Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

किमार्थ नगर्नू तिमीले प्रतिप्रश्न !

किमार्थ नगर्नू तिमीले प्रतिप्रश्न !


  • 3.5K
    Shares

    किमार्थ नगर्नू तिमीले प्रतिप्रश्न !

    संयोगले  फेरि एकपटक हेलम्बु यात्राको अवसर जु¥यो । बेलाबखत घुमफिरको तारतम्य मिलाइहाल्छन् राजेन्द्रमान डङ्गोल । उनी पर्यटन व्यवसायी र अनुभवी यात्रापे्रमी हुन् । पेसागत मर्म झल्कने खालका नियात्रा रचना गर्ने उनी सर्जकहरू लिएर हिँड्न रुचाउँछन् ।  

    साहित्य यात्राका लागि हेलम्बु गाउँ पालिका अध्यक्षसँग समन्वय गरेपछि सम्वत् २०८० को फागुन ६ र ७ गतेका निम्ति कार्यक्रम तय भएको जानकारी गराए उनले । 

    स्रष्टाहरू अल्छी छन् भन्ने एकखाले नम्र आरोपलाई गतिविधिद्वारा नै खण्डन गर्ने योजनामुताबिक विशद् मन्थन गरी छनोट गरिए सर्जकका नाम । आफूलाई बदलेर आम आरोप सही नभएको सन्देश छोड्नु नै थियो हामीलाई । त्यसो त इच्छाले केही नबदल्न सक्थ्यो तर सङ्कल्पले हरचिज । हो, आफू गएको भूगोल, जनजाति, परम्परा वा स्थानीय जीवनचर्याबारे कुनै न कुनै सिर्जनाका  लागि अनुरोध गर्न कर्णाली होममा स्वयम् आयोजक र संयोजकको भावानुसार नै होमवर्क भयो । जति भागदौड गरे पनि आखिर गन्तव्य त चिहानसम्म न हो, मियाँको दौड मस्जिदतक भनेझैँ । सहभागी हुन केलाई दिगमिग गर्नु भन्ने भो । 

    फागुन ६ गते सखारै कालधारा चोकमा जम्मा हुँदै थियौँ हामी सहभागीहरू । उदास चेहरा लिएर आइपुगे गोपाल थापा । उनी गाउँ पर्यटन प्रवद्र्घन मञ्च–नेपाल (भिटोफ–नेपाल)का तत्कालीन अध्यक्ष । यो यात्रामा समावेश हुन परिस्थिति प्रतिकूल  बनेको रहेछ । भारी मनका साथ बिदाइ गरेर फर्के उनी ।  

    हाम्रो सवारीका लागि आइपुगे दुई थान स्कर्पियो ।  

    १३ सहभागीमध्ये प्रा. डा. ऋृषिराम शर्मा, कवि स्नेह सायमि, प्राज्ञ लक्ष्मी माली, कवि तथा समालोचक डा. बिन्दु शर्मा, सञ्चारकर्मी जयराम बिडारी चढेको जीपको पछिल्लो सिटमा बसेँ म ।  

    सहरको बिहान चिर्दै हुइँकिए सवारी चाबहिल सोझिएर । बौद्ध, जोरपाटी, थली, डाँछी अनि ऐतिहासिक नगरी साँखु । कुनै बखत शङ्खदेव राजाले राज्य गरेका थिए, आजको शङ्खरापुरमा । नगरपालिकाले त्यही नाम कायम गरे पनि मूल बस्ती भने साँखु नामले नै सुपरिचित छ उपत्यकाभित्रको यो सुन्दर भूगोल ।  

    शङ्खाकारको उपत्यका साँखु अर्थात् नेपाल भाषामा सँक्व । सँ (तिब्बत), र क्व (मुनि) । यसैको अपभ्रंश हुँदै बनेको हो, आजकलको साँखु । किंवदन्ती अनुसार शालीनदी पानी रोकिएको नदी भएकाले स्थानीय नेवाः समुदायले ‘नादि खुसि’ भन्ने गरेको जनश्रुति अद्यापि कायमै छ । साँखुका वरिपरि छन् सानाठुला खोलाखोल्सीहरू– मणिशैल खोला, नालन्डी खोला, नारायण खोला, मनोहरा खोला, कमाः खोला र असः खोला । रसिलो भूगोल, प्राचीन तथा कलात्मक बस्ती । 

    फाँटिलो भूगोल पार गरेपछि आयो हरियो सप्को बेरेको पहाड । जीपले हरियाली जङ्गलको गहिराइमा पु¥याउँदा एक झुप्पो सेतो सुनाखरीमा ठोक्किए मेरा नजर । जङ्गलको विशुद्ध जादुयी दृश्यले फन्दामा परेँ । घामको पहिलो किरणको प्रतीक्षा गरेजस्तै लाग्थ्यो सुनाखरीले । फूल देख्दा विस्मय, शान्ति र प्रकृतिसँगको सम्बन्ध जागेको महसुस हुन्छ मलाई ।  

    सडक छेउमा ठड्याइएको पाटीमा लेखिएको छ– ‘पानी मुहान ।’ 

    पानी मुहान अर्थात् जलाधार क्षेत्र । शङ्करापुरबासीले मात्र होइन, उपत्यकाका छेउकुनामा बस्नेले समेत प्राण सम्बन्ध जोडेको छ यो पानी मुहानसँग । उहिले उहिले राजकुलो भएर यहाँको पानी साँखुको प्रत्येक घरमा पुग्थ्यो रे । हाम्रा पुर्खाहरूले गर्ने खेतीपाती राजकुलोमै निर्भर थियो । पानीको स्रोतकै सेरोफेरोमा रहेर मानव सभ्यताको विकास भएको कुरालाई हामी नकार्न सक्दैनौँ । राजकुलो पनि मानव सभ्यता विकासको एक अभिन्‍न अङ्ग थियो । नितान्त सामाजिक थियो उति बेला राजकुलोको अवधारणा । समयको अन्तरालसँगै हामीले राजकुलोको महत्व नबुझ्दा यसको अस्तित्व नै मेटिइसकेको छ । 

    रुखको टुप्पाबाट चियाएका सूर्यका किरण लुकामारी खेल्दै थिए जीपसँग । ‘फरेस्ट वाथिङ’ गर्दै जहरसिंह पौवा पुग्यो जीप ।  

    ००० 

    जहरसिंह पौवा काटेपछि ओरालियो कालोपत्रे सडक । नागबेली र गन्ठ्याङगुन्ठुङ सतहमा गुड्दा जीपले स्याब्रुनाच गरेझैँ भान हुन्थ्यो । अझ एक जीवन्त प्रदर्शनमा कोरियोग्राफ गरिएको स्टेपजस्तै लाग्थ्यो, सडकको प्रत्येक उबडखाबड । मानौँ– सवारीसाधन सडकको लयमा आफैँ नाचिरहेथ्यो । म भने आफ्नै ढुकढुकीको तालमा नाचिरहेको थिएँ । 

    जीपको चालसँगै चल्यौँ । जीपसँगै ढल्क्यौँ, जीपसँगै हुत्तियौँ । जीपभित्र बात मार्ने अनेकानेक विषयहरू उठ्थे र टुट्थे पनि । हरेक मोडसँगसँगै विषयान्तर हुन्थ्यो हाम्रो बहस ।  

    इन्जिनको उही कम्पन, उही सुस्तता । फट्केश्वरसम्मै सहज ग्लाइडिङ ग¥यो जीपले ।  

    त्यसपछि क्रमशः आए– बाहुनेपाटी, मेलम्ची, ढकाल खहरे, तालामारङ, ग्यालथुम, सेरा र चनौटे । सबैले अनुभूत गरेका छन् हपहपी गर्मी अपितु मुख खोल्ने जमर्को कोही गर्दैनन् । बरु साथमा भएका अनेक वस्तुले मुख मण्डलतिर हम्किन्छन्  र अव्यक्त सङ्केत गर्छन् उखुमको । 

    ‘उखुम जन्मेको छनक मिल्यो’, यताउता मुन्टो घुमाएपछि  प्रा. डा. ऋृषिराम शर्माले रसिक भाव पोखे ।   शिशिरलाई बुढ्यौली नलाग्दै वसन्त प्रवेश गरिसकेको हुन्छ होचा भूगोलमा । 

    आयोजित हुँदै गरेको कार्यक्रमका एक अभ्यागत उनी ।  

    ‘मलाई त उतिखेरदेखि नै अत्या’को’, मुख खोलिन् डा. बिन्दुले । 

    खै किन हो कुनि, जयराम अलिक सर्माएझैँ लाग्थे ।  

    ‘मुख होइन मैले चलाउने त क्यामरा हो’, यस्तै सोचे कि भन्ने आकलन थियो मेरो ।  

    उनले डाँडाको नाकमा रहेको स्तूप परिसरमा सहयात्रीका चेहरा एवम् भावभङ्गी कैद गरे । सदासर्वदा हंसमुख उनी इमानका पर्याय उनी सञ्चारकर्ममा साधनारत एक भर्भराउँदा पत्रकार हुन् । 

    उबडखाबड, उफ्रीपाफ्री सकिनासाथ टुप्लुक्किन्छ मेलम्ची बजार । राजधानी जाने बसको लाम छ । निकै चहलपहल छ मान्छेहरूको । यस्तो लाग्छ, तिनले भुलिसके दुई वर्षअघिको बाढीको वितण्डा । सर्वनाश पारेको थियो उल्लेख्य वर्षाविनाको त्यो बाढीले ।  

    यही बाटोबाट तरिएको थियो मेलम्ची । सोच थियो– पाल्चोकी भगवती, ककनी, सेर्माथाङ हुँदै तार्केघ्याङ पुग्ने । १,७५० मि. उचाइमा अवस्थित छ पाल्चोकी भगवती मन्दिर । ’मेलम्ची बजारबाट ९.२ किमिको दुरी त हो’, भने हठात् बाटोमा भेटिएका एक बटुवाले । विश्वास गर्नै परिगो । ‘एकादशी, औँसी, रामनवमी, महाशिवरात्रि, साउन महिनाभर, श्रीकृष्णजन्माष्टमी र बडादसैँको अष्टमीसम्म बलि चढाइन्न रे यहाँ ।’  

    एघारौँ शताब्दीतिरको कुरा हो, त्यहाँ शासन गर्ने राजा आफ्नी रानी बेस्सरी बिरामी परेपछि तेम्बा नामको झाँक्रीकहाँ हेराउन गएछन् । उनले पाल्चोकी माईको दोष लागेको भनेपछि त्यो स्थानमा आराधना गर्न थाले । तत्पश्चात् आफ्नी रानीको रोग निमन भएपछि मखलेल भई त्यहाँका रैतीको गोलझारा (कुत) नै मिनाहा गरेका थिए भन्ने किंवदन्ती छ । तसर्थ पाँचौँ शताब्दी पूर्व नै तत्कालीन राजाहरूले कोत र मौलामा पूजा गर्दै आएका थिए भन्ने जनविश्वास छ । मनोहारी हिमालको काखमा लुखुरलुखुर हिँड्दै गरेको दृश्यावलोकन आज पनि तरोताजा छ मथिङ्गलमा । बल्लतल्ल भूकम्पले लछारेका खतहरू बिस्तारै पुरिँदै थिए त्यतिखेर । किन्तु डमरूले पाठालाई झम्टेझैँ झम्टिइहाल्यो कोभिडले । डङ्गोलको बाइकको यात्री थिएँ म । अर्को बाइक हाँकिरहेका थिए चराहरूका अध्येता जयनाथ भण्डारीले । सीधा प्रकृतिका उनी तर साह्रै बिन्दास मान्छे । न शोक न सुर्ता भनेझैँ लाग्थ्यो उनलाई देख्दा । 

    तार्केघ्याङ जान हिँडेका हामी भटभटेको खुराक निथ्रिसक्दा पनि कतै नभेटेपछि बाध्य भएर मोडिएका थियौँ, एकीकृत बस्तीतर्फ । र, पनि गन्तव्य भेट्न नसकिएकै कारणले कसैका निधारमा ग्लानीका धर्सा थिएनन् । मानसपटलमा उतिखेरका तस्बिरका रिल घुम्दै आए जीवन्त बनेर । अतीतका यादले दिमागै खज्मजियो केही क्षण । 

    ००० 

    जारी थियो स्कर्पियो हुइँकिने उपक्रम । 

    उता फ्ल्यासब्याकमा जाँदैगर्दा यता इचोक आइ सकेछ । 

    डाँडाको काखमा फैलँदै गरेको बस्ती छ । त्यही बस्तीको छेउमा छ– एउटा सेतो स्तूप । त्यही देखेर ओल्यौँ हामी । अररिएका गोडा तन्काउने बहाना पनि थियो त्यो । लघुशङ्का र दीर्घशङ्का गर्ने मौका पनि थियो त्यो ।  

    अर्को स्कोर्पियोमा चढेका यात्रा संयोजक राजेन्द्रमान डङ्गोल, आरएम डङ्गोल, लक्ष्मी रुम्बा, प्रभा बराल, केशव पुडासैनी, विमल’ कुमारी लामा र राजकुमार बानियाँ पनि भेटिए इचोकमै ।  

    ‘उचाइ राजधानीभन्दा खासै बढी नभएपनि गर्मी भने यता पो बढी’, लक्ष्मी रुम्बा बोलिन् ।   

    उनी रेडियोकर्मी, पत्रकार तथा समकालीन समयकी शक्तिशाली कवि पनि । मन्थनको विषय विविधीकरण हुन्छ । भोगिरहेको मौसम, नाङ्गिँदै गएको भूगोल, दूरदृष्टिविनाको राजनीतिक नेतृत्व र विध्वंसकारी डोजरे विकास गफिने विषयवस्तु बन्छन् ।  

    पत्रकार तथा खरो स्तम्भकारको परिचय बनाएका राजकुमार बानियाँदेखि महिलावादी लेखनमा उल्लेख्य उदार देखिने सुपरिचित स्तम्भकार कुमारी लामासम्मले आआफ्ना धारणा अभिव्यक्त गरे । विषयवस्तुको गाम्भीर्यलाई पर्गेले, त्रिविका उपप्राध्यापक, कवि एवम् समालोचक आरएम डङ्गोलले ।   

    उकालोसित पेरि पौँठेजारी खोल्यो जीपले । 

    खुरिखन्ड डाँडापाखामा पातलो बस्ती बसेको छ । सिकुटे घरपालुवा जनावर बाँधिएका छन्, पाखाका साँगुरा गरातिर । खासै देखिएको छैन मान्छेको सक्रिय चहलपहल । अम्लान फूल हुनुपर्ने अग्र्यानिक बस्तीको रङ फुङ्ङ उडेको आभास हुन्छ । विकास भन्नु नै डोजरको राइदाइ हुनु हो भन्ने खतरनाक भाष्य निर्माण भएको छ पछिल्लो दुई दशक । त्यसैमा न सजिलो हुँदोरहेछ अदृश्य खेलोफड्को, भयानक मोलमोलाइ र अजिबको विकास देखाउने अस्वस्थ राजनीतिक प्रतिस्पर्धा । सतहमा उकालो यात्रा अपितु लाग्ने भने ओरालैओरालो । सायद सफल हुन काम नभई कार्यशैली पो बदलिएको हो कि ! जारी नै छ सवारीको खर्ल्याङखर्ल्याङ । उचालिने र पछारिने उपक्रम पनि जारी नै छ, वाहनको गतिमा लय मिलाउँदै । 

                              ००० 

    उकालोलाई जितिरहेछ जीपले । 

    हामी ह्योल्मो अर्थात् हिमतालहरू भएको पर्वतीय भूगोलमा जाँदैछौँ, आल्हादित मन बोकेर । यात्रा जति पीडादायी छ कुतूहल त्यति नै ज्यादा । भित्र भित्र उकुसमुकुसमा पनि गम खाइरहेछु । आशा छ, अनेक कुरा सुन्दर देखिएलान्, चुलीको चुच्चोमा पुगेपछि । देखिएला– शिरमाथि छर्लङ्गिएको नीर गगन । दन्तलहर मिलेझैँ हाँसिरहेका हिमचुलीहरू र, निक्खर हरिया रनवन । तलतिर देखिएला– रहलपहल बस्तीको चहलपहल र, धुवाँ पुत्ताइरहेका रुम्टाराम्टी । त्यस्तै खालीखुट्टा वस्तु चराइरहेका गोठाला तथा बाढीले लतारेका उर्वर फाँटहरू र, सकारण पहिरिएका उदासीन चेहरा । आफूलाई तन्द्रामा हराइरहेको भान हुन्छ । 

    उबडखाबडमा उफार्ने धुलौटे यात्राको सिलसिला । तर ढुक्क थियौँ हामी किनकि थाहा छ– एउटा माझी शान्त तलाउमा कुशल हुन सक्दैन । सोधखोजपछि थाहा लाग्यो– निकट रहेछ हाम्रो गन्तव्य । त्यसै त्यसै मखलेल छन्–सहयात्रीहरू एउटा होनहार नेतृत्व पाएको मनोहर भूखण्डमा पाइला राख्ने मनसुबामा । अब उत्खनन गर्नु छ– माटोको सुगन्ध, पन्छीको कलरव, ग्रेट ट्रेलको महिमा, प्रस्तरको महत्ता, पानीको कलकल र असली जीवनशैली । 

    यसै मेलोमा हामीलाई काव्यको पसल थापेर शब्दको व्यापार गर्नु छ । अर्थात् एक पन्थ दो काज ! यादहरूको सङ्ग्रहालयमा इतिहासका अमिट छापहरूको अभिलेख राख्नु ‘नि छ । खोलासँग बिच्किएर पहाडको छरपस्ट बस्तीतिर उक्लँदै गरेको पातलो गोरेटोसँग प्रीत गाँस्नु ‘नि छ । बाढीले बढारेका बेगिन्ती सपनाहरूको फाँटवारी दर्ज गर्नु ‘नि छ । अझ के के छ छ ...! कल्पनाको सागरमा बुड्दाबुड्दै घचक्क ब्रेक लगायो वाहनले ।  

    आइ पो पुगेछ चारो हाल्ने नालङखर्कको भोजनगृह । ना+लङ+खर्क अर्थात् खोला नजिकैको गाईवस्तुको अस्थायी गोठ राख्ने घुर्मैलो रैकर जमिन । कता रोकिने भन्ने मेलोमेसो नभएपछि पुनः मोडियो गाडी घोप्टेघ्याङतर्फ । यहीँ भेटिए पालिका प्रमुख नीमा ग्याल्जेन शेर्पा । अन्य एक कर्मचारी र शिक्षकका साथ थिए उनी । फेरि फर्कनुपर्ने भो नालङखर्क नै । अनजानमै एक फन्को लगाइयो धुलौटे बाटोमा ।  

    ससानो बस्ती हो यो । चौधवटा घरबास सञ्चालित छन् । तिनैमध्ये बाटोमै सटेको एउटामा छि¥यौँ हामी । ह्योल्मो परम्परा अनुसार दराजमा राखिएका छन् भाँडाकुँडा, टलक्क टल्कने गरी । तयार छन् अनेकानेक स्थानीय व्यञ्जन । सिस्नुको दाल त मूल तरकारी भैगो । पहिल्यै सञ्जालमा परिचित नीमा दोस्रो कार्यकाल व्यतीत गरिरहेछन्, हेलम्बु गा. पा. को मूल नेतृत्वको हैसियतमा । कथनी र करनीबिचको तादात्म्य नै उनको वैशिष्ट्य । औपचारिक शिक्षाको अनुल्लेख्य उपाधि किन्तु कार्ययोजनाको उल्लेख्य कार्यान्वयन । हेलम्बुमा शिक्षा र स्वास्थ्य निःशुल्क गराउने कर्मठ जनप्रतिनिधि । संस्कृत र शम्भोटाको सानदार सुरुआतकर्ता । ऊर्जाशील एवम् दूरद्रष्टा । षडाक्षरी धर्मचक्र पर्खालका परिकल्पनाकार । आम प्रमुखहरूसँगभन्दा किञ्चित भिन्न चेतना र कर्मठता ।  

    चारो चेप्नासाथ हाम्रो टोलीलाई लगियो हेलम्बु बोधिसत्व मोडल विद्यालयतर्फ जहाँ सांस्कृतिक कार्यक्रम लगायत सिर्जना वाचनको कार्यक्रम राखिएको थियो । राजधानीबाट आएका स्रष्टालगायत स्थानीय स्रष्टाले रचना वाचन, मन्तव्य प्रस्तुति र गायनमा सहभागिता जनाए । खुब जम्यो जगत् ठगुल्लाको देउडा गायन र छात्रछात्राहरूको सुन्दर नृत्य । नीमाले आफ्ना सुकर्मको पन्तरो खोले । गरिराखेका जनपक्षका कामको फेहरिस्त प्रस्तुत गरे । दीर्घकालीन योजनाको कन्तुर उघारे । लक्ष्यमा पुग्ने चक्रेटो बताए । हिमाल नै रिचार्ज गर्न सकिनेसम्मका विषयबारे बेलीविस्तार लगाए । संस्कृत र शम्भोटा शिक्षाको थालनी गर्न सकेको वृत्तान्त पस्के । दीर्घरोगीलाई घरमै औषधि पुर्याएकोमा गौरव लागेको इतिवृत्त उजागर गरे । कार्यक्रम तुरिनासाथ अनेक पोजमा फोटो लिएपछि मैझारो भयो विद्यालय प्राङ्गणको समारोह । 

                                   ००० 

    रचना सुन्ने÷सुनाउने कार्यक्रम सकिएलगतै सुरु हुन्छ षडाक्षरी धर्मचक्र पर्खाल(ग्रेट ट्रेल)तिरको घुमघाम । पाइला पाइलामा छन् स्वयम् नीमा र वयान गर्दैछन् पर्खालबारे । कुल अनुमानित लागत चार अर्ब रुपैयाँ । बुद्धपार्कदेखि घोप्टेघ्याङसम्म । वर्षको तीनपटक हिउँ पर्ने क्षेत्र छिचोल्ने । २४०० मिटरबाट सुरु भई ५००० मिटरभन्दा बेसी उचाइमा पुग्ने । ६० किमिको निर्माणाधीन पदमार्ग पर्खाल आकर्षक ढङ्गले कुँदिएका ढुङ्गा बिछ्याइएका छन् । अढाइ मिटर चाक्लो पर्खालको दायाँबायाँ अढाइ मिटरसम्म अग्लो बन्ने छ । पर्यटक बिसौनी छन् ठाउँ ठाउँमा । बौद्धबाट पुराना इँटा लगिएको छ । पर्खालमा बिछ्याइएका ढुङ्गामा स्थानीय संस्कृति झल्काउने शिलालेख राखिँदै छन् भने बौद्धमार्गीले मान्ने सम्पूर्ण बुद्धहरू राखिने छन् पर्खालको अन्त्यसम्ममा ताकि बौद्धमार्गीहरूका निम्ति यो अद्वितीय पारमाथ्र्य एवम् पावनस्थल बन्नेछ । वरिपरि मुस्कुराइरहेका सदावहार वनस्पतिले पदयात्रीको थकान मेट्ने छन् । 

    ००० 

    बादलले ढपक्क ढाकेको छ आकाश । एकाध जलबुँदहरू जमिनमा टप्कन थालेका छन् । कालानिला भएका छन् वरपरका डाँडाकाँडा । त्यसै बेला अघि बढ्छन् हाम्रा सवारी । पुगेपछि थाहा भो त्यो ठाउँ रहेछ– कुटुमसाङ । नुवाकोट र सिन्धुपाल्चोकको पानीढलो । हाब्रे(रेडपान्डा) पार्क बनाउने योजना रहेछ त्यस वरपरको क्षेत्रमा । अझ ककनी– कुटुमसाङ पदमार्गमा पर्ने गुराँस पार्क पनि त्यतै कतै बनाउने भन्ने रहेछ । ‘वास्तवमा यो ठाउँ ताखोर हो’, भन्छन् नीमा र अथ्र्याउँछन् उपस्थित अभ्यागतलाई–  ‘घोडाको खोर अर्थात् तबेला भनिएको होला यसलाई ऊ बेला ।’ कसरी यसलाई पछि कुटुमसाङ भन्न थालियो भन्ने कुरामा स्वयम् नीमा अनभिज्ञ छन् ।  

    गफिँदागफिँदै सन्ध्याको भोजन तयारी भइसक्छ । भोजन ग्रहण गरेर आआफ्ना गुँडमा लाग्छन् अतिथिहरू । सखारै उनले अगाडिपट्टि लम्पसारिएको पाकेडाँडालाई औल्याउँदै भने– ‘उः त्यो पाकेडाँडाभन्दा उतापट्टि पर्छ, आमा याङ्ग्री(लक्षिनले ओतप्रोत थलो) । एकपटक जानैपर्ने ठाउँ । सरले यसो समय मिलाउनुस्, सँगै जाउँला ।’ वरपरको भूगोलबारे हामीलाई परिचय दिइसकेपछि कार्यालयीय कामतिर लागे उनी । 

    यता स्थानीय शिक्षक यमबहादुर जोतीलाई स्थानीय छेच्यु (दशमी) जात्रामा हामीलाई सखारै पुर्याउने अभिभारा पर्छ ।     

    ००० 

    स्थानीयको विशाल जमात भेला भएको छ । कोही भीडलाई खुवाउँदै छन् त कोही पूजाको भव्य तयारीमा व्यस्त । मकैको ढिँडो र सिस्नोको साग हाम्रा निम्ति अमृतसरह भोजन बन्छ ।  सय धुरीमध्ये हरेक वर्ष फरक स्थानमा आयोजना हुन्छ छेच्यु । छेच्यु सोनाम ल्होसारको दशौँ दिनमा मनाइन्छ । ह्योल्मो भाषामा छेच्युको शाब्दिक अर्थ दशमी हो । पौराणिक बौद्धग्रन्थ अनुसार महान् गुरु रिन्पोछेको जन्म तिथि हो यो दिन । उनकै तान्त्रिक नृत्यको माध्यमबाट लङ्धरमी राक्षसमाथि विजय प्राप्त गरेको विशेष उपलक्ष्यमा छेच्यु पर्वको प्रारम्भ भयो । नकारात्मक शक्तिलाई निर्मूल गरी सकारात्मक ऊर्जा भर्ने विश्वास गरिएको साङ (देवीदेवताको प्राकृतिक पूजा) गरेर शुभारम्भ हुने छेच्युमा गुरु रिन्पोछेको प्रतीक स्वरूपका साथ अन्य देवीदेवताका विभिन्न मुद्राका मुकुन्डो लगाई बाछ्यामले नृत्य गर्दछन् ।  प्रारम्भमा बाछ्यामसँग लामो स्वरमा धीमा गतिमा गाउने थेन्ज्याम गाइन्छ । थेन्ज्याम सकिनासाथ गीतकै बोलीमा लामालाई आसन ग्रहण गराई सगुन अर्पण गरिन्छ । मौलिक पोसाकमा सजिएर हातमा हात समाउँदै एउटै ताल र लयमा  ‘गोमा फेमा फेस्यो ह्ये, साब्सी थाङ्ला ह्लेमो च्यी, एको पेको....’ गीतहरू गाइन्छ । नयाँ वर्षको हर्षबढाइमा गाइने यी गीतको मूल सन्देश चाहिँ रोगव्याधी  निर्मूल होस्, शान्ति छाओस् भन्ने हो ।  

    ‘यस पटकको पालो धुङदिङमा । धङ + दिङ अर्थात् स्थानीय भाषामा राम्रो चिसो । र, आउँदो साल रिभर्मामा’, प्रस्ट्याउँछन् स्थानीय आयोजक नीमा दोर्जे लामा । पहिल्यै  तयार भइसकेको छ तोर्मा । ङाल्तिङ (ढ्याङ्ग्रो बजाउने लट्ठी) ले बजाइन्छ ङा (ढ्याङ्ग्रो) । बेहिसाब आनन्ददायी छ वातावरण । गीत नबुझेर के भो र ! लय र नर्तन कला बुझिएकै छ । आस्था र विश्वासको मर्म पर्गेलिएकै छ । परम्परा र संस्कृतिको जगेर्ना गरिएकै छ ।  

    समयको चापलाई मध्यनजर राखी नृत्य तुरिन नपाउँदै सर्जकको टोली भने बेसीतिर बतासिन्छ । गन्तव्य– राजधानीलाई पानी खुवाउने मेलम्ची मुहानको अवलोकन । साथमा छन् उनै जोती । प्रवेशद्वारमा सुरक्षाकर्मीसँग खासखुस गरे उनले र मिलाए अवलोकनको अवसर । ‘जोकोहीलाई नछिराउनू’ भन्ने माथिको आदेश तामेल गर्ने सुरक्षाकर्मीले आदेशमुताबिक नै प्रवेशद्वार खोले होलान् भन्ने आकलन गर्छु म । मेलम्चीको बाढीले तहसनहस पारेको छ बाटो । बगरल्ल ढुङ्गा र गिटीसिवाय कतै केही देखिन्न, चाक्लो बगर वरपर । अलिक पर घरहरू उँधोमुन्टो लागेका दृश्य देखिन्छन् । उर्वर जमिन बगर बनेका भेटिन्छन् । अज्ञाततिर बिलाएको साँगुरो खोच । बिर्सिहाल्न मन लाग्ने एउटा बीभत्स त्रासदी । एक निमेषमा घटेको घटनाले आँखा उघार्दा प्रस्तरसरि बनेका मान्छे देखे रे स्थानीयले । अनि डुबेका घर र सँगै लछारेका धानका गल्था देखे रे । मझधारबाट आएका कारूणिक चीत्कार सुने रे । त्यस बेलासम्म न बग्नेवालाले टेकेको धर्ती सग्लो थियो न देखेका सपना नै जीवित थिए । मूल बाटोमा अपलक हेरिरहेका द्रष्टाका नजर मुर्झाएका थिए । न त जसोतसो बाँच्नेले हल्लाउन भ्याए बिदाइका हात, न त बग्नेले मिलाउन पाए जीवनको मिल्न बाँकी हिसाबकिताब । एक मुठी प्रेम र एक ओठ मुस्कान दिन नभ्याउँदै पत्थर बनेका थिए रे स्वजनहरू । अब त शब्दमा न लेख्न सकिएला तिनका नामका हरफहरू ! स्थानीयवासीको यस्तै तितो अनुभूतिले हाम्रो मुटु पनि नराम्ररी चुँडियो । 

    र, पनि हामीले यादहरूको सङ्ग्रहालयमा राख्नका निम्ति आफ्ना तस्बिर खिचाउन भ्यायौँ क्रूर मेलम्चीको ढाडमा खडा भएर । मेलम्ची नदीको हेलम्बु खण्डमा रहेको राजधानीको प्यास मेटिरहेको मुहानमा मनकान्छे फोटो लिइसकेपछि सम्झियौँ– के राजधानीका उपभोक्ताले प्यास मेटाउन खर्चिएको रकमको एउटा हिस्सा सम्बन्धित निकायले यो प्रकृतिको खानी संरक्षण गर्न र स्थानीयवासीको भरथेग गर्न खर्चनु पर्दैन ? कदाचित् स्थानीयले आफ्नो भूगोलको जल कसैलाई दानपाँजा नलगाउने सोचे भने ? साँच्चि नै कस्तो होला काकाकुल काठमाडौँ उपत्यकाको कहर ? यिनले गर्ने सम्भावित आन्दोलनको ज्वारभाटा थेग्न सक्ला राजधानीले ? फोहोर फाल्न बन्चरेडाँडाबासीसँग गिडगिडाइरहेको राजधानीलाई पानीको मुहान चपक्क सुकाएर हेलम्बुका स्थानीयबासीले बदला लिए भने के गत होला हाम्रो ? के यस्तै कारणले हारेको होइन नेपालले नालापानी युद्ध ? स्थानीय जनताहरू जनरल अक्टरलोनीझैँ बने भने ? यस्तै यस्तै एक हुल प्रश्नले हायलकायल पारे मेरो मथिङ्गललाई ।  

    भयभीत हुँदै गर्दा संयोजको कडा उर्दी जारी भो– ‘सकौँ है सबैले क्यामेरामा कैद हुने कर्म । अब पनि निस्किएनौँ भने बेलुकी अप्ठेरो पर्ला । फेरि ढिला भो, गाडी पाइएन भनेर शिकायत गर्न पाइन्न नि । अहिल्यै भन्द्याछु ।’  

    तब निमेषभरमै ज¥याकजुरुक तम्तयार भयौँ हामी । आखिर सच्चाइ यही नै थियो जतिसुकै कर्णकटु भएपनि । गुडेको क्षणभरमै टुप्लुक टुप्लुकियो तिम्बु, जहाँ उति बेला हामी चारजना यायावर आइपुगेका थियौँ । काठमाडौँ नपुग्दासम्म जीवन्त बनेर मस्तिष्कमा आइरहे ती यादका अगणित भुल्का– 

     

    धेरै यादहरू त 

    त्यतैकतै छोडिएका छन् 

    कुनै घ्याङको मायालु खोकिलामा 

    कुनै प्रकृतिको अनमोल काखमा 

    कुनै षडाक्षरी पर्खालका कुइनेटामा 

    कुनै छरपस्ट बस्तीका विविध महकमा 

    कुनै आमा याङ्ग्रीतिर उक्लिएका गोरेटामा 

    या,असीमित घनचक्करहरूमा । 

     

    मेलम्चीका क्षतविक्षत सपनाहरूलाई 

    परेली मुन्तिर साक्षी राखेर 

    फिरिसकेको छु म 

    उही उदासीन राजधानी 

    तसर्थ, 

    किमार्थ नगर्नू तिमीले प्रतिप्रश्न ! 

    प्रकाशित मिति :आषाढ ८ २०८१ शनिवार - ०७:४३:२९ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij