
२०८२ भाद्र ७ गते शनिवार
सम्मानिय प्रधानमन्त्रीज्यू !
यहाँले भर्खरै चौथोपटक आफ्नो कार्यकालको आरम्भ गर्नुभएको छ । यस सुखद अवसरमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।
पत्रको आरम्भमै भन्छु– ‘यो हजुरलाई मेरो खुलापत्र हो । बन्दी खामपत्र होइन ।’
पत्रको सुरूआत यसअघि यहाँको कार्यकालबाटै गर्छु– प्रधानमन्त्रीज्यू ! तपाईंको पहिलो, दोस्रो र तेस्रो कार्यकाल केही उत्साहजनक थियो भने केही निराशाजनक नै थिए । भलै त्यो समय तपाईंको सिकाइका पाटा थिए होला । तर, अहिले तपाईंलाई सिकारूको संज्ञा दिन मिल्दैन ।
म सम्झिन्छु– ‘राजनीति गर्नेहरू सत्तामा पुगेकै दिन सत्ता, शक्ति र सम्पत्तिभन्दा माथि उठ्न सक्दैनन् । उनीहरूलाई उल्लिखित कुराभन्दा अर्को प्यारो लाग्दैन जस्तो मलाई लाग्छ ।’
किनकि यहाँले चार–चारपटक प्रधानमन्त्री पद सम्हाली सक्नुभएको छ । यसका साथै लोकतन्त्र प्राप्तिका निम्ति दशकौँ लामो समय जेलजीवन विताइसक्नु भएको छ । यो सामान्य कुरा होइन र थिएन । खैर यता नजाऊ प्रधानमन्त्रीज्यू ! योपटक फेरी देशको मुहार फेर्ने जिम्मा तपाईंकै काँधमा आएन र ?
हुन त म व्यक्तिगत रूपमा राजनीतिबाट निकै अलग छु । मलाई राजनीति खास मन पर्दैन । किनकि म सम्झिन्छु– ‘राजनीति गर्नेहरू सत्तामा पुगेकै दिन सत्ता, शक्ति र सम्पत्तिभन्दा माथि उठ्न सक्दैनन् । उनीहरूलाई उल्लिखित कुराभन्दा अर्को प्यारो लाग्दैन जस्तो मलाई लाग्छ ।’
फेरी प्रश्न गर्छु– ‘म राजनीतिबाट अलग छु र राजनीति गरेरै कार्यकारी पदमा पुगेका र देशको मुहार फेर्ने जिम्मा पाएकाहरूलाई यस्तै गैरराजनीकि प्रश्न गर्न मन लाग्छ ।
कारण– देशमा व्याप्त बेरोजगार, अशिक्षा, विदेश पलायनजस्ता समस्या हाम्रो कारणले नभई तपाईंजस्तै देश हाँक्नेले उब्जाएको चुनौती होइन र ? यो त तीतो सत्य हो नि– प्रधानमन्त्रीज्यू !
मलाई माथिका समस्या हल गर्ने फलाना, ढिस्काना पार्टीको यही नेता हुनुपर्छ भन्नूँ छैन । जसले देशको हित चहान्छ र ऊ नै कार्यकारी अर्थात् प्रधानमन्त्री बनोस् भन्ने ठान्छु । र, माथि पंक्तिमा उल्लेखित समस्या समाधान गरोस् भन्ने चहान्छु ।
जसले जसरी देशमा मौलाएको भ्रष्टाचार, विकृति, विसंगति, बलात्कार, हत्या, हिंसा रोक्न सकोस् । त्यस्तो प्रधानमन्त्री, मन्त्री देशलाई चाहिएको हो । मलाई चाहिएको होइन । म यो देशको सच्चा नागरिक हुनुको नाताले यहाँलाई यो सुझाव हो– प्रधानमन्त्रीज्यू !
प्रधानमन्त्रीज्यू ! पत्र लामो हुनसक्ला । तर, यो तपाईंले सुझावको रूपमा लिनुहुनेछ भन्ने आशा लिएकी छु । किनकि तपाईं हाम्रो देशको प्रधानमन्त्री हुनुहुन्छ । हाम्रो अभिभावक भन्नू नै तपाईं होइन र ?
म युरोप, अमेरिका, अष्ट्रेलिया जस्ता सभ्रान्त मुलुक जस्तो नेपाल भईदेओस् पनि भन्दिनँ । तपाईंको कार्यकालमा कमसेकम भारतको नयाँ दिल्ली, मुम्बूई नभए हाम्रै देशको बाँके सीमा नजिकै लखनऊ जस्तो बनाउनुहोस् । म यही चहान्छु । अहिले नै चीन पुग्नु छैन मलाई– प्रधानमन्त्रीज्यू ! किनकि नेपाल चीनजस्तै बन्न तपाईंको पालामा सम्भव छैन ।
प्रधानमन्त्रीज्यू ! तपाईंबाट देश बनोस् यही चहान्छु । तर, कताकता मलाई शंका छ– तपाईं र तपाईंको मन्त्रिमण्डलका मन्त्रीहरू र कर्मचारी (अधिकृत, सचिव)हरू सदा खुसी हुने ? अनि हामी जनता सधैँ दुःखी !
फर्केर डोटी, डडेलधुरा, जाजरकोट, डोल्पा हेर्नुहोस्– प्रधानमन्त्रीज्यू ! वास्तविक नेपाल त्यहाँ छ । उनीहरूको आँसु, रोदन, दुःख, पीडा जहाँको त्यही छ । अर्को नेपाल दुख्ने सचित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर हेर्नुहोस्– प्रधानमन्त्रीज्यू ! देश छोड्नेको लर्को देख्नु भयो भने नेपालै सरे जस्तो भान हुन्छ ।
यो त भयो, तपाईंकै अगाडिको देश ! फेरी तपाईकै क्याविनेटमा हेर्ने हो भने रमिता देखिन्छ– प्रधानमन्त्रीज्यू ! बारबार मन्त्री फेरिनु, थपिनु, कर्मचारीको सरुवा, बढुवा अनौठो खेल । देशको अधोगतिको अर्को पर्याय यो पनि हो ।
प्रधानमन्त्रीज्यू ! पत्रको अन्तमा– राजनीति पद धारण गरेर प्रधानमन्त्री, मन्त्रीजस्तो गरिमामय पदमा पुग्दा देशका लागि सोचेर मौलाएको विकृती र भ्रष्टाचार रोकेर देशको लागि गर्नुपर्ने कामहरू गर्नुहोस्, योभन्दा महान् कार्य अरू हुनै सक्दैन । यो हरेक नेपालीको चाहना हो । यो मानवीय जीवन तपाईंका लागि जति अमूल्य, अतुल्य छ । ठीक त्यसरी नै सबै देशबासीको पनि छ ।
स्मरण रहोस्, पुर्खाहरूको योग्दानलाई साँची राख्दै देशका लागि त्यस्तै योग्दान गर्नुहोस् । तपाईकै पालामा बन्ने छ– ‘सुखी नेपाली, समृद्ध नेपाल !’
तपाईंको शुभेच्छुक
सुजना सिम्खडा, काठमाडौं ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij