२०८२ भाद्र १ गते आइतवार
इलाम। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँघरमै व्यवसाय गरेर बस्ने बनाउन सूर्योदय नगरपालिकाले विभिन्न क्षेत्रमा युवा लक्षित कार्यक्रम सुरु गरेको छ । वैदेशिक रोजगारीबाट घर आएर अलमलमा परेका युवालाई व्यवसायतर्फ लगाएर आयआर्जनमा सघाउ पुर्याउन नगरपालिकाले तरकारी खेती, कुखुरापालन र बाख्रापालनमा सहयोग गर्न थालेको हो ।
नगरपालिकाले वडा नं। ४ र १४ का ४१ जना युवालाई तरकारी खेती, कुखुरापालन र बाख्रापालनसम्बन्धी तालिमसमेत दिएर चक्रीय बिउपुँजीमार्फत व्यवसाय सञ्चालनमा सहयोग गरेको बताइएको छ ।
नगरपालिकाले जारी गरेको स्वरोजगार कार्यविधि, २०८१ अनुसार वडा नं. ४ का चार जना युवाले कुखुरापालनमा सहयोग पाएका छन् । सहयोगपछि कुखुरापालन व्यवसाय सुरु गरेको वडा नं. ४ का सपना सुवेदीले बताउनुभयो । सुवेदीले स्थानीय जातका एक सयभन्दा बढी चल्ला लिएर व्यवसाय सुरु गर्नुभएको हो । मुखियासँगै सोही स्थानका विराज तामाङ र देउकुमार सुवेदीले पनि कुखुरापालन सुरु गर्नुभएको छ । यस्तै वडा नं. १४ का मेनुका आचार्य, रविनकुमार लिङ्दम, रामेश्वर पौडेल, लोकबहादुर समाल, घनेन्द्रबहादुर पौड्याल, लोकबहादुर पौड्यालले बाख्रापालन र टनेलमा तरकारी खेती सुरु गर्नुभएको छ ।
स्विस सरकार र नेपाल सरकारको द्विपक्षीय सम्झौता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय सरकारको समन्वय तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित परियोजनामा प्रायः विदेशबाट फर्किएकालाई सहभागी गराइएको वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रमका संयोजक ईश्वरी तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार यो परियोजनाबाट व्यवसायका लागि चार जनालाई प्रतिव्यक्तिलाई एक लाख रुपियाँका दरले सहयोग गरिएको छ । केहीलाई ३० हजार, केहीलाई २० हजार र केहीलाई १५ हजारका दरले पनि सहयोग उपलब्ध गराइएको छ । एक लाख रुपियाँ र ४० हजार सहयोग प्राप्त गर्नेले तीन वर्षपछि साँवाचाहिँ चव्रmीय बिउँपुजीमा फिर्ता गर्नुपर्ने सर्त रहेको कार्यक्रम संयोजक तामाङ बताउनुहुन्छ । बिउपुँजीमा उक्त रकम फिर्ता भएपछि अन्य युवालाई पनि त्यही कार्यक्रममा सहभागी गराउने लक्ष्य रहेको जनाइएको छ ।
यो कार्यव्रmमले विदेश गएर फर्किएका सूर्योदय नगरपालिकाभित्रका आप्रवासी कामदारका निम्ति पुनः एकीकरणको जग तयार पार्दै लैजाने विश्वास रहेको नगरपालिका प्रमुख रणबहादुर राईले बताउनुभयो । कार्यक्रम प्रभावकारी कार्यान्वयन गरेर गाउँघरमै रोजगारीको अवसर दिलाउन आफूहरू प्रतिबद्ध रहेको नगरप्रमुख राईको भनाइ छ । यो समाचार आजको गोरखापत्रमा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij