२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । गण्डकी प्रदेशको वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिनुअघि स्वतन्त्र सांसद दीपक मनाङेले दिएको अभिव्यक्तिले प्रदेश सभा बैठकमा प्रवेश पाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले गम्भीर विषय भएको भन्दै सत्तापक्षको जवाफ माग गरेको हो ।
माओवादी दल नेता हरिबहादुर चुमान र सांसद रेशमबहादुर जुग्जालीले बुधबारको बैठकमा मन्त्रालय किनबेचको विषय गम्भीर भएको भन्दै सत्तापक्षको जवाफ मागेका हुन् ।
पोखराका पत्रकार युवराज श्रेष्ठसँगको फोन कुराकानीमा उनले आफूले मन्त्रालय बेच्न लागेको बताएका थिए । यो अडियोले गत हप्ता बजार निकै ततायो ।
बुधबार प्रदेश सभाको बैठक सुरू हुनेबित्तिकै समय लिएर माओवादी सांसद रेशमबहादुर जुग्जालीले ‘मन्त्रालय बेच्ने’ भनेर दिइएको अभिव्यक्ति गम्भीर रहेको भन्दै सरकारमा रहेका दलको धारणा माग गरेका थिए ।
‘मन्त्रालय नै बिक्रीमा छ भनेर त्यो म्यासेज जानु कति गम्भीर छ । सरकार बोलेको सुनिएन । सरकारमा सहभागी दल बोलेको पनि सुनिएन । यो अवस्था गम्भीर छ,’ चुमानको भनाइ थियो ।
जवाफ दिने क्रममा सत्तापक्ष नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले संसदमा प्रवेश गराउनै आवश्यक नरहेको विषय ल्याइएको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij