२०८२ माघ १० गते शनिवार
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको हिरासत बसाइ लम्बिँदै जाँदा राष्ट्रिय सवतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक संकट चुलिएको छ । खासगरी सडक आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा पार्टीभित्र दुईलाइन संघर्ष चर्किएको छ । साथै, पार्टीभित्र सभापति लामिछानेकी पत्नी निकिता पौडेलको हस्तक्षेप बढेको केही नेताले गुनासो गरेका छन् ।
सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा गत कात्तिक २ गते पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने अनुसन्धानका क्रममा दुई महिनादेखि कास्की प्रहरी हिरासतमा छन् । संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत छानविन भइरहेको हुनाले उनको हिरासत बसाइ लम्बिएको छ ।
रास्वपाका एक नेताका अनुसार पछिल्लो समय पार्टीभित्र सभापतिपत्नी निकिताको हस्तक्षेप बढेको छ । निकिताले सडक आन्दोलनमा जान नेताहरुलाई दबाव दिने गरेको उनले बताए ।
‘यो त अलि बढी नै भयो । पुराना पार्टीभित्र जुन बेथितिको विरोध गरेर हामीले नयाँ विधि बसाउन खोज्यौं, अहिले हामीभित्रै नयाँ भाउजूहरु जन्मिने खतरा बढेर गएको छ,’ उनले भने, ‘जे गर्नुपर्ने हो, पार्टीले गर्छ, जिम्मेवारीमै नभएका परिवारका सदस्यले पार्टी चलाउन खोज्नु परिवारवादको संकेत हो । आन्दोलनमा नजाऔं भन्ने नेताहरुविरुद्ध जसरी कान फुक्ने काम भइरहेको छ, यो शोभनीय होइन ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij