२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । नेपाली काँग्रेस पेसागत तथा बुद्धिजीवी विभागले समाजवादी चिन्तक तथा नेपाली काँग्रेसका नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा ‘प्रजातान्त्रिक समाजवाद : वर्तमान र भविष्य’ विषयक एक विचार गोष्ठीको आयोजना गरी उनको व्यक्तित्व र योगदानको स्मरण गर्यो ।
नेपाली काँग्रेस पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख डा. डिला संग्रौला पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादव प्रमुख अतिथिको रुपमा उपस्थित हुनुुहुन्थ्यो । उहाँले समाजावदी चिन्तक गिरीको बिचार र सादगीपना अनुकरणीय रहेको बताउनुभयो ।
कार्यक्रममा प्रा. उद्धव सिग्देल, प्रा. कृष्ण खनाल एवम् नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले समाजवादी चिन्तक गिरीका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमकी सभापति डा. डिला संग्रौलाले स्वागत मन्तव्य राख्दै युवाले रोजगारी पाउनु, बिरामीले निःशुल्क उपचार पाउनु, कृषकले समर्थन मूल्यमा मल पाउनु, विद्यार्थीले निःशुल्क शिक्षा पाउने वातावारणको सिर्जना हुनुनै समाजवाद भएको बताउनुभयो ।
उहाँले गिरीसँग आफूले संसदमा सहकार्य गर्न पाएको अनुभव सुनाउँदै गिरीले बोल्न थालेपछि संसदमा सन्नाटा छाउने गरेको र सबैले उहाँको कुरालाई ध्यानपूर्वक सुन्ने गरेको प्रसंग कोट्याउनुभयो ।
सांसद भएपनि मन्त्री बन्ने लालसा कहिल्यै नराख्नुभएका गिरी बिचारका धनी र जनताको साँचो प्रतिनिधि भएको धारणा उहाँको थियो ।
कार्यक्रमका प्रमुख वक्ता उद्धव सिग्देलले बिपीको बिचारलाई लिपिवद्ध गर्ने काम समाजवादी चिन्तक गिरीले गर्नुभएको बताउनुभयो । वामपन्थीलाई समेत माक्र्सवाद पढाउने क्षमता राख्ने गिरी सर्वस्वीकार्य चिन्तक भएको उहाँको धारणा थियो ।
सोही कार्यक्रममा गिरी बारे टिप्पणी गर्दै प्रा. कृष्ण खनालले बुद्धिजिवी सत्ताको निर्देशनमा हिँड्न नहुने धारणा राख्नुभयो । बिचारले नेतालाई नैतिकता र सदाचारमा बाँध्ने भएकोले आजकाल नेताहरु बिचारभन्दा बाहिर रहनेगरेको उहाँको धारणा थियो । बिचारलाई प्रधान मानेर हिँड्ने नेताहरु पार्टीमा पछाडि पर्ने गरेको वास्तविकतालाई उजागर गर्दै उहाँले प्रदीप गिरी पनि यसको एक उदाहरण भएको बताउनुभयो ।
अर्का वक्ता नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले गिरीको स्मरण गर्दै पारिवार, आफन्त र नातागोताको दलदलमा समाजवाद बिलाएको धारणा राख्नुभयो । अहिलेको युग डिजिटल युग भएकोले सुन्ने होइन, देख्ने कुरा महत्वपूर्ण भएको धारणा उहाँको थियो । अहिलेको युवापुस्ता हरेक कामकाजलाई देख्न चाहने भएकोले अब देखिने गरी काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
डा. लोकनाथ दुलालले संचालन गर्नुभएको कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको परिजात हलमा सम्पन्न भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij