२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशनमाथि अंकुश लगाइएको छ । कार्कीले गत आइतबार सामाजिक सञ्जालमार्फत आफ्ना माग सम्बोधन नभए संसद्मै अनशन बस्ने बताएका थिए ।
कार्कीले १० वर्ष मुनिका प्रदेशको बालबालिकाको प्रदेशमा निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयं सेवीहरूलाई प्रोत्साहन भत्ता, प्रदेशमा सञ्चालन भएको शैलजा आचार्य मुटु रोग उपचार केन्द्र सञ्चालन, सुनसरी र मोरङको ४ वटा पालिकालाई बाढी र डुबानबाट बचाउन केसलिया कारिडोर निर्माण हुनुपर्ने सरकारसमक्ष माग राख्दै आएका छन् ।
आफ्ना माग वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले पूरा गर्न तयार नभएपछि कार्की आज बेलुकी ४ः०० बजेदेखि अनिश्चित कालका लागि आमरण अनशन बस्नेछन् । त्यसअघि नै जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै केही स्थान निषेधित क्षेत्र घोषणा गरिएको छ ।
सूचनामा भनिएको छ, ‘विराटनगरलाई केन्द्रविन्दु बनाई हुनसक्ने अनशनलगायत विरोधका कार्यक्रमलाई मध्यनजर राखि उक्त गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार हाललाई मिति २०८१–०५–२५ गते १५ः०० बजेदेखि अर्को आदेश नभएसम्मको लागि निम्न स्थानहरुमा सर्वसाधारण तथा सवारी साधन आवत जावत बाहेक कुनैपनि किसिमको सभा, जुलुस, भेला, न्याली, धर्ना, प्रदर्शनी लगायत विरोधजन्य कार्यहरु गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) वमोजिम निषेध गरिएकोले सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यो आदेशको उलंघन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानून वमोजिम कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’
निषेधित क्षेत्र कायम गरिएका स्थानहरु :
१. प्रदेश सभा पूर्वमा देवकोटा चोक देखि पश्चिममा कोशी अस्पतालको चोक क्षेत्र ।
२. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय– रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र ।
३. मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र ।
४. प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र ।
५. जिल्ला प्रशासन कार्यालय, मोरङ– डाँफे चोकदेखि पूर्व ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij