Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बजेट

स्थानीय तहले आज बजेट ल्याउदै, कसको कस्तो छ तयारी ?

स्थानीय तहले आज बजेट ल्याउदै, कसको कस्तो छ तयारी ?


  • 2.2K
    Shares

    स्थानीय तहले आज बजेट ल्याउदै, कसको कस्तो छ तयारी ?
    images

    काठमाडौँ । आगामी आर्थिक बर्ष २०८१/८२ को लागि सबै स्थानीय तहले आज बजेट सार्वजनिक गर्ने भएको छ । 

    गत जेठ १५ गते सङ्घीय सरकार (केन्द्र) ले र असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएसँगै स्थानीय तहहरू समेत आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेका हुन् । 

    संविधानतः स्थानीय तहले आर्थिक वर्षको बजेट असार १० गतेभित्र अनिवार्य ल्याउनुपर्छ । ७ सय ५३ पालिका मध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ। सोही व्यवस्था अनुसार आइतबार सम्म बजेट नल्याएका सबै स्थानीय निकायले आज आफ्नो एक वर्षे आय व्ययको विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । 

    उक्त प्रावधान अनुसार नगर तथा पालिका सभामा स्थानीय सरकार प्रमुखको नीति तथा कार्यक्रममाथि टेकेर उपप्रमुखले आर्थिक वर्षको बजेट ल्याउने प्रावधान छ ।

    देशभार हाल कुल ७५३ स्थानीय तहमध्ये ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० वटा गाउँपालिका छन् । 

    जसमध्ये असार ९ गतेभित्र एक महानगरपालिकासहित ३८ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका दुई, मधेस प्रदेश ६, बागमतीका ६, गण्डकी प्रदेशमा १४ लुम्बिनीका ३, सुदूरपश्चिम प्रदेशका तीन तथा कर्णालीका प्रदेशको १ स्थानीय तहले बजेट पेस गरेका छन्। 

    आज बाँकी सात सय १५ स्थानीय तहले बजेट पेस गर्नुपर्ने हुन्छ । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

    वीरगञ्ज महानगरपालिकाको बजेट दुई अर्ब ८९ करोड

    वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु दुई अर्ब ८९ करोड ४८ लाख १७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । 

    महानगर उपप्रमुख इम्तियाज आलमले आज नगरसभाको १५औँ अधिवेशसनमा चालु आवको भन्दा रु ६२ करोड कम आकारको बजेट सार्वजनिक गरेकी हुन् । 

    आगामी आवको बजेटमा चालु खर्चतर्फ रु दुई अर्ब चार करोड ६६ लाख नौ हजार अर्थात् ७० दशमलव सात प्रतिशत, पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख आठ हजार अर्थात् २८ दशमलव एक प्रतिशत बजेट विनियोजन गरिएको छ । साथै वित्तीय व्यवस्थातर्फ रु तीन करोड ६४ लाख अर्थात् एक दशमलव दुई प्रतिशत विनियोजन गरिएको छ ।

    उपप्रमुख आलमले आगामी आवमा आन्तरिक राजस्वबाट रु ७९ करोड ७५ लाख २७ हजार खर्च ब्यहोर्ने बताइन । 

    सङ्घीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब २७ करोड ९० लाख नौ हजार, सङ्घीय राजस्व बाँडफाँटबाट रु २६ करोड ८० लाख र प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु पाँच करोड ३५ लाख आठ हजार रकमको स्रोतका रूपमा प्राप्त हुनेछ । 

    त्यसैगरी, प्रदेश राजस्व बाँडफाँटबाट रु दुई करोड २८ लाख, अन्य स्रोतबाट रु दुई करोड ४० लाख र नगद मौज्दातबाट रु १० करोड ब्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।

    अन्य कुन महानगरको कस्तो छ तयारी ?

    काठमाडौँ महानगरपालिकासहित ५ वटा महानगरले सोमबार बजेट ल्याउने तयारी गर्दै छन् । 

    सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकासहित ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका र कोशी प्रदेश अन्तर्गत विराटनगर महानगरपालिकाले आज सोमबार आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन् ।

    काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि कुल २४ अर्ब ८ करोड ५७ लाख २२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये जेठ ३२ गतेसम्म ८ अर्ब ८० करोड ४३ लाख २७ हजार रुपैयाँ अर्थात् विनियोजित बजेटको ३६।५५ प्रतिशतमात्र कार्यान्वयन भएको महानगरले जनाएको छ ।

    यस्तै, चालु आर्थिक वर्षका लागि ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख रुपैयाँ बजेट ल्याएको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ ४ अर्ब २१ लाख ४६ हजार रुपैयाँ विनियोजन भएको थियो । जसमध्ये जेठ मसान्तसम्म ६० प्रतिशत अर्थात् ३ अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन भएको महानगरपालिकाले जनाएको छ ।

    भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्ष ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । भने चालु आर्थिक वर्षका लागि पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

    प्रकाशित मिति :आषाढ १० २०८१ सोमवार - ०९:३१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij