२०८२ भाद्र ७ गते शनिवार
केही महिनाअघि काठमाडौं महानगरपालिकाले नयाँ सडक क्षेत्रबाट पार्किङ सेवा हटाएर धरहरामा सार्ने निर्णय गरेपछि संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच सुरु भएको द्वन्द्वको साम्य नहुँदै अहिले पुन: अर्को द्वन्द्व चर्कियो। काठमाडौं महानगरपालिकाले जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको सडकमा फुटपाथ फराकिलो बनाउन सडक भत्काएपछि संघीय सरकार मातहतमा रहेको सडक विभागले रोक्न खोजेपछि यो द्वन्द्वको बिजारोपण भएको थियो । दैनिक एक लाखभन्दा बढी पैदलयात्रीले आवतजावत गर्ने यो सडकको फुटपाथ बढाउने विषयलाई लिएर दुवै सरकारबीच चर्किएको द्वन्द्व अहिले पनि टुंगोमा पुग्न सकेको छैन् ।
माथि उल्लेखित घटना एउटा प्रतिनिधि उदाहरण मात्रै हो । यस्ता विवाद काठमाडौं महानगरपालिकासँग मात्रै नभएर अन्य स्थानीय तहबीच पनि हुने गरेको पाइन्छ । थुप्रै विषयहरु अधिकार प्रयोगका दृष्टिले विवादित भएका छन् । संविधानले केन्द्रीय, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको परिकल्पना गरेको छ । तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरेर हातेमालो गर्दै अगाडि बढ्नु पर्नेमा एकले अर्कालाई अवज्ञा र निषेध गर्दै जानु दुर्भाग्यपूर्ण छ।
क्षेत्राधिकारसम्बन्धी संवैधानिक अस्पष्टता, स्थानीय तहमा अधिकार हस्तान्तरणमा केन्द्र सरकारको ढिलाइ र अधिनायकवादी सोच र स्थानीय जनप्रतिनिधिको अहंकार तीन तहका सरकारबीचको द्वन्द्वको कारण बनेको देखिन्छ । अर्कोतर्फ स्थानीय जनप्रतिनिधिले अधिकारको दुरुपयोग गरे कस्तो कारबाही हुन्छ भन्नेमा संविधान नै मौन छ । जसका कारण केही स्थानीय जनप्रतिनिधिहरु बेलगाम घोडा जस्तै बनेका छन् ।
माथि उल्लेखित घटनाले एकातिर जनतामा निराशा पैदा गरेको छ भने अर्कोतिर वर्तमान व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको छ ।
यद्यपि धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण र विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार आसपासका क्षेत्रहरूमा पार्किङ सेवा हटाउने र फुटपाथ बढाउने महानगरको निर्णयलाई दूरदर्शी कदमका रूपमा लिन सकिन्छ । विकसित देशहरूले विकास गरेका केही पैदल यात्रु सडकहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ। जसबाट ती पैदलयात्री सडकहरूले त्यहाँको अर्थतन्त्रमा कस्तो योगदान पुर्याएको छ भन्ने प्रष्ट हुन्छ । वातावरणीय दृष्टिकोणले पनि यस क्षेत्रलाई सफा र प्रदुषणमुक्त राख्न पार्किङ सेवा मात्र नभई सवारी साधनको आवतजावतमा समेत निषेध गरी पूर्ण 'पैदलयात्री' सडकका रूपमा विकास गर्न आवश्यक छ । यस कार्यले यस क्षेत्रमा थप पर्यटक आकर्षित गर्न र पर्यटन विकास प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । साथै पर्यटनको विकाससँगै देशको आर्थिक विकासमा थप टेवा पुग्ने छ ।
पार्किङ सेवा बन्द हुँदा वा सवारी साधन सञ्चालनमा रोक लगाउँदा व्यापार घट्छ भन्ने व्यवसायीमा रहेको भ्रमलाई तोड्न जरुरी छ । उक्त क्षेत्रमा यातायातको साधनको आवातजावतमा निषेध गरी पैदलयात्रु सडकमा रुपमा विकास गर्न सके पैदल यात्रीको संख्यामा वृद्धि हुनको साथै व्यापार व्यवसायमा पनि बृद्धि हुनेछ । विश्वमा यस्ता धेरै उदाहरण छन्, जसले पैदलयात्री सडकको विकास गरी लाखौं विदेशी पर्यटक भित्र्याएर करोडौं रुपैयाँ कमाउन सफल भएका छन् । जसको ज्वलन्त उदाहरण हो चीनको ‘सांघाईको नान्जिङ स्ट्रिट’ यात्री सडक, जसले कुल वार्षिक ११.६ बिलियन युआन अर्थात् १.६ बिलियन यु. एस. डलर को वार्षिक व्यावसायिक कारोबार गर्ने अनुमान गरिएको छ भने त्यहाँ झण्डै १.३ मिलियन मानिसहरू पैदल यात्रीको रूपमा सप्ताहन्तमा भ्रमण गर्छन् ।
यस्ता सडक निर्माण गर्नुको उद्देश्य आर्थिक लाभ लिनु मात्रै नभई धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नु पनि हो । सन २०१२ मा निर्मित, संसारको सबैभन्दा प्रसिद्ध पैदल यात्री सडक, प्रदर्शनी रोड लाई यसको ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ, जहाँ विश्वबाट ठूलो सङ्ख्यामा पर्यटक घुम्न आउँछन् । भिक्टोरिया, अल्बर्ट संग्रहालय, विज्ञान संग्रहालय र प्राकृतिक इतिहास संग्रहालय जस्ता धेरै प्रमुख कला संग्रहालयहरू पनि यसै सडक भित्र अवस्थित छन् ।
यसका साथै यस्ता पैदलयात्री सडकको विकासले धुलो र धुवाँको उत्सर्जन घटाएर सहरलाई वातावरणीय दृष्टिकोणले सफा र सुरक्षित राख्न समेत मद्दत गर्छ । अर्कोतर्फ, ट्राफिक जाम नहुने हुँदा, यसले यात्रुहरूलाई सुरक्षित राखेर उनीहरूको दैनिक दिनचर्याबाट विश्राम लिने ठाउँ प्रदान गरी मानिसहरूको तनाव कम गर्न समेत मद्दत गर्छ । सहरबासीलाई आफ्नो शहर वा शहरको बारेमा सकारात्मक धारणाको विकास गराउँछ । पैदलयात्रीमैत्री सडकको विकाससँगै यो क्षेत्र आकर्षक र सुन्दर देखिन्छ, जसले आवासीय र व्यावसायिक स्थानको माग पनि बढाउँछ । यसको अतिरिक्त, मानिसहरूलाई आफ्नो सवारी साधन चलाउनुको सट्टा हिड्न प्रोत्साहित गर्नेछ, धुलो र धुवाँको उत्सर्जन कम भएसँगै यसले जनस्वास्थ्यमा पनि सुधार ल्याउन मद्दत गर्छ । यसबाट आगन्तुकहरूले आफ्नो समयको भरपुर आनन्द र फाइदा लिन सक्छन् । त्यस्ता क्षेत्रमा पैदल यात्रुको बढ्दो आवतजावतले पसल, रेष्टुरेन्ट र अन्य व्यवसायको विस्तार हुन गई आर्थिक गतिविधि अझ बढाउन सहयोग पुर्याउँछ ।
त्यति मात्र होइन पैदल यात्री सडकको विकासले पुराना कलाकृतिहरूको नमूनाहरू संरक्षणमा समेत मद्दत पुर्याउँदछ । ‘बुकानन स्ट्रिट’ (ग्लासगो, स्कटल्याण्ड), र ‘क्यानमेन स्ट्रिट’ (बेइजिङ, चीन) यसका ज्वलन्त उदाहरण हुन् । ’बुकानन स्ट्रीट’ले डिपार्टमेन्ट स्टोरहरू र सडक कलाकारहरूको जीवन्त संग्रहका साथै राम्रोसँग संरक्षित भिक्टोरियन र एडवर्डियन वास्तुकला प्रदर्शन गर्दछ, जबकि क्वानमेन स्ट्रिट ९बेइजिङ, चीन० ले परम्परागत चिनियाँ वास्तुकला र मिङ र छिङ राजवंशहरूको इतिहास ९१३६८–१९११० देखाउँछ । साथै यो बेइजिङको नयाँ र पुरानो कलाको समिश्रणको प्रतिबिम्ब पनि हो ।
हाम्रो मुलुक आफैमा पनि धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदाका हिसाबले धनी छ । हाम्रो देशका धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण स्थलहरु स्वयम्भू, हनुमानढोका, पाटन र भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र, चाँगुनारायण र बौद्ध स्तुपा उपत्यका भित्र र उपत्यका बाहिर लुम्बिनी, सगरमाथा र चितवन गरी कुल १० स्थानहरु विश्व सम्पदा सूचीमा सूचीकृत भइसकेका छन् भने अन्य केही स्थान सूचीकरणको प्रक्रियामा छन् । यी नेपालका मात्र नभएर विश्वकै अमूल्य निधिका रुपमा रहेका छन् । यो हाम्रो लागि गौरवको विषय हो । यी क्षेत्रहरुको संरक्षण र सम्बर्द्धनमा सरकारले विशेष ध्यान दिन जरुरी छ ।
यस्ता स्थानहरूको उचित व्यवस्थापन गरी पैदल यात्री सडकका रूपमा विकास गर्न सकिएमा नेपाल पर्यटकका लागि थप गन्तब्य स्थल बन्न सक्छ र ती क्षेत्रमा लाखौं पर्यटक भ्रमण गराएर थप आर्थिक लाभ लिन सकिन्छ । यद्यपि यसप्रति सरकार संवेदनशील भएको देखिँदैन । अतिविकसित देशको उदाहरण अनुकरण गदै हाम्रो देशको सरकारले पनि धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्व बोकेका यस्ता क्षेत्रहरुमा पैदल यात्री सडकको विकासमा सक्रियता देखाउने हो भने विश्वभरबाट लाखौं पर्यटकको आगमनलाई अझ बढाउन सकिन्छ । यसका लागि तीनै तहका सरकार जिम्मेदार बन्नुपर्छ, द्वन्द्व होइन सहकार्य समन्वय गरेर अगाडि बढ्नुपर्छ । यो कार्यको सुरुवात स्थानीय सरकारबाट नभई केन्द्र सरकारबाटै हुनुपर्छ र त्यसलाई स्थानीय सरकारले संंरक्षण गर्नुपर्छ । तब मात्र हामीलाई पूर्ण लोकतन्त्रको अनुभूति हुनेछ ।
उपत्यका भित्र रहेका केही सडकलाई पैदल यात्रु सडकमा परिणत गरी सबैभन्दा बढी फाइदा लिन सकिन्छ । यस्ता सडक बनेपछि खुद्रा व्यापारी तथा साना व्यवसायीले पनि स्थान पाउनेछन् । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसाय हटाउने निणर्य गरेपछि व्यापार गर्नबाट वञ्चित भएका साना व्यवसायीले पनि यसबाट मनग्य फाइदा लिन सक्नेछन् ।
-चिन्तामणि रिजाल
विराटनगर
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij