Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

'वाङ्मय सौरभ' विमोचन तथा सुप्रभात काव्य गोष्ठी सम्पन्न

'वाङ्मय सौरभ' विमोचन तथा सुप्रभात काव्य गोष्ठी सम्पन्न


  • 2.4K
    Shares

    'वाङ्मय सौरभ' विमोचन तथा सुप्रभात काव्य गोष्ठी सम्पन्न
    नागार्जुन वाङ्मय प्रतिष्ठानको नियमित रूपमा सञ्चालित मासिक सुप्रभात काव्य गोष्ठी तथा प्रतिष्ठानको मुखपत्र ’वाङ्मय सौरभ’ सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    दिल पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अभ्यागत नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई थिए भने समीक्षक डा.विनोद मन्जन ।  समालोचक डा.हरिप्रसाद सिलवाल स्रष्टा विशेषको भूमिकामा प्रस्तुत प्रगतिवादी कवि विनोदविक्रम के.सी. लगायत अन्य कविहरूको सिर्जनामाथि साङ्गोपाङ्ग टिप्पणी गरेका थिए ।  

    उक्त कार्यक्रममा विशेष भूमिकामा आमन्त्रित कवि विनोदविक्रम के.सी.ले   ‘प्यालेस्टाइनी खेलौनाहरूप्रति’, ‘शिलाजित’, 'भैँसी र आमा’, ‘मृतक प्रेमीको फिरादपत्र’, ‘गिटार बोकी हिँड्ने युवती’ र ‘आज सरविहीन छ कक्षा’ आगो ओकल्ने कविता प्रस्तुत गरेका थिए ।

    त्यसैगरी सुशीला शर्माले  शार्दूलविक्रीडित छन्दको कविता, रत्न विरही घिमिरेले शार्दूलविक्रीडित छन्दमै 'लौहवाणी' शीर्षकीय कविता वाचन गरेका थिए । नवीन पल्लवले ‘कविज्यू’ शीर्षकीय कविता  ‘हेराई’ शीर्षकीय कविता मार्फत कवि गंगाप्रसाद भेटवालले सकारात्मक सोचको विकास गर्नका लागि अनुरोध गरेका थिए । छटपटाहटमा रुमल्लिएको देशको परिवेशलाई अनुराधा थापाद्वारा ‘म देशको पाले’ शीर्षकीय कविता बाचन गरिएको थियो ।

    कवि रुबि सत्यालले ‘देश दुख्छ’ कविता वाचन गरेकी थिइन् भने ‘म स्पात हुँ’ शीर्षकीय वाचन गरेर कवि रेणुका भट्टराईले माहौल तताएकी थिइन् । शुभकामना मन्तव्यका सिलसिलामा वरिष्ठ साहित्यकार महेश प्रसाईंले 'कविता खेलाँचीको विषय नभई साधनाको दस्तावेज हो' भने । उनले ‘फरक’ शीर्षकीय रचना सुनाएका थिए । विश्व सिग्देलले ‘म बा बन्दै गइरहेको छु’ र पुनम बमले ‘अर्थ बुझें’शीर्षकीय कविता पस्किएका थिए । राधा दुलाल कार्की ‘सिर्जना’ शीर्षकीय कविता प्रस्तुत गर्दा शेखर अर्यालले ‘प्रिय लामखुट्टे’ सुनाए । भुवन शिवाकोटी 'चौघरे'ले  सुमधुर आवाजमा गीत गुन्गुनाए भने टीएन भट्ट ‘विश्वामित्र’ले  ‘दोबाटोमा’ शीर्षकको सिर्जना रन्काए । कविता नमुना शर्माले ‘पर्ख पर्ख’ बोलको गीत प्रस्तुत गाइन् । उता अमरदीप सुनुवारले ‘मलाई प्रश्न भन्दा उत्तर ठीक लाग्छ’ शीर्षकीय कविता पढे ।

    प्रतिष्ठानका सचिव माधव घिमिरे ‘अटलले’ अभ्यागतहरूलाई स्वागतका गुच्छा टक्र्याए । समारोहबिच नागार्जुन वाङ्मय प्रतिष्ठानको मुखपत्र ‘वाङ्मय सौरभ’ सार्वजनिक गरियो ।  मुखपत्रमाथि डा.विनोद मन्जनले खरो किन्तु ठट्यौलो शैलीमा साङ्गोपाङ्ग समालोचना  गरे ।

    दिवङ्गत दाहाल यज्ञनिधि पत्नी सुधा दाहालले दाहाल यज्ञनिधि नयाँ पुस्ताको उत्प्रेरणाको स्रोत भएको उल्लेख गर्दै नयाँ पुस्ता क्रियाशील रहेको देखेर हर्ष लागेको बताइन्  ।

    वाचित रचनाहरूको समीक्षा गर्ने सिलसिलामा डा.हरिप्रसाद सिलवालले स्रष्टा विशेषसहित सोह्र जना अन्य कविहरूका रचनाको यथार्थपरक टिप्पणी गरे । समसामयिक विषयवस्तु पस्किएका अधिकांश सिर्जना वर्ग चेतले ओतप्रोत रहेका भन्ने राय राखे  । 
    IMG-20240602-WA0005 (1).jpg

    कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कविता दर्शन नभई विचार भएको दाबी गर्दै कविको वृहत् सिर्जना र सुन्दर कल्पनालाई एउटा समीक्षकको विचारले बाँध्न नहुने बताए । एउटा कविलाई स्वतन्त्र रूपमा पाठकका बिच पस्किनु जरूरी रहेको जिकिर गर्दै नेपाली साहित्यको क्षेत्रमा दाहाल यज्ञनिधिको योगदान अविस्मरणीय रहेको उल्लेख गरे । प्रज्ञा प्रतिष्ठानलाई साझा थलोका रुपमा विकास गर्नका लागि ‘’सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा-प्रतिष्ठान’’ भन्ने मूल नारा तय गरी सोही अनुरूपको कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

    कार्यक्रममा प्रमुख अतिथि भूपाल राईले २०६६ मा स्नातकोत्तर तहमा नागार्जुन द्वैमासिक पत्रिकाको साहित्यिक योगदान शीर्षकमा सोधपत्र तयार गरेका तेजन दाहाललाई सम्मानित गरिएको थियो । साथै प्रतिष्ठानका आजीवन सदस्यहरू युवराज काफ्ले, दीनविनोद खड्का,माधव घिमिरे ‘अटल’, थानेश्वर थापा, रामदेव पाण्डेलाई आजीवन सदस्यता प्रमाण-पत्र प्रदान गरेका थिए । 
     
     

    प्रकाशित मिति :जेठ २३ २०८१ बुधवार - १४:२६:२९ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij