२०८२ भाद्र ४ गते बुधवार
थकित भएर एक आँगनमा पुगेका कालीदासले जब प्यासले सताएको भन्दै पानी मागे, त्यहाँ ठिङ्ग उभिएकी महिलाले परिचयविना केही नटक्रयाउने सङ्केत गरिन् । परिचयस्वरूप कालीदासले कहिले आफू यात्री भएको भने त कहिले पाहुना, अनि कहिले हठी त कहिले सहनशील । तर उनी कालीदासका कुनै पनि परिचयबाट सन्तुष्ट हुन सकिनन् । आजित कालीदासले आफू मूर्ख भएको भनेपछि, महिलाले जवाफ दिइन्- ' तिमी कसरी मूर्ख हुन सक्छौ ? मूर्ख त यो संसारमा दुईमात्र छन् । पहिलो, शासक जो विनायोग्यता निर्दोष जनतामाथि शासन गर्ने धृष्टता गर्दछ र दोस्रो, उसको सल्लाहकार जो शासकलाई प्रसन्न पार्न उसका यावत् कुकर्मलाई तर्कद्वारा सही सिद्ध गर्ने कुचेष्टा गर्दछ ।'
वर्तमान सत्ताको चरित्र ठ्याक्कै ती महिलाको जवाफसँग मेल खान्छ । सत्ताको चास्नी चाटेका केही चाटुकारलाई लागेको हुनसक्छ, मालिक महान् छन्, आफैँले मानेका भगवान् भन्दा पनि महान् । तर तथ्यहरू उनीहरूको दाबीलाई ठाडै नकार्छन् । तथ्यहरू निष्कर्ष निकाल्छन् , भ्रष्टाचारमा शून्य सहनशीलताको ऐलान गर्ने बालुवाटार नै भ्रष्टाचार मौलाउन मतियार बनेको छ । यदि कहीँ झुठ र फरेबको खेती मौलाएको छ भने त्यो पनि ललिता निवास वरपर नै छ । हालै प्रकाशित ट्रान्सप्यारेन्सी इन्टरनेशनलको प्रतिवेदन त्यसै भन्छ । एक प्रखर कवि सामाजिक सञ्जालमा व्यङ्ग्य ओकल्छन् - ' ओली सरकारको लोकप्रियता देखेर ट्रान्सप्यारेन्सी इन्टरनेशनल झस्केछ ।' त्यसो त हिजोसम्म कार्यकारी अध्यक्ष मानेका दोस्रो सर्वोच्च नेता एक व्यक्तिसँगको भागबन्डा टकरावसँगै आज हत्यारा दर्ज गरिएका छन् । झगडाको फिरादपत्र लेख्ने लेखनदास ठहरिएका छन् । नाङ्गो नाच नाच्ने नर्तकी अर्थ्याइएका छन् । तीस वर्षसम्म आफ्नो बोलीलाई विधान बनाउने घटिया मनुवा भनाइएका छन् । हुँदाहुँदा ' मैले गल्ती गरेँ, विधान पढ्न बिर्सेछु, भदौ २६ गतेको स्थायी समितिको म्यान्डेट पनि याद भएन, आवेगमा लेखेँ, गर्न नहुने गल्ती गरेँ, गाई मारे बराबर पाप गरेँ ' भने मात्र क्षमा हुन सक्ने खुङ्खार आततायी करार गरिएका छन् ।
साँच्चै त्यस्ता तुच्छ र निर्घिणी मान्छेलाई कार्यकारी अध्यक्ष मानेर राज्यको सुबिधा लुँड्याउनेलाई जनता-जनार्दनले कसरी दुत्कार्नु पर्ने होला ? सवाल गम्भीर किन्तु अनुत्तरित छ । तिनलाई भुइँमान्छेहरूको प्रश्न छ - दुनियाँले यो हेर्दैन कि तिमी पहिले के थियौ, बरू यो हेर्छ कि तिमी आज के छौ ? आज आफ्नो दिन राम्रो छ भनेर आफ्नो धरातल बिर्सनेलाई के थाहा फूलकै औकात पनि केही समयमात्र मन्दिरमा र केही समयपछि फोहरको डङ्गुरमा पुग्छ भनेर । यस्ता कुपात्रहरू आफ्नो रङ्ग महारङ्ग र अरूको रङ्ग भरङ्ग देख्ने गर्छन् । चटक्कै भुल्छन् यिनीहरू कि - झगडा त सबैको हुन्छ जिन्दगीमा तर सम्बन्ध त्यहीँ टिक्छ जहाँ एक अर्काको गल्तीलाई भुलेर सम्बन्ध अघि बढाइन्छ र सम्बन्ध बचाइराख्नु छ भने कहिले अन्धो, कहिले लाटो र कहिले बहिरो पनि बन्नुपर्ने हुन्छ । माया गर्ने र गला जोड्ने आँट गरिसकेपछि सम्बन्ध टिकाउने औकात पनि बटुल्नुपर्छ । तसर्थ तिनले बुझ्नुपर्छ- मकैको फुला पड्कँदैमा हाँडी फुट्दैन । गम्भीर प्रश्न जसले उठाएको छ ऊसँगै या त जवाफ छैन या बनिबनाउ उत्तर हुनसक्छ कि - विधि, विधान र कथित अपानीको कसले हुर्मत लिन थालनी गरेको हो ? सार्वजनिक निर्माण र खरिदमा पारदर्शिता र स्वस्थ प्रतिस्पर्धा गरिरहेको जिकिर गर्नेलाई ओम्नी र यतीले कति गिज्याइरहेका छन् ? वर्षौं शासन गर्दा रोग, भोक र शोकको हिसाब गर्ने समय भएन परन्तु अहिले पद चिप्लने छनक पाएपछि बल्ल हरहिसाबको धम्की ? कोरोना पीडित जनतालाई उपचार गर्न सकिन्न भन्नेलाई कताबाट जनताप्रतिको जिम्मेवारी र सामाजिक उत्तरदायित्वबारे बोधको कुरा भयो ? कुनै पनि रूपको सैन्य गठबन्धन,ध्रुवीकरण र आग्रहको विपक्षमा रहेको दाबा गर्नेलाई एमसीसी पास गराउन किन यति सारो हतारो ? दस पृष्ठ लामो पत्र सचिवालयको कुनचाहिँ बैठकमा छलफल, बहस र स्वीकृति भएको रहेछ ? प्रदेशका मुख्यमन्त्री विरूद्ध अविश्वास प्रस्ताव दर्ता हुँदा कार्यकारीसँगको परामर्शमा नै भएको हो र ? एकल पत्राचार चाहिँ कुनकुन अध्यक्षको सहमतिमा नि ? समाजवाद मात्र गीत गाउने विषय बन्दैन भनी जिकिर गर्नेका लागि फगत् 'समृद्ध नेपाल सुखी नेपाली'मात्र हो गीतको विषयवस्तु ?
'बा' संस्कृतिमा रमाएको पुरानो सहयात्रीको अनुभव फगत् लाञ्छनामात्र हो त ? उही पद तीन चार जनालाई बाँड्ने अनन्य सहकर्मीको भनाइलाई सर्वसाधारणले कसरी बुझ्ने ? पार्टीको विदेश विभाग प्रमुख नै रअ प्रमुखसँगको भेटघाटलाई खबरकागजबाट थाहा पाउन अभिशप्त छन् भने पारदर्शितालाई भुइँमान्छेले कसरी बुझिदिनु पर्ने ? अरूलाई होच्याउने र आत्मरतिमा रमाउने आफ्नै कमरेडको वर्षौंको तीतो अनुभूति केवल खुइल्याउने खेलमात्रै हो त ? श्रेयको पूरै हिस्सा आफ्नो भागमा नपरेकैले घोक्रेठ्याक लगाइएका कुलमानको पुनःनियुक्तिमा देखिएको कार्यकारी प्रमुखको उदासीनता पनि अभियोग मात्र हो त ? नियमित बस्नुपर्ने बैठक पत्र दर्ता गरेर बसाउन बाध्य पार्नुपर्ने विधानको कुन चाहिँ बुँदामा उल्लिखित रहेछ ? देउवासँगको आधा घन्टाको गोप्य वार्ता संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्नकै लागि हो त ? तीन घन्टे वार्तामा आधा घन्टा चाहिँ किन एक्लाएक्लै बस्नु परेको होला ? जतिसुकै बँचाउका पुलिन्दा तयार गरे पनि यी प्रश्नले पलपल लखेटिरहने छन् सत्ताधारीहरूलाई । समस्या त कार्यकारी अध्यक्षसँग पनि कम छैनन् । सर्वोच्च पद फुत्काउन छँदाखाँदाको पार्टी विघटन गरेको, युद्धमा घाइते, बेपत्ता र शरीरमा गोलीका छर्रा बोकेर हिँडिरहेका साथीहरूको दुःखान्त तस्वीर दिमागबाट हटाइसकेको र अस्थिर मनस्थितिका कारण हिजोदेखि साथ दिएका कमरेडहरू बिस्तारै टाढिने गरेका कुरा घामझैं छर्लङ्ग छन् ।
राज्य व्यवस्था सुदृढ गर्नुपर्ने कि बदल्नु पर्ने ? यतिबेला देखिएका विद्रोह सही कि गलत ? के समाजवादी व्यवस्था यही हो त ? समाजवादी राज्यको चरित्र यस्तै हुन्छ ? यस्ता निर्मम सवालमा कार्यकारी अध्यक्ष अझै लकपकाउँछन् । यी सीमाबीच त्यत्रो तीन गुना बढी जनमत हासिल गरेको पार्टीले किन एकता गरेको रातारात ? अन्तमा, एक ॠषिसँग कल्कलाउँदो र भरभराउँदो युवक ज्ञान लिने पुनीत ध्येयले कुटीमा पुगेछन् । ज्ञानार्जनपश्चात् जब उनी गुरुदक्षिणा टक्रयाउने तरखर गर्दै थिए, गुरुले कुरा बुझि हाले र भने- ' मलाई गुरु दक्षिणामा त्यस्तो वस्तु दिनू जुन कहीँकतै कुनै काम नलागोस् ।' तसर्थ त्यस्तो वस्तुको खोजीमा तुरुन्त निस्कियो युवक । बाटोमा भेटिएका वनस्पति, ढुङ्गा, माटोजस्ता अनेक चिज ल्याउन खोज्यो । तर हठात् उसको कानमा गुञ्जेको प्रतीत हुन्थ्यो - 'ती सबै वस्तुहरू कुनै न कुनै कुरामा काम लाग्छन् ।' अन्तमा हैरान र क्लान्त भएर चौपारीमा सुस्ताउन लाग्दा अचानक कतैबाट आवाज आएझैं लाग्यो । आवाजले भन्यो - ' सृष्टिको हर पदार्थ आफैँमा उपयोगी छ । वास्तवमा व्यर्थ र तुच्छ त त्यो हो जो अरूलाई अपमान गर्छ, व्यर्थ र तुच्छ सम्झन्छ ।
व्यक्तिको त्यस्तो अहङ्कार नै एकमात्र यस्तो तत्व हो जसको कहीँकतै उपयोग हुँदैन । त्यसपछि ऊ हतारहतार गुरु समक्ष गएर भन्यो -' गुरुवर ! हजुरलाई म आफ्नो अहङ्कार र बडप्पन गुरु दक्षिणाका रुपमा अर्पण गर्न चाहन्छु ।' यस्तो शिष्य वाणी सुनेपछि गुरु हर्षले गदगद् भए । के राज्य सारथि यो युवकको गुरु दक्षिणाझैँ आफूलाई रुपान्तरण गर्न राजी हुन् त ? पृथक आर्थिक समूह जस्ता प्रतीत हुने कथित नेकपाको जबर्जस्त राजनीतिक रङ्ग दिइएको रडाको साम्य हुने वा नहुने भन्ने कुरा यसैमा अन्तरनिहित छ । अन्यथा 'होक्काँ गरेर आयो, ग्वाँ गरेर गयो' हुनेछ दुई पार्टीको अप्राकृतिक गठजोड ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij