२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण शक्ति लगाएर पार्टीलाई आधारभूत वर्गतिर फर्काउन प्रयास गरिरहेको बताएका छन् ।
चुहानडाँडास्थित तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा मंगलबार आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उनले सम्पूर्ण शक्तिका साथ पार्टीलाई र जनतातर्फ फर्काउने दिशामा अघि बढिएको बताएका हुन् ।
‘शान्ति प्रक्रियापछि हामीलाई केही न केही धुलोमैलो लाग्यो । हामीले महान् शहीदका परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगता भएकाहरूलाई निरन्तर भेटघाट गरेर सुख दुःख बुझ्नुपर्ने थियो । उनीहरूलाई मल्हमपट्टी लगाइरहनुपर्ने आवश्यकता बिर्सिएको जस्तो, बेवास्ता गरेको जस्तो भयो’, ‘प्रचण्ड’ले भने, ‘मजदुर, किसान, उत्पीडित समुदाय, क्षेत्र, दलित, महिला, जनजाति, थारुका मुद्दा हामीले सुरुमा जसरी उठायौँ पछि आउँदा बिस्तारै त्यो वर्गलाई माओवादीले बीचैमा छोडिदियो भन्ने पर्न गयो । वर्गबैरीहरूसँग बढी सहकार्य गरेको जस्तो देखियो । अब त्यो गल्ती सच्याएर अघि बढ्ने काम सुरु गरिएको छ ।’
उनले एकपछि अर्को गरी पार्टी विभाजनको शृंखला रोक्न नसकिएको पनि स्वीकार गरे । अब माओवादी धारका सबै समूहलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू लागिपरेको उनको भनाइ थियो । ‘अब हमी हाम्रो वर्गसँगको सम्बन्धलाई मजबुत बनाउने र बलिदानका साथ स्थापित गरिएका त्यो वर्गका मुद्दाहरूलाई फेरि उजागर गर्ने, स्थापित गर्ने र अगाडि ल्याउने काममा लागेका छौँ’ ‘प्रचण्ड’ले भने ।
उनले संविधान जारी गर्नुअघि थाती राखिएका जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहित विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र बनाउने राजनीतिक एजेन्डा फेरि अघि सारिने बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij