२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । आइतबार मन्त्रालय फुटाएर सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
गत असार १७ मा सत्ता समीकरण फेरबदल भएपश्चात् साउनमा गण्डकी सरकार सञ्चालनबारे कांग्रेस–एमालेबीच सहमति भएको थियो । त्यतिबेला कांग्रेसले ४ र एमालेले ३ मन्त्रालय लिने सहमतिपत्रमा दुवै दलले हस्ताक्षर गरेका थिए ।
त्यसपछि भदौमा कांग्रेसले एक्लौटी ५ मन्त्रालय पाउनुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवा पक्षले २, संस्थापनइतर पक्षका नेता डा.शेखर कोइराला पक्षले १ र कृष्ण सिटौला पक्षले १ मन्त्रालय लिने सहमति भएको थियो । त्यतिबेला मुख्यमन्त्रीको गणना गरिएको थिएन ।
कांग्रेसले गरेको सो निर्णयको एमालेले घोर विरोध गरेको थियो । उसले पूर्वसहमतिलाई भदौको निर्णयले बाधा सिर्जना गरेको बताएको थियो । उसले पूर्वसहमति कार्यान्वयन गर्नुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेलाई दबाबसमेत दिएको थियो ।
तर, उनले मन्त्रालय फुटाएर भए पनि एमालेलाई भाग पुर्याउने बताएका थिए । सोही अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय फुटाएर दुवै दलको चित्त बुझाएका छन् ।
पाण्डे नेतृत्वको सरकारमा एमालेले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, कृषि, भूमी व्यवस्था तथा सहकारी, स्वास्थ्य मन्त्रालय र उद्योग तथा पर्यटन मन्त्रालय पाएको छ । यी मन्त्रालयमा क्रमशः प्रकाशबहादुर केसी, पद्मा जिसी, कृष्ण पाठक र मित्रलाल बस्यालले सम्माल्ने भएका छन् ।
एमालेलाई चार मन्त्रालय दिने सहमति बनेपछि मुख्यमन्त्री पाण्डेले मन्त्रालयको संख्या बढाएर ९ पुर्याएका थिए । सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट विन्दुकुमार थापा सामाजिक विकास, युवा तथा खेलकुद र डा. टकराज गुरुङ आर्थिक मामिलामन्त्री रहेका छन् ।
त्यस्तै कांग्रेसले स्वतन्त्र सांसद दीपक मनाङे र नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटालाई आफ्नो भागमा परेको मन्त्रालय दिएर सरकारमै राखेको छ ।
मनाङे र देवकोटालाई कांग्रेसको भागमा परेको मन्त्रालयमा नियुक्त गरेपछि डा.शेखर कोइराला पक्ष रुष्ट बनेको छ । उसको भागमा परेको एउटा मन्त्रालय गुमाएपछि कोइराला पक्ष रुष्ट बनेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij