२०८२ भाद्र २ गते सोमवार
सूचक प्रकाशनद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कवि सपना लामिछानेको कवितासङ्ग्रह `जिन्दगी एक यात्रा´ दोस्रो संस्करण सार्वजनीकरण तथा क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार समर्पण समारोह भव्य र सभ्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गीतकार प्रा.डा.कृष्णहरि बराल, विशेष अतिथि वरिष्ठ समालोचक डा. दामोदर पुडासैनी `किशोर´, कवि जगदीश्वर पोखरेल, सूचक प्रकाशनका संरक्षक कृष्ण बहादुर श्रेष्ठ लगायतका विशिष्ट व्यक्तिहरूको समुपस्थिति थियो ।
प्रमुख अतिथि वरिष्ठ गीतकारले लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै कविता अत्यन्त मन छुने भएको बताए । अभिधामूलक कवितामा आफ्नै जीवनका निजी अनुभूतिलाई प्राथमिकतामा पारेझैँ लाग्ने उनको कथन थियो ।
त्यस्तै विशेष अतिथि डा.दामोदर पुडासैनी 'किशोर'ले लेखिकालाई आफूले पहिलोपटक देखे पनि कविता राम्रा लागेर भूमिका लेखेको दाबी गरे । समीक्षाका सिलसिलामा उनले कविसँग निकै राम्रो सम्भावना भएको बताउँदै उनलाई थप कृतिमा अझ माझिएको लेखन आउने विश्वास व्यक्त गरे ।
आयोजक सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवालले लेखक निकट भविष्यमा आख्यानकारका रूपमा उदाउन लागेको अवगत गराउँदै सूचक प्रकाशनले उदीयमान स्रष्टालाई सदैव महत्त्व दिने बताए । एक भिन्न क्षमता भएकी लेखिकको कृतिलाई प्रकाशनले नि:शुल्क प्रकाशित गर्ने प्रतिबद्धता पनि जाहेर गरे । सम्मान र पुरस्कार वितरण गर्दा पनि यथाशक्य सम्भावना भएर पनि ओझेल परेका स्रष्टालाई छनोट गरिएको र भविष्यमा पनि यसलाई निरन्तरता दिइने बताए । उनले
लेखक, साहित्यकार, पत्रकार, विभिन्न संघ-संस्थाका प्रतिनिधि एवं शुभचिन्तक र आत्मीयजनहरूको गौरवमय उपस्थितिले आफूलाई कृतकृत्य तुल्याएको दाबी गरे ।
वरिष्ठ छन्दकवि तथा गीतकार जगदीश्वर पोखरेलले आफूले भर्खर लेखन सुरुवात गर्दै गर्दा सूचकले सम्मान गरेको बताउँदै सूचक प्रकाशनकै विषयमा एउटा छन्द कविता वाचन गरे ।
क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कारबाट सम्मानित वरिष्ठ शिक्षासेवी केदारनाथ श्रेष्ठले आफूले ग्रहण गरेको नगद राशि विपस्यना ध्यान सम्बन्धी पुस्तक प्रकाशनार्थ हस्तान्तरण गरेको घोषणा गर्दै सपना लामिछानेका जीवनका ऊहापोहलाई समेट्ने गीत गुनगुनाए । उनले सूचक प्रकाशनप्रति हार्दिक कृतज्ञता पनि ज्ञापन गरे ।
कवि सपना लामिछानेले भव्य कार्यक्रममा उपस्थित सम्पूर्ण अभ्यागतहरूप्रति कृतज्ञ हुँदै 'जिन्दगी एक यात्रा' पुस्तकबाट केही प्रतिनिधि कविता वाचन गरिन् भने केही कविता रश्मि रिमाल, गङ्गा खतावडा, रूबि सत्याल, नवीन पल्लव, लक्ष्मी पोखरेल तथा बालकवि मन्दिप सिलवालले प्रस्तुत गरे ।
कवि एवं पत्रकार माधव घिमिरे `अटल´ले सहजीकरण गरेको सो कार्यक्रममा बाह्रखरीका राजेश खनाल, सङ्खुवासभा, सभापोखरी धार्मिक तथा पर्यटकीय संरक्षण समितिका सचिव रविनकुमार कालाखेती, लेखक डा. इन्दुल के.सी., कवि तथा कथाकार लीलादेवी श्रेष्ठ, सञ्चारकर्मी जयराम बिडारी तथा सुमनश्री पौडेलको पनि समुपस्थिति थियो । कार्यक्रमको अध्यक्षता बहुविधामा कलम चलाउने साहित्य साधक हरिप्रसाद पाण्डेयले गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij