Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

झन् बढ्यो डिजेल–पेट्रोलको आयात

झन् बढ्यो डिजेल–पेट्रोलको आयात


  • 2.4K
    Shares

    झन् बढ्यो डिजेल–पेट्रोलको आयात

    वीरगन्ज । गत वर्ष डिजेल र पेट्रोलको आयात झन् बढेको पाइएको छ । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भएर आउने डिजेल र पेट्रोल दुवै बस्तुको आयात अघिल्लो आर्थिक वर्षभन्दा पनि बढेको पाइएको हो ।

    डिजेल ४३ हजार १४ किलोलिटर र पेट्रोल ५ हजार १२ किलोलिटर बढी आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । जबकि, अघिल्लो आव २०७९–०८० मा नेपालमा कुल १० लाख ४० हजार ५ सय ६ किलोलिटर मात्र डिजेल पैठारी गरिएको थियो । तर, गत आव २०८०–०८१ मा कुल १० लाख ८३ हजार ५ सय २० किलोलिटर डिजेल पैठारी भएको वीरगन्ज भन्सारको तथ्यांकले पुष्टि गरेको छ । यो भनेको गत आवभन्दा ४३ हजार १४ किलोलिटर बढी हो ।

    पेट्रोल पनि गत वर्षमा ३ लाख ९४ हजार ७ सय २३ किलोलिटर आयात भएको छ । जबकि अघिल्लो आव कुल ३ लाख ८९ हजार ७ सय ११ किलोलिटर पेट्रोल मात्र आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थीले बताए ।

    मुलुकबाट डिजेल मात्र पैठारी गर्दा गत आवमा मुलुकबाट १ खर्ब ९ अर्ब २९ करोड १० लाख ५ हजार रुपैयाँ रकम बाहिरिएको छ । यो रकम रोक्न मुलुकभित्र नीतिगत सुधार आवश्यक पर्ने पन्थीले तर्क गरे ।

    ‘अघिल्लो आवमा डिजेलको परिमाण कम आयात भए पनि रेटका कारणले लागतचाहिँ झन् बढी अर्थात् कुल १ खर्ब १३ अर्ब ५८ करोड ३२ लाख ८० हजार बाहिरिएको थियो,’ उनले भने, ‘गत वर्ष अघिल्लो वर्षजस्तो दररेट भएको भए झन् बढी रकम बाहिरिन सक्थ्यो ।’

    राजस्वतर्फ भने डिजेलबाट ४३ अर्ब ३५ करोड ६३ लाख ७७ हजार रुपैयाँ रकम संकलन भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख पन्थीले बताए । ‘व्यापार घाटाको सन्तुलन गर्ने कुरा त निकै गाह्रो छ, तथापि राजस्वको लक्ष्यमा भने डिजेल, पेट्रोल र ग्यासको कुल योगदान यस भन्सारको संकलित राजस्वमा कुल ४५ दशमलव ४५ प्रतिशत रहेको छ,’ पन्थीले भने ।

    वीरगन्ज भन्सार कार्यालयबाट आयात हुने टप २० मालवस्तुमध्ये सबैभन्दा बढी राजस्व आउनेमा डिजेल १ नम्बर र पेट्रोल २ नम्बरमा भएको तथ्यांकले देखाएको छ । मुलुकको प्रमुख भन्सार नाकासमेत मानिएको वीरगन्ज भन्सार कार्यालयको गत वर्षको संकलित राजस्वको कुल हिस्सामध्ये डिजेल आयातबाट मात्र २७ दशमलव ५५ प्रतिशत योगदान पुगेको तथ्यांकले देखाएको छ ।

    मुलुककै प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालयले गत आव २०८०–०८१ मा संकलन गरेको कुल राजस्व १ खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजारमा डिजेलबाट संकलित राजस्वको योगदान मात्र २७ दशमलव ५५ प्रतिशत रहेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख पन्थीले बताए ।

    यसैगरी, डिजेलपछि १४ दशमलव ३४ प्रतिशत योगदान पेट्रोलको रहेको उनको भनाइ छ । उनले पेट्रोलबाट मात्र २२ अर्ब ५६ करोड ४८ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको बताए ।

    वीरगन्ज भन्सार कार्यालयले गत आव अघिल्लो आवभन्दा २४ करोड ८२ लाख ७ हजार रुपैयाँ बढी राजस्व संकलन गर्न सकेको छ । तथापि, राजस्वको कुल लक्ष्य भने भेट्टाउन नसकेको तथ्यांकले देखाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    प्रकाशित मिति :श्रावण २२ २०८१ मंगलवार - ०६:००:२० बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij