२०८२ भाद्र १० गते मंगलवार
आईसिसी टी–२० विश्वकप क्रिकेटमा आयोजक वेस्ट इन्डिजलाई पराजित गर्दै दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार बिहान भएको खेलमा वेस्ट इन्डिजमाथि डिएलएस मेथडमा ३ विकेटको जित निकाल्दै दक्षिण अफ्रिका अन्तिम चारमा प्रवेश गरेको हो। वेस्ट इन्डिजको हारले जारी विश्वकपका दुवै आयोजक टोली सुपर ८ बाट बाहिरिएका छन्।
समूह ‘बी’ बाट दक्षिण अफ्रिका र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएका छन्। आयोजक वेस्ट इन्डिज र अमेरिका सुपर ८ बाटै बाहिरिए। सुपर ८ मा अमेरिका जित विहीन बन्यो।
वेस्ट इन्डिजले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २ ओभरमा २ विकेट गुमाएर १५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।
ओसिलो मैदानका कारण खेल १७ ओभरमा घट्दा दक्षिण अफ्रिकाले १ सय २४ रनको नयाँ लक्ष्य पायो। जुन लक्ष्य दक्षिण अफ्रिकाले ५ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो।
टिस्टन स्टुब्स २९, हेनरिच क्लासेन २२ र कप्तान एडेन मक्रम १८ रनमा आउट भए। मार्को जेनसेन २१ रनमा नटआउट रहे। वेस्ट इन्डिजका रोष्टन चेसले ३ विकेट लिए। आन्द्रे रसेल र जोसेपले समान २ विकेट लिए।
त्यसअघि दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ रनको योगफल तयार पारेको थियो।
वेस्ट इन्डिजका रोष्ट चेसले ४२ बलमा ३ चौका र २ छक्का सहयोगमा ५२ रन हाने। ओपनर कायल मेयर्सले ३५ रन बनाए। आन्द्रे रसेल १५ रनमा नटआउट रहे।
दक्षिण अफ्रिकाका लागि तबरेज सम्सिले सर्वाधिक ३ विकेट लिए भने कागिसो रबाडा, मार्को जेनसन, एडन मार्करम र केशव महाराजले १/१ विकेट लिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij