२०८२ भाद्र २६ गते बिहिवार
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको वक्यौता नतिर्ने उद्योगहरूमा विद्युत् काट्नु नहुने बताएका छन् । शनिवार नेपाल विद्युत् प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले डेडिकेटेड ट्रंकलाइनको वक्यौता रकम नतिर्ने उद्योगहरूको विद्युत् काट्नु नहुने बताएका हुन् ।
उनले सरकारले उद्योगीहरूले विद्युत् उपभोग गरेको रकम तिर्नुपर्दैन नभनेको भन्दै तिर्ने कुरा न्यायोचित छ वा छैन भन्नेकुराको जिम्मेवारी राज्यले लिनुपर्ने बताए । उनले वक्यौता रकम नतिर्ने उद्योगहरूलाई दण्ड, सजाय र जरिवाना गर्ने विकल्प हुँदाहुँदै एकैचोटी विद्युत् काट्नु नहुने बताए । उनले उद्योगको लाइन काटेर बस्नु भनेको एउटा घाँटी काट्नुसरह भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न निर्देशन दिए ।
उनले भने ‘ठिक छ, कहीँ कसैले बदमासी गरेको छ । दण्ड, सजाय हुन्छ । जरिवाना हुन्छ । तर दण्ड, सजाय, जरिवाना घाँटी काटेर हुँदैन । घाँटी काट्ने भनेको अन्तिम कुरा हो । एउटा उद्योगको लाइन काटेर बस्नु भनेको एउटा मान्छेको घाँटी काट्नु सरह हो ।’
उद्योगसँग आश्रित परिवार, उत्पादन र राजश्वको कुरापनि भएकाले पैसा नतिरेको खण्डमा कानुनको प्रयोग गर्नुपर्ने बताए । उनले सरकारले उद्योगले पैसा तिर्नु पर्दैन भनेर कहिल्यै नभनेको भन्दै दुष्प्रचार गरिएको बताए ।
मन्त्री खड्काले ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउने भन्दै सोही अनुरूप ऊर्जा क्षेत्रको स्रोत, साधन परिचालनमा सरकार लागेको बताए । उनले विद्युतको बढी उत्पादन भएसँगै उपभोगलाई पनि बढाउनुपर्ने बताए । उनले विद्युतको उपभोगलाई बढाउनका लागि बढी उपभोग गर्नेहरूलाई सहुलियत दिनुपर्ने बताए । उनले देशका सबै ठाउँमा चार्जिङ स्टेसन राख्नुपर्ने भन्दै नीतिगत रुपमा मिलाएर यसमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले नेपालभर विद्युतीय ट्याक्सी सञ्चालन गर्नेबारे सोचिरहेको बताए । उनले विद्युत् प्रसारण गर्ने तार कहीँ कतै पनि सिधा नदेखिएको भन्दै कसको कमजोरी हो ? भनी प्रश्न गरे । उनले विद्युतका खम्बाहरुपनि अव्यवस्थित रुपमा गाडिएको बताए । विद्युतको तार र खम्बाहरू अव्यवस्थित रुपमा राखिएको पाए सम्बन्धित शाखाका कर्मचारीहरूलाई विभागीय कारबाही गर्ने चेतावनी दिए । उनले विद्युत् प्राधिकरण नाफामा गयो भनेर धेरै बोनस नबाँड्न पनि प्राधिकरणलाई आग्रह गरे ।
राज्यमन्त्री तामाङले विद्युतको वक्यौता रकम नतिर्नेहरूसँग साँठगाँठ गरेर विद्युत् नजोड्न कर्मचारीलाई सचेत गराए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij