२०८२ भाद्र ८ गते आइतवार
सिन्धुपाल्चोक (हेलम्बु) । पर्यटकीय गाउँको रुपमा प्रख्यात हेलम्बुलाई समर्पित गर्दै विभिन्न वरिष्ठ साहित्यकारबाट कथा, कविता र नियात्रा लेखिएको ‘हेलम्बु दर्पण’ नामक पुस्तक विमोचन गरिएको छ ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाकाअनुसार शनिबार दुई हजार चार सयको उचाइमा रहेको हेलम्बु गापाको घोप्टेघ्याङमा पर्यटन व्यवसायी आङछिरीङ शेर्पाले उक्त कृति विमोचन गरेका हुन् ।
यहाँ ०८० फागुन ६ गते पर्यटनका लागि साहित्य हेलम्बु साहित्य यात्रा २०८० सुरु गर्दै झण्डै १७ जना अग्रज साहित्यकारले यस कृतिका लागि यात्रा गरेका थिए । हेलम्बु घोप्टेघ्याङबाट सुरु भएको यात्रा दुई दिनभर विभिन्न गाउँ पुग्दै कुटुम्साङमा पुगेर टुंगिएको थियो ।
त्यही क्रममा यँहाका ह्योल्मो समुदायको प्राचिन पंरम्परा, धर्म संस्कती, इतिहास र सुन्दर भूगोललाई वर्णन गर्दै यी साहित्यकारहरुले कथा कविता सृजना गरेको अध्यक्ष शेर्पाले बताए ।
‘साहित्यकारको सृजनाको सम्मान गर्दै हेलम्बु गाउँपालिकाको लगानीमा यो कृति प्रकाशनमा ल्याएका छौ, यसले पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्नेछ, यस कृतिका लागि वरिष्ठ साहित्यकार र स्रष्टाले मेहनत गर्नुभएको छ’, शेर्पाले भने ।
पुस्तकमा पुराना नियात्राकार तथा लेखक राजेन्द्रमान डंगोल, वरिष्ठ साहित्यकारहरु आरएम डंगोल, माधव घिमिरे अटल, राजकुमार बानिँयाले सम्पादनसहित हेलम्बुको स्याउ, षडाक्षरी धर्मचक्र पर्खाल (हिमालयन गुरु रिन्पोछे ट्रेल), आमायांग्री, अम्बाथान झरनाबारे रोचक कथा र नियात्रा लेखेका छन् ।
पुस्तकमा हेलम्बुको शिरमा रहेको सेमिसिदाङ, आमायांग्री, खरानेजस्ता दर्जनौ हिमश्रृंखलाको काखमा रहेको भव्य जंगल, पहाड, झरना मात्रै नभई बौद्ध धर्मको पुराना इतिहाशबारे उल्लेख छ । बौद्ध धर्मको प्रसिद्ध सम्प्राद्धय बज्रयानका महान बज्रगुरु रिन्पोछे पदमसंम्भवा, मिलारेपाको तपोभूमीबारे हेलम्बुको चर्चा पुस्तकमा देखिन्छ ।
पुस्तकमा अन्य स्रष्टाहरु प्राडा ऋषिराम शर्मा, कुमारी लामा, केशव पुडासैनी विमल, जयराम विडारी, प्रभा बराल, डा विन्दु शर्मा, माधव घिमिरे अटल, लक्ष्मी माली, लक्ष्मी रुम्बा, स्नेह सायमीले आफ्नो यात्राबारे कथा, कविता लेखेका छन् ।
साहित्यकारले निर्माणाधिन षडाक्षरी धर्मचक्र पर्खाल -हिमालयन गुरु रिन्पोछे ट्रेल_ को अवलोकन गर्दै आफ्नो रचना वाचन गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij