२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । वैदेशिक रोजगारीमा जानुअघि रोजगारदाताले अभिमुखीकरण तालिम लिर्नैपर्ने व्यवस्था गरिएको छ । अभिमुखीकरण तालिम तीन दिन लिनुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।
उक्त विभागका अनुसार अभिमुखीकरणका लागि शुल्क ७०० रुपैयाँमात्रै निर्धारण गरिएको छ । योभन्दा एक रुपैयाँ नबढाइएको विभागद्वारा जारी विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ ।
अभिमुखीकरण तालिम तीन दिनका लागि मात्रै सञ्चालन हुने र तालिम शुल्क ७०० रूपैयाँ नै रहेको विभागले जनाएको छ । तीन दिने अभिमुखीकरण तालिम लागू भएपनि शुल्क एक रुपैयाँ नबढेको विभागले बताएको छ ।
अभिमुखीकरण शुल्क बढेर दुई हजार ८०० सय रूपैयाँ पुगेको भन्दै चौतर्फी आलोचना भएपछि विभागले विज्ञप्ति नै निकालेर स्पष्टीकरण दिएको हो । विभागले अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउन अधिकतम प्रयास गरिरहेको बताएको छ ।
तालिम प्रदायक संस्थाहरूलाई तोकिएको मापदण्ड अनुसार तालिम सञ्चालन गर्न आइरिस मेसिन जडान गर्न अनुरोध गरेको विभागले जनाएको छ ।
‘नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले हाल प्रचलनमा आएको बायोमेट्रिक हाजिरी मेसिन दुरूपयोग गरी नक्कली हाजिर गर्ने गरेको हुनाले आइरिस मेसिन जडान गर्न पटक पटक विभागलाई अनुरोध गरेको हो । प्रशिक्षार्थीहरूको बायोमेट्रिक थम्प हाजिरी प्रभावकारी प्रयोग नभएकोले सबै अभिमुखीकरण प्रदायक तालिम दिने संस्थाहरूले फेस टाइम एण्ड आइरिस रेकोनाइजेसन सिस्टम लागु गर्न निर्णय भएको हो,’ विज्ञप्तिमा भनिएको छ ।
असोज १५ गतेदेखि अनिवार्य रूपमा सबै तालिम प्रदायकले उक्त प्रणाली लागू गर्नुपर्ने विभागले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij