
२०८२ भाद्र ४ गते बुधवार
'कार्यकर्ता राजनीतिक रूपले सङ्गठित हुनुपर्दछ, चेतनशील हुनुपर्दछ, क्रान्ति अवश्यम्भावी छ' भन्ने पुष्पलालको कथनलाई शिरोधार्य गर्दै नेकपा(मार्क्सवादी)को आयोजनामा कमरेड पुष्पलालको शतवार्षिकी कार्यक्रम राजधानीको बागबजारमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुष्पलाल प्रतिष्ठानका संस्थापक महासचिव राजेन्द्र सापकोटाले पुष्पलालको परिवार राणाशाहीबाट देशलाई मुक्त गर्न काठमाडौँ आएको थियो । प्रजापरिषद्को गठन स्वयम् राजा त्रिभुवनको समर्थनमा गठन भएको बताए । आफैँले २०४६ सालको झन्डा बोकाएको उनले दाबी गरे । नेपाललाई न त भारत न चीनले नेपालमाथि कहिल्यै राजनीतिक हस्तक्षेप छैन, कृषिलै नै हामीलाई समृद्धिको ढोका खोल्छ भन्ने उनको जिकिर थियो । 'कम्युनिस्टको नाममा साम्राज्यवादको पिछलग्गु हुनु लाजमर्दो हो । आफ्नै छोराछोरी बेचेर आफ्नो सत्ता बचाउनेलाई धक्का नदिईकन कम्युनिस्टआन्दोलन अघि बढ्न सक्दैन । पुष्पलाल परिवर्तनको खुला विश्वविद्यालय हो । उहाँको आर्थिक विचारलाई आत्मसात गर्नु नै आजको हाम्रो कर्तव्य हो' उनले भने ।
ने.क.पा. मालेका केन्द्रीय सदस्य घनश्याम मिश्रले पुष्पलाललाई सम्झने तरिका भनेको नेपाली समाजको सकारात्मक रूपान्तरण नै हो । यदि मार्क्सवादलाई श्रमसँग जोडियो भने पूर्वीय संस्कृतिसँग जोडियो भने मात्र पुष्पलालको शतवार्षिकीको सार्थकता रहने उनले बताए ।
क. सविता अधिकारीले चेतनामूलक गीत प्रस्तुत गरिन् भने प्रमुख अतिथि टङ्कप्रसाद पोखरेलले क. पुष्पलालले कम्युनिस्टले एक्लै आन्दोलन सफल पार्न नसक्ने देखेपछि काङ्ग्रेससँग पनि सहकार्यको प्रस्ताव गरे जो उतिखेर विवादको घेरामा पर्यो । साहित्य, संस्कृति र दर्शनबारे अध्ययन गर्न मोदनाथ प्रश्रित, युद्धप्रसाद मिश्रलगायतलाई उनले आग्रह गरे जसले अपेक्षाकृत परिणाम दिन सकेन । पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलनलाई सही मार्क्सवादी दिशातिर उन्मुख गराएकै हुन् जसको हकभोग उनको आदर्श परित्याग गरेकाले अहिले गरिराखेकोमा पोखरेलले असन्तुष्टि प्रकट गरे । राष्ट्रियता, औद्योगिकीकरण र जनजीविकाको बारेमा नेपाली कम्युनिस्ट आन्दोलन अपेक्षाकृत अघि बढ्न सकेको छैन । 'दृष्टिकोण निर्माण, दृष्टिकोणलाई जनसमक्ष लैजान सङ्गठन निर्माण र जनजागरण अभियान अत्यन्त जरूरत भएको उनको बुझाइ थियो' पोखरेलले थपे ।
ने.क.पा. मार्क्सवादीका अध्यक्ष अम्बिकाप्रसाद थैबले पार्टीले लिएको लाइनले बहुसङ्ख्यक जनतालाई कति फाइदा पुग्छ भन्ने आधारमा पार्टी फैलने वा खुम्चिने हुन्छ भन्ने दाबी गर्दै पुष्पलाललाई गद्दार भन्ने मान्छेहरू पनि पछि उनका भक्त झैँ भए । राष्ट्रियता, प्रजातन्त्र र जनजीविका गरी तीनवटा मुद्दालाई ने.क.पा.ले उठाएको मात्र होइन, त्यसलाई जनताको दैनन्दिनीसँग जोड्नुपर्छ भन्ने पुष्पलालको कथन थियो । 'देशीय सामन्तवाद र भारतीय साम्राज्यवाद नै सबभन्दा मूल दुस्मन हुन् भन्ने उनको बुझाइ अहिलेसम्म उत्तिकै सान्दर्भिक छ ।' उनको कथन थियो । दर्शन भन्ने जीवन र जगतलाई हेर्ने दृष्टिकोण भएको हुनाले यो कहिल्यै पुरानो नहुने उनले प्रस्ट पारे । 'एकपटक हाम्रो कपडा धोइएको थियो, निकै सोधीखोजी गर्यौँ तर पत्ता लगाउन सकिएन । अन्तमा पुष्पलालले कपडा कसले धोयो भन्दा पनि सफा भयो/भएन भन्ने सवाल मूल हो भनेपछि उहाँले नै धुनुभएको निर्क्यौल निकाली हामीले कपडा धुन अल्छी गरेनौँ ।' उनले एउटा परिघटनाको स्मरण गरे । नेकपा मार्क्सवादी पुष्पलालको कार्यक्रमलाई हुबहु लागू गर्न तयार रहेको भन्दै यो असान्दर्भिक सावित नभएसम्म आफूहरूले अनुशरण गरि नै रहने वाचा गरे ।
ने.क.पा. (मार्क्सवादी) क. कुमार अर्यालले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रमको सहजीकरण महासचिव क. युवराज नास्तिकले गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij