२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । पदयात्रा व्यवसायीहरूको छाता सङ्गठन टानको नयाँ कार्य समिति चयनका निम्ति दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।
यही भदौ १७ गते हुन लागेको निर्वाचनका निम्ति आफ्नो २२ बुँदे घोषणापत्र सहित सागर पाण्डे समूह र राजेन्द्रप्रसाद सापकोटा समूहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
जुनसुकै क्षेत्रमा पनि राजनीतिले गाँजेको हाम्रो सन्दर्भमा टान अछुतो रहने कुरै भएन । दिनहुँजसो झरीले रूझिरहेको राजधानी दलीय चुनावकै छनक दिने गरी टानको चुनावी सरगर्मीले भने गर्माइरहेको छ ।
पर्यटन व्यवसायीहरूका अनुसार, पाण्डे समूहलाई काँग्रेस संस्थापनइतर समूह, नेकपा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी सम्बद्ध पर्यटन व्यवसायीसहित स्वतन्त्र पर्यटन व्यवसायीहरूको समेत समर्थन छ भने सापकोटा समूहलाई नेकपा एमाले र नेपाली काँग्रेस संस्थापन समूह समर्थित व्यवसायीहरूको समर्थन छ।
झन्डै २४०० पदयात्रासँग सम्बन्धित सङ्घ, संस्था रहे पनि जम्मा १४३८ ले मात्र नवीकरण गरेकाले उनीहरू मात्रै वैधानिक मतदाता हुने छन् र तिनले नै आगामी दुई वर्ष (२०२४-२०२६)का निम्ति आफूलाई लागेको सक्षम नेतृत्व छान्ने छन् । '२२ बुँदे घोषणापत्र घोकेर वा कुनै अज्ञातस्थलबाट प्राप्त नभई आफूहरूले अन्तस्करणबाटै अनुभूत गरेको छु । हामीले नेतृत्व गर्ने अवसर पाए सबैलाई साथमा लिएर भ्रष्टाचाररहित टान बनाउने अभियानमा सक्रिय ढङ्गले लाग्नेछु ।' पाण्डेले सञ्चारकर्मीसँग बताए । विपक्षीहरू अलिक बढी प्रेरित भएको उनको जिकिर छ । अत्यन्त भड्किलो र खर्चिलो टानको चुनावलाई मितव्ययी बनाउन भरमग्दुर कोसिस गर्ने पनि उनले बताए । उनको समूहमा वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा तामाङ, द्वितीय उपाध्यक्षमा भिटोफका पूर्व महासचिव निशेष थापा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने तथा सह-कोषाध्यक्षमा डम्बर अधिकारी प्रत्याशी छन् भने सदस्यहरूमा सृष्टि भण्डारी, अम्बिर गुरूङ, माधवकुमार धमला, विनोदकुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, शिवप्रसाद सिलवाल, उत्सव ढकाल र फुर्पुछिरिङ ल्होमीले उम्मेदवारी दिएका छन् ।
उता सापकोटा समूहमा वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा राजेन्द्रप्रसाद सुवेदी, सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले, सह-कोषाध्यक्षमा ल्हाक्पा रिन्जी शेर्पा छन् भने सदस्यहरूमा पवित्रा तामाङ, सागर राई, सुमन अर्याल, विश्व दाहाल, दिनेश तिम्सिना, राजु गुरुङ, छप्ते लामा, भुवनबहादुर खड्का र दावा लामा चुनावी मैदानमा प्रतिस्पर्धी छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij