२०८२ भाद्र १ गते आइतवार
गोरखा । दुल्लभ मा.वि. घ्याम्पेसालमा अध्यापनरत विद्यालयका सहायक प्रधानाध्यापक राजुबाबु नेपालीलाई विद्यालय व्यवस्थापन समितिसँग कुनै सल्लाह र सहमति नगरी सरुवा गरेको भन्दै गोरखाको भिमसेनथापा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा तालावन्दी गरिएको छ ।
गोरखाको भिमसेनथापा गाउँपालिका–१, मसेलस्थित उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रोशन गुरुङ्गको नेतृत्वमा शिक्षक र विद्यार्थीसहतिको उपस्थितिमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र कार्यकारी अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको हो ।
शिक्षक नेपालीको बारेमा विद्यालयको तर्फबाट गाउँपालिकालाई पत्र पठाएपनि त्यसको जवाफ दिनुको सट्टा उनलाई ताराखसेस्थित सिद्वकालि मा.वि.मा ‘जबर्जस्ती’ सरुवा गरिएपछि आफूहरु तालाबन्दी गर्न बाध्य हुनुपरेको भनाइ गुरुङको छ ।
सरुवाका सम्वन्धमा दुल्लभ मा.वि.को सवालमा मात्रै फरक व्यवहार गरिएपछि यस्तो किसिमको फरक व्यवहार र चलखेल विरुद्ध विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीको तर्फबाट तालाबन्दी गरिएको दावी व्यवस्थापन समितिका अध्यक्ष गुरुङको रहेको छ ।
यस विषयमा सहमतिको सम्भावनाबारे जिज्ञासा राख्दा उनले गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जरासँग यस विषयमा कुरा भएको र वार्ता र सहमतिबाट अघि बढ्न सकिने बताए । यस विषयमा आज गाउँपालिकासँग सहमतिको निम्ति वार्ता हुन लागेको जानकारी उनले दिए ।
सरुवा र तालावन्दीका विषयमा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जरा ‘अक्कल’सँग प्रतिक्रिया माग्दा सबै काम नियम कानून अनुसार भएकोले तालावन्दीको औचित्य नरहेको बताए । धेरै दरबन्दी भएको विद्यालयबाट थोरै दरवन्दी भएको विद्यालयमा पठाउनु कानूनसम्मत भएको र आफूले नियम कानून अनुसार नै काम गरेकोले यसमा कुनैपनि चलखेल नभएको र राजनीतिक प्रतिशोधका विषय नभएको उनले बताए ।
आफू नियम, कानुन र विधिअनुसार अघि बढेको भएपनि तालबन्दी भइसकेको अवस्थामा दुल्लभ मा.वि. व्यवस्थापन समितिसँग वार्ता र सहमतिको माध्यमबाट आफू अगाडि बढ्न तयार रहेको तर निमय र कानूनको पालना गर्नुपर्ने दायित्य सबैको रहेको उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij