२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । 'नागार्जुन विशिष्ट व्यक्तित्व' सम्मानद्वारा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सम्मानित भएका छन् । दोस्रो कार्यकाल अध्यक्षको भूमिका निर्वाह गरिरहेका ग्याल्जेन राजनीति मार्फत समाज सेवा गरिरहेका छन् ।
नागार्जुन वाङ्मय प्रतिष्ठानले गैर-साहित्यकारलाई अर्पण गरेको यस्तो प्रकृतिको सम्मान पहिलोपटक भएको प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले जानकारी दिए । सिफारिस उपसमितिले गरेका तीन जना व्यक्तित्वहरूमध्येबाट समितिको बैठकबाट सर्वसम्मत शेर्पालाई चयन गरिएको उनले अवगत गराए ।
पौडेलले यसखाले सम्मान अब नागार्जुनले नियमित रूपमा गर्ने पनि बताए । कमसल मान्छेहरूबिच असल मान्छेहरू पनि भएकाले तिनलाई प्रोत्साहित गर्न नागार्जुन किमार्थ नचुक्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
सम्मान ग्रहणपछि आफ्नो अभिव्यक्ति राख्ने सिलसिलामा सम्मानित अध्यक्ष शेर्पाले निर्धन मान्छेहरूले औषधोपचारको बिल तिर्न नसक्ने भन्दै त्यतिखेर राज्य कहाँनेर उपस्थित छ भन्ने प्रश्न तेर्स्याउँदै त्यसैका निम्ति आफूले दीर्घ रोगीलाई निःशुल्क औषधोपचार व्यवस्था गरेको जिकिर गरे । उपस्थित साहित्यकार तथा साहित्यानुरागीहरूलाई लक्षित गर्दै यो बेथितिको केही न केही अंश साहित्यकारहरू पनि भएको उनको तर्क थियो ।
अरू बेला जतिसुकै आदर्शका कुरा गरे पनि चुनाव आउनासाथ आफ्नो विचारधारा भएको दललाई लुसुक्क भोट हाली जस्तोसुकै उम्मेदवार भए पनि जिताउने गरेको उनको कथन थियो । यसर्थ राष्ट्र बिगार्ने खेलमा जान-अन्जान सबैभन्दा बढी शिक्षित र धनी वर्ग लागेको उनको नम्र आरोप थियो । उनले आफूले एकल पुरुषलाई मासिक वृत्तिको व्यवस्था गरेको र संस्कृत तथा सम्भोटा भाषाको प्रवर्धनमा दिलो ज्यान दिएको भन्दै अन्यथा कुनै बेला तिब्बतबाट लामागुरु र जर्मनीबाट पण्डित झिकाउनु पर्ने अवस्था नआउला भन्ने निश्चित नभएको दलिल पेस गरे ।
कार्यक्रममा प्रमुख अभ्यागतको हैसियतमा उपस्थित बलराम तिमल्सिनाले नेपाली साहित्यकारमा के लेख्ने भन्ने विषय अलमल रहेको भन्दै अक्षरको जुलुस निकाल्दैमा साहित्य नहुने जिकिर गरे । साहित्यकार समाजका मामुली मान्छेको पक्षधर हुनुपर्ने दाबी गर्दै तिमल्सिनाले तबमात्र साहित्यले मूल काम गर्न सक्ने बताए ।
खेमराज पोखरेललगायत दुई दर्जनभन्दा बेसी साहित्यकारले आआफ्ना सिर्जना वाचन गरेको सो कार्यक्रममा चर्चित नियात्राकार राजेन्द्रमान डङ्गोलकृत नियात्रासङ्ग्रह 'बादलडाँडा'को परिचर्चा पनि भएको थियो । टिप्पणीकार विनोद मन्जनले कृतिका सबल र दुर्बल पक्षबारे आद्योपान्त औँल्याए ।
कृतिकार डङ्गोलले आफूले आजसम्म मूलपाटोमा टिप्पणी गरी समाधान दिनसक्ने टिप्पणीकार नभेटेको दुखेसो गरे । आवरण र वर्णविन्यासजस्ता प्राविधिक पक्षलाई उजागर गर्ने समालोचक बग्रेल्ती भेटेको तर नियात्राको नवीन विश्व लेखन कतातिर उन्मुख छ भन्नेबारे आफूले कसैबाट सल्लाह पाउन नसकेको उनको गुनासो थियो ।
प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममको सहजीकरण महासचिव युवराज नास्तिकले
गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij