२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । गत १३ असारमा सार्वजनिक माध्यमिक शिक्षा परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग (रिटोटलिङ) गर्दा थप ९४ जना परीक्षार्थीले ४ जीपीए ल्याएको पाइएको छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा सार्वजनिक गर्दा १८६ जनाले मात्र ४ जीपीए ल्याएका थिए । परीक्षामा सहभागीमध्ये करिब ४८ प्रतिशत मात्र ११ पढ्न योग्य भएका थिए भने ५२ प्रतिशत अनुतीर्ण भएका थिए ।
परीक्षा नियन्त्रण कार्यालयले पुनर्योग गर्न दिएको समयमा १९ हजार ६०० विद्यार्थीले आवेदन दिएका थिए । जसमध्ये ९ हजार ६४६ जनाको कार्यालयले पुनर्योगको नतिजा सार्वजनिक हुँदा थप ९४ जनाको ४ जीपीए आएको कार्यालय स्रोतले जानकारी दिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले विद्यार्थीको उत्तरपुस्तिका परीक्षणमा कुनै कमजोरी नभएको र विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क कम्प्युटरमा चढाउने (इन्ट्री गर्ने) क्रममा कमजोरी भएको जानकारी पाएको बताए ।
‘नियन्त्रकज्यूले जानकारी दिए अनुसार कपी इक्जामिन सही ढंगले भएको तर नम्बर कम्प्युटरमा इन्ट्री गर्ने क्रममा कमजोरी भएको छ’, उनले भने, ‘६८ अंकलाई ०८ चढाइएको, ७७ लाई ११ चढाइएको पाइएको भन्ने छ अंग्रेजी अंकमा नबुझेर त्यसरी गल्ती भएको हो कि भन्ने बुझिन्छ अक्षरमा लेखिएकोलाई ध्यान नदिएको पाइयो ।’ कम्प्युटरमा अंक टाइप गर्ने प्राविधिकको कमजोरीले पुनर्योगको नतिजामा फरक आइरहेको प्रवक्ता दाहालको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij