२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । आन्तरिक राजस्व विभागको राजस्व संकलनमा वृद्धि भएको छ। विभागको तथ्यांक अनुसार पछिल्लो केही महिनामा राजस्व संकलन बढेको हो।
चालु आर्थिक वर्षको जेठ महिनाको राजस्व संकलन ४१ अर्ब १९ करोड छ। गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो। यो ११.३० प्रतिशतको वृद्धि हो। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आन्तरिक राजस्व विभागले कूल ४ खर्ब ४८ अर्ब राजस्व संकलन गरेको छ।
यो गत वर्षको सोही अवधिको तुलनामा ९.६४ प्रतिशतले बढी हो। गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली ४ खर्ब ८ अर्ब थियो। गत वर्षभन्दा चालु आर्थिक वर्षको यो अवधिसम्म ४० अर्बले राजस्व संकलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए।
आयकर (भाडा र ब्याजसमेत) बाट २ खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर (आन्तरिक) बाट १ खर्ब १२ अर्ब र अन्तस्शुल्कबाट ९५ अर्ब संकलन भएको छ। महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट ८ अर्ब राजस्व उठेको छ। हालसम्म कूल लक्ष्यमा राजस्व असुली ७८।५ प्रतिशत रहेको विभागले जनाएको छ।
चालु आर्थिक वर्षको अन्तिम महिना असार अन्तिमसम्म लक्ष्य भेट्ने गरी राजस्व संकलनमा तीव्रता दिइने तिवारीले बताए।
अर्थमन्त्री वर्षमान पुन अनन्तले राजस्व संकलनमा तीव्रता दिन निर्देशन दिएअनुसार विभाग सक्रिय भएको तिवारीले बताए। गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा वृद्धि भए पनि सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको महत्वाकांक्षी लक्ष्य भने भेट्न सकेको छैन।
राजस्व संकलनमा करदाता कार्यालयमध्येको ठूला करदाता कार्यालयको योगदान करिब ४० प्रतिशत छ। यो कार्यालयले १ खर्ब ७५ अर्ब राजस्व उठाएको छ। ठूला करदाता कार्यालयको लक्ष्य २ खब ३८ अर्ब थियो। वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर उठाउँछ।
एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता संख्या ५ सय ४५ छन्। कोरोना महामारीसहित विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजस्व संकलनमा कमी आए पनि चालु आवको पछिल्लो अवधिमा अर्थतन्त्रमा आएको सुधारका कारण राजस्व संकलनमा वृद्धि भएको महानिर्देशक तिवारी बताउँछन्।
यस्तै अन्तस्शुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा सरकारले पुँजीगत खर्च बढाएका कारण पनि राजस्व संकलनमा सकारात्मक प्रभाव परेको उनले जनाए।
तत्कालीन अर्थमन्त्री डा। प्रकाशशरण महतले चालु आर्थिक वर्ष ०८०/०८१ मा समग्रमा ४३ प्रतिशतको महत्वाकांक्षी राजस्व वृद्धिको लक्ष्य निर्धारण गरेका थिए। कूल लक्ष्यमध्ये कर प्रशासनका प्रमुख दुई निकाय आन्तरिक राजस्व विभाग र भन्सार विभागलाई ५०/५० प्रतिशत राजस्वको लक्ष्य दिइएको हुन्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij