Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

धर्म संस्कृति

साउनमा ब्रत एवं उपवासको महिमा, साउनमा माछामासु खानु हुन्न ? यस्ता छन् कारण

साउनमा ब्रत एवं उपवासको महिमा, साउनमा माछामासु खानु हुन्न ? यस्ता छन् कारण


  • 4.0K
    Shares

    साउनमा ब्रत एवं उपवासको महिमा, साउनमा माछामासु खानु हुन्न ? यस्ता छन् कारण
    images

    काठमाडौं । साउनलाई हरियालीको महिनाका रुपमा लिइन्छ । यसलाई शाकाहारी महिना भनेर पनि चिनिन्छ। साउन महिनालाई हामी पूजा–आराधना, भक्ति–किर्तनको महिना पनि भन्छौं ।

    साउनमा विशेषगरी हिन्दु धर्मावलम्बी नारीहरूले हातमा मेहन्दी हरियो, पहेँलो चुरा र हरियो पहिरन लगाउने चलन छ ।धार्मिक मान्यतासँग जोडेर हेर्दा साउनलाई भगवान् शिवको प्रिय महिनाका रूपमा लिने गरिन्छ । त्यसैले यस महिना सनातन धर्मावलम्बीहरूले विशेष पूजाआरधाना गर्ने गर्छन् ।

    यो साउने संक्रान्ति, बोलबम र भगवान् शिवको आराधना साथै उपवासको महिना हो । पूर्वीय दर्शनअनुसार साउन महिनामा भगवान् शिवको आराधना गर्ने, उपवास बस्ने, शिवलिङ्गमा जल अर्पण गर्ने गरिन्छ ।

    धार्मिक मान्यताअनुसार, साउनको सोमबार ब्रत बस्ने र शिवलिङ्गमा जल चढाउनाले घरमा सुख समृद्धि मिल्छ । भलै नयाँ पुस्तालाई यी कुरा धार्मिक आडम्बर लाग्न सक्छ । यो केवल परम्परा मात्रै लाग्न सक्छ । तर, धार्मिक परम्परासँग जोडिएर आएका यी कुराहरूसँग विज्ञान पनि जोडिएर आएका मानिन्छ ।

    असारको चटारो सक्न नभ्याउँदै साउन आउँछ । यतिबेला खेती किसानी गर्नेले बाली लगाएर विश्राम लिन्छन् । खेतीपातीको चटारोबाट विश्राम लिँदै मनलाई धर्मकर्ममा लगाउने गरिन्छ । धार्मिक आस्थाका रूपमा मात्र होइन, हाम्रो जीवन पद्धतिसँग जोडिएका कुरा हुन् यी ।

    किन ब्रत बस्ने ?

    साउनमा ब्रत एवम् उपवास बस्नु भगवानलाई खुसी तुल्याउन मात्रै होइन । आफ्नो मनोकांक्षा पूरा गराउन मात्रै होइन । यी त आस्थाका कुरा भए ।

    विज्ञानको कुरा अर्कै छ । भनिन्छ, बर्खायाममा हाम्रो पाचनयन्त्र कमजोर हुन्छ । पानीलगायत विभिन्न खाद्य पदार्थका कारण पेटमा जीवाणु फैलिने र झाडापखाला लाग्ने सम्भावना हुन्छ । अर्कोतिर हाम्रो शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ । यसबेला उपवास बस्दा शरीरलाई फाइदा गर्छ ।

    झाडापखलाको संक्रमण यही महिनामा बढी फैलने गर्छ । त्यसैले वर्षायाममा हेपाटाइटिस, हैजा, ग्यास्ट्राइटिस, र विभिन्न भाइरल रोग देखा पर्छन् । वर्षा र ओसिलो मौसमले यस्ता संक्रमण फैलने भय दोब्बर बढाइदिन्छ । यस्तो अवस्थामा खानपानप्रति सर्तक हुनैपर्छ ।

    यो संस्कारको विकास किन भयो होला भनेर अनुमान गर्ने अर्को पाटो पनि छ । हामी खेती किसानीमा आश्रित छौं । यति बेला अन्नबाली लगाइसकेको बेला हो । र, भकारी रित्तिने बेला पनि । पुर्खाहरूले यस बेला खाद्य संकट पनि भोगे होलान् । त्यसैले अन्नपात जगेडाका लागि पनि उपवास एउटा राम्रो विकल्प हुनसक्छ ।

    ब्रतको तौर-तरिका

    उपवास बस्ने विभिन्न विधी छन् । निराहार उपवास बस्ने चलन पनि छ । साथसाथै ताजा फलफूल खाएर पनि उपवास बस्ने गरिन्छ । कतिपयले पानी समेत नपिइ उपवास बस्छन् । कतिपयले सुपाच्य खानेकुरा खान्छन् । माछामासु, वासी र अन्न सेवन गर्दैनन् । फलफूल एवं जुस पिएर बस्छन् ।

    किन माछामासु नखाइएको होला ?

    धार्मिक मान्यताअनुसार यस महिनामा मदिरा र मासुको सेवनले मानिसको भविष्यमा नराम्रो असर पार्छ । धर्म मात्र होइन, विज्ञानले पनि साउनमा तामसिक पदार्थ अर्थात मदिरा, मासु, तेल, मसला आदिको प्रयोग कम गर्नुपर्ने मान्यता राखेको छ ।

    साउनमा धेरैले माछामासु खाँदैनन् । कतिले सोमबार अन्न समेत खाँदैनन् । यसको आफ्नै धार्मिक तर्क छ ।

    आयुर्वेदका अनुसार साउनमा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । मदिरा, मासु, तेल र मसालेदार खानेकुराको सेवनले हाम्रो पाचन प्रणालीलाई तनाव दिन्छ किनभने यी पचाउन गाह्रो हुन्छ । कमजोर पाचन शक्तिका कारण मांसाहारी खाना आन्द्रामा सड्न थाल्छ । यसले इम्युनिटीमा पनि नराम्रो असर गर्छ । एक हिसाबले नन-भेज र मसालेदार खानाले रोग निम्त्याउन सक्छ ।

    मासुमंसमा जीवाणु फैलने, कुहिने, सड्ने हुन्छ । त्यहीकारण यसबेला मासु त्यति हितकर मानिँदैन । वर्षायाम भनेको धेरैजसो पानीमा पाइने जीवहरूको प्रजननको महिना हो ।

    पहिलेको जमानामा माछालाई व्यावसायिक रूपमा छुट्टै पोखरीमा पाल्ने र खान प्रयोग गर्ने चलन थिएन । प्राकृतिक नदीहरू र खोलामा पाइने सीमित माछा प्रजनन महिनामा खाइदिए अर्को वर्ष संख्या घट्ने वा लोप हुने डर हुन्थ्यो ।

    साउन पशुको स्वास्थ्यका लागि पनि राम्रो हुँदैन । जनावरहरूले खाने घाँस र झारसँगै तिनीहरूले अन्जानमा धेरै विषालु कीराहरू निल्छन् । जसका कारण पशुपंक्षी बिरामी पर्छन् । उनीहरूको शरीरमा संक्रमण फैलिन्छ । यस्ता जनावरको मासु मानव शरीरका लागि निकै हानिकारक साबित हुन्छ ।

    कस्तो खानपान उपयुक्त ?

    यसबेला सात्त्विक भोजन एवम् हल्का, सु-पाच्य खानेकुरा खानुपर्ने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहत दिन्छ । साउनमा खीरलगायत दूधजन्य परिकार खाने गरिन्छ ।

    साभार : एजेन्सीहरूको सहयोगमा 

    प्रकाशित मिति :श्रावण ८ २०८१ मंगलवार - १४:१०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij