा निर्वाचनबाट नयाँ नेतृत्व तय हुने भएसँगै कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अध्यक्षसहितका उम्मेदवार टुंग्याएको छ । एसोसिएसनले अध्यक्ष पदका लागि संघका पूर्वद्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङलाई उम्मेदवार बनाएको छ । प्रथम उपाध्यक्षमा नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र महासचिवमा महेशकुमार बस्नेतलाई उम्मेदवार बनाउने निर्णय भएको छ । तर महासचिवका उम्मेदवार बस्नेतले भने एशोसियसनमा तीब्र बिबाद भएकाले आफुले मार्गप्रशस्तको गर्न भन्दै महासचिव पद त्यागेको बताएका छन् । एसोसियसनमा तीब्र बिबाद भएपछि नेपाली काङ्ग्रेस पार्टीमा नै कसलाई उम्मेदवार बनाउने भनेर छलफल भइरहेको छ ।
यता गुरुङको उम्मेदवारीलाई लिएर एसोसिएसनमा असन्तुष्टि चुलिएपछि असन्तुष्ट समूह अध्यक्षका ६ दावेदारले छुट्टै प्यानल बनाएर मैदानमा उतारेको छ । उनीहरूले एशोसियसनका पुर्व अध्यक्ष एबम संघको पुर्व प्रथम उपाध्यक्ष कुमुद खनालको नेतृत्वमा १९ सदस्यीय प्यानल घोषणा गरेका छन । एसोसिएसनमा अध्यक्ष पदको आकांक्षा राख्नेमा संघका वर्तमान महासचिव मेघनाथ भुर्तेल, प्रज्ञान न्यौपाने, चिरञ्जीवी बस्याल, किशोर केसी र सुजितकुमार श्रेष्ठ थिए । अघिल्लो साधारणसभामा विद्रोह गरी उम्मेदवार दिएर एसोसिएसनका अध्यक्ष हराउन सक्रिय गुरुङलाई कांग्रेसले अध्यक्षको उम्मेदवार उठाएपछि एसोसिएसनमा आबद्ध यी ६ जना व्यवसायीलगाएतको टिम असन्तुष्ट भएका हुन् । उनीहरूलाई मिलाउन गृहमन्त्री रमेश लेखक र महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरु लागिरहेका छन् ।
यस्तै संघको अध्यक्षमा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका तर्फबाट नरेश गेलाल र महासचिवमा जनक रावल सर्वसम्मत उम्मेदवार घोषणा भएका छन् । गेलाल मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिव र रावल मञ्चका वर्तमान अध्यक्षसमेत हुन् ।
यस्तै माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्चका पूर्वअध्यक्ष रामप्रसाद भन्तनाको नेतृत्वमा संयुक्त व्यवसायिक प्यानल घोषणा गरिएको छ । गणतन्त्रिक मञ्चले अन्य केही व्यवसायीसँग सहकार्य गर्ने भएको छ । भन्तनाले सबै व्यवसायिक संस्थासङ्ग छलफल भैरहेकोले छिट्टै पुरै प्यानल बनाएर व्यवसायीमाझ जाने बताए ।
संघमा एसोसिएसनका ३ सय ६० भन्दा बढी सदस्य रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij