२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएको छ राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय अर्थतन्त्रको आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.५४ प्रतिशत र उपभोक्ता मुल्यमा ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ ।
साथै, अघिल्लो वर्षको आर्थिक वृद्धिदर आधारभूत मूल्यमा २.३१ प्रतिशत र उपभोक्ता मूल्यमा १.९५ प्रतिशत हुने संशोधित अनुमान रहेको छ । गत आवमा आधारभूत मूल्यमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको आर्थिक वृद्धिदर क्रमशः २.७२ प्रतिशत, १.४ प्रतिशत र २.३६ प्रतिशत रहने संशोधित अनुमान रहेको छ ।
गत आवमा कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदानको हिस्सा क्रमशः २४.४ प्रतिशत, १३.१ प्रतिशत र ६२.५ प्रतिशत हुने संशोधित अनुमान रहेकोमा यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको २४.६ प्रतिशत, द्वितीय क्षेत्रको १२.५ प्रतिशत र तृतीय क्षेत्रको ६२.९ प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान गरिएको छ ।
त्यसैगरी, गत आर्थिक वर्ष २०७९÷८० मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा र आधारभूत मूल्यमा क्रमशः १.९५ प्रतिशत र २.३१ प्रतिशतले वृद्धि हुने संशोधित अनुमान रहेको छ ।
यस वर्ष नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिम प्रदेशको हिस्सा ७.१३ प्रतिशत हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान रहेको छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा ७.० प्रतिशत रहेको थियो ।
त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आवमा ३.४१ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आवमा १.५२ प्रतिशत रहने संसोधित अनुमान गरिएकोछ ।
कृषितर्फ यस अवधिमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम्फलफूल तथा मसला) ले ढाकेको भू– क्षेत्र ४.६८ प्रतिशतले ह्रास आएको छ भने यस्ता बालीको उत्पादन ०.९२ प्रतिशतले बढेको छ ।
त्यस्तै प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी फापर र तेलहनको उत्पादन क्रमश २८.४१ प्रतिशत र २१.१६४ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, तरकारी उत्पादनमा ६.९० प्रतिशतले वृद्धि भएको छ भने फलफूल तथा मसला उत्पादन ३.१३ प्रतिशतले बढेको छ । पशुजन्य उत्पादन अन्तर्गत दूध ८.५२ प्रतिशत, मासु ७.२९ प्रतिशत र अण्डा ४.११ प्रतिशतले बढेको छ ।
प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १०.९५ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ । आव २०७९/८० को असार मसान्तको तुलनामा समीक्षा अवधिमा कुल कृषि कर्जा ८.०७ प्रतिशतले वृद्धि भएको छ ।
उद्योग तर्फ प्रदेशका अध्ययन नमूनामा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४९.९८ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनमध्ये समीक्षा अवधिमा रोजिन, चामल, साबुन र ईटाको उत्पादन वृद्धि भएको छ भने गँहुको पीठो, चिनी र तोरीको तेलको उत्पादनमा ह्रास आएको छ ।
यस अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १७.९४ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ । औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा गत असार मसान्तको तुलनामा ६.१८ प्रतिशतले घट्न गई २५ अर्ब २२ करोड ९४ लाख पुगेको छ ।
यस अवधिमा पर्यटकस्तरीय होटल तथा लजको संख्या ४.३५ प्रतिशतले बढ्न गई ४८ पुगेकोछ भने होटल शैयाको संख्या १.०५ प्रतिशतले बढेर १ हजार ६ सय ३५ पुगेकोछ ।
त्यस्तै घरजग्गा रजिष्ट्रेशन संख्या १९.८६ प्रतिशतले बढेको छ भने रजिष्ट्रेशन राजस्व ३.३५ प्रतिशतले बढेको छ । प्रदेशका बैंक तथा वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्मको निक्षेप २०८० असार मसान्तको तुलनामा १.९१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ७.२८ प्रतिशतले ह्रास आएको छ ।
समीक्षा अवधिमा यातायात साधन संख्या २.७७ प्रतिशतले वृद्धि भई १ लाख ७२ हजार ६ सय २७ पुगेको छ । प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ७१.११ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाहित गरेका छन् ।
पूर्वाधार र रोजगारीतर्फ यस प्रदेशका विभिन्न जलविद्युत आयोजनाहरुबाट कुल १७१ मेगावाट विद्युत उत्पादन भएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या १० हजार ३ सय ८९ पुगेकोछ जुन राष्ट्रिय संख्याको तुलनामा ३.०५ प्रतिशत हुन आउँछ ।
आर्थिक वर्ष २०८०/८१ फागुन मसान्तसम्म प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सुदूरपश्चिममा औषत रोजगारी दिन ६५.७७ रहेको छ भने जम्मा रोजगारी दिन ४७ हजार ४२२ पुगेको छ ।
प्रादेशिक कार्यक्रम र योजना १५. सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ बिनियोजन भएको बजेट मध्ये समीक्षा अवधिमा १५.७६ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ बिनियोजन भएको बजेट मध्ये ११.९९ प्रतिशत खर्च भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij